
६ भदौ, काठमाडौं । सिम्रिक एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणले उठाएका सुरक्षा कैफियतसम्बन्धित विषयसँग सम्बन्धित आवश्यक कागजात प्राधिकरणमा बुझाएको छ ।
प्राधिकरणले प्रश्न उठाएका विषयलाई सम्बोधन हुने आवश्यक कागजात बुझाएको कम्पनीका बजार तथा बिक्रि प्रमुख प्रज्वल थापाले जानकारी दिए । ‘छिट्टै उडानयोग्य अनुमति पाउने प्रतिक्षामा रहेका छौं,’ उनले भने ।
यसअघि ३ भदौमा नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरलाइन्सका जहाज उडानमा रोक लगाएको थियो । यो कम्पनी जहाजमा राखिएका पार्टपूर्जामा सुरक्षा थ्रेट देखिएपछि तत्काल जहाज ग्राउण्डेड गर्ने निर्णय भएको प्राधिकरणले उल्लेख गरेको थियो ।
प्राधिकरणको सुरक्षा अडिटका क्रममा कम्पनीप्रति उठाइएको प्रश्नलाई सम्बोधन गर्ने गरी सबै कागजात प्राधिकरणमा बुझाएको थापाले जानकारी दिए । सिम्रिक एयरलाइन्सले पोखरा, भरतपुर र भैरहवामा सेवा दिइरहेको छ ।
नाम जोडिएपछि थापाको प्रष्टीकरण
लामो समय सिम्रिक एयरलाइन्सको समेत अध्यक्ष रहेका सिम्रिक एयरका संचालक रामेश्वर थापाले यस घटनामा आफ्नो नाम जोडिएपछि कम्पनीबाट अलग रहेको सार्वजनिक गरेका छन् ।
सिम्रिक एयरलाइन्स र सिम्रिक एयर फरक-फरक कम्पनी हुन् । सिम्रिक एयरलाइन्सले हवाइजहाज सेवा प्रदान गर्छ भने सिम्रिक एयरले भने हेलिकोप्टरमात्र संचालन गर्छ ।
रामेश्वर थापाले आफ्नो शेयर एक वर्ष अगाडि नै राजेन्द्र शाक्यलाई बिक्री गरेर अलग भएको सिम्रिक एयरलाइन्स स्रोतले जानकारी दिएको छ ।
प्रतिक्रिया 4