Comments Add Comment

सकियो हवाई सम्मेलन, आईकाओ प्रमुख एक साता नेपालमा

६ भदौ, काठमाडौं । एसिया प्यासिफिक क्षेत्रका हवाई नियामक निकायका महानिर्देशकहरुको ५६ औं सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ ।

७ औं सम्मेलनको आयोजकको जिम्मा बंगलादेशको ढाकालाई जिम्मा लगाउँदै काठमाडौं सम्मेलन सकिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ । आगामी सम्मेलन भने नोभेम्बर सन् २०२० मा आयोजना हुनेछ ।

सम्मेलनमा भाग लिन नेपाल आइपुगेका अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) प्रमुख डा. ओलुमोयीवा बनार्ड अल्यूको करिब एक साता लामो नेपाल बसाइँलाई भने प्राधिकरणले महत्वपूर्ण उपलब्धी मानेको छ ।

नेपाल बसाइँका अवधिमा अल्यूले हवाईसँग सम्बन्धित विभिन्न क्षेत्रको अवलोकन गरेका छन् । उनी हवाई संग्रहालयसमेत पुगेर भावी पुस्ताका हवाई जनशक्ति उत्पादनका सम्बन्धमा नेपालले गरेको प्रयासबारे जानकारी लिएका थिए ।

सम्मेलन सोमबारदेखि काठमाडौंमा शुरु भएको थियो । सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए । उक्त अवसरमा उनले आइकाओलगायत नियामक निकायका प्रावधानलाई नेपालले कडाईका साथ कार्यान्वयन गर्दै हवाई सुरक्षा अभिवृद्धिमा लाग्ने प्रतिवद्धता अन्तर्राष्ट्रिय समूदायसँग आग्रह गरेका थिए ।

सन् २०१९ आईकाओ स्थापनाको ७५ औं वर्ष पुगेको अवसरमा वसन्त ऋतुमा सगरमाथा चुचुरोमा पुर्‍याइएको झण्डा आइकाओका काउन्सिल प्रमुख अल्यूलाई हस्तान्तरणसमेत गरिएको थियो । यस्तो सम्मेलन नेपालमा तेस्रो पटक आयोजना गरिएको हो । यसअघि १९७८ र १९९८ मा समेत नेपालले यो सम्मेलन आयोजना गरेको थियो ।

सन् २०१८ मा नेपाल आईकाओको सुरक्षा चासोको सूचीबाट हटेको उपलक्ष्य पारी नेपालले सम्मेलन नेपालमा आयोजनाको प्रस्ताव गरेको थियो । त्यसलाई आईकाओले स्वीकार गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार यस्तो सम्मेलनको आयोजक आइकाओ नै रहने गर्छ । तर, व्यवस्थापनको पाटो भने सम्बन्धित मुलुकले बेहोरेको हुन्छ । यस वर्ष ४३ देशका ४ सय प्रतिनिधिले सम्मेलनमा भाग लिएको प्राधिकरणको भनाइ रहेको छ ।

हवाई क्षेत्रले भोग्नुपर्ने समस्याको साझा हल खोज्ने उपायहरुबारे यस सम्मेलनमा मूख्य रुपमा छलफल भएको प्राधिकरणको भनाइ रहेको छ ।

क्षेत्रीय रुपमा आयोजना हुने यस्ता सम्मेलनले तय गरेका विषयलाई आईकाओको वाषिर्क सम्मेलनमा लैजाने प्रचलन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment