Comments Add Comment

दाङको लमही–गढवा जोड्ने राप्ती पुल जीर्ण

७ भदौ, दाङ । हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–गढवा सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । विसं २०५६ मा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया पनि लागेका छन् ।

‘पुलबीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ’, स्थानीय भीम ओलीले भने, ‘खाल्डा तत्काल पुर्न आवश्यक छ ।’ पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको उनले बताए ।

नदी किनारमा खुलेका क्रसर उद्योगका सवारीसाधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले गर्दा पुल जीर्ण अवस्थामा पुगेको स्थानीय अमृत खड्का बताउँछन् । ‘पुलमा क्रसर उद्योगका ठूला–ठूला गाडी आवतजावत गर्छन्’, उनले भने, ‘पुल नजिकैबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ ।’

निर्माण भएको २० वर्ष पुग्नै लाग्दा मर्मतलाई कुनै निकायबाट पहल नभएको स्थानीयको गुनासो छ । उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिकटनभन्दा बढी भारवहनको सवारी चलाउन नपाइने प्राविधिकको भनाइ छ ।

पुल हुलाकी सडकअन्तर्गत रहेकाले हुलाकी सडकले नै मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी क्षितिज पोखरेलले जानकारी दिए ।

त्यस्तै दाङको राप्ती लोकमार्गअन्तर्गत बबई नदीको पुल पनि जीर्ण बनेको छ । तुलसीपुर–अमेलिया सडकखण्डको सित्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको हो ।

पुलमा गरिएको पुरानो कालोपत्र ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समस्या हुने गरेको छ । समयमै मर्मत नहुँदा अहिले ठाउँ–ठाउँमा ठूला–ठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ कमजोर हुँदै गएको स्थानीयवासीले बताएका छन् । पुलको पूर्वतिरको भाग कमजोर हुँदै गएको छ । विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो । हाल सो पुल भएर दैनिक ५०० बढी यातायातका साधन आवतजावत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment