Comments Add Comment

टीकापुर घटना थारु विद्रोह नै होः बाबुराम भट्टराई

७ भदौ, धनगढी । समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले टीकापुर घटना थारु विद्रोह भएको बताएका छन् । तर नापेतौले जस्तो नहुँदा मानवीय क्षती हुन पुगेको उनले बताए ।

कैलालीको टीकापुरमा शनिबारबाट सुरु भएको आयोजित थारुवान राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘विद्रोह कहिले पनि तापेतौले जस्तो हुँदैन । भदौ ७ गते पनि त्यही भयो । नाते तौले जस्तो भएन । आफ्नो बाटो लियो ।’

तर सत्तामा बसेका प्रधानमन्त्री केपी शर्मा ओली र नेता पुष्पकमल दाहाल प्रचण्डले त्यसलाई नबुझेको उनको आरोप छ ।

उनले अघि भने, ‘आफ्नो अधिकारका निम्ति आवाज उठाउने थारुहरुको विद्रोह चाहिँ विद्रोह नहुने, तपाईँको झापा आन्दोलन मात्र विद्रोह हुने ? तपाईको मुद्दा फिर्ता, यिनीहरुको मुद्दा चाहिँ फिर्ता नहुने ?’

उनले आफ्ना पूर्वसहकर्मी प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादललाई पनि प्रश्न गरे । दुबैले आफ्नो मुद्दालाई राजनीतिक भनिरहेको भन्दै भट्टराईले भने, ‘अरुको विद्रोह चाहिँ राजनीतिक मुद्दा होइन ?’

आफू भड्काउन टीकापुर नआएको तर आफूहरुले मसानघाटको शान्ति नचाहिएको उनले बताए । ‘विभेदमा परेका मानिसहरु चुप लागेर बस्नु मसानघाटको शान्ति हुन्छ, त्यो हामीले चाहेको होइन । हामीलाई सचेत शान्ति चाहिएको छ’ समाजवादी पार्टीका अध्यक्ष भट्टराईले भने ।

सबैले भदौ ७ को कुरा गर्ने तर, भदौ ८ लाई विर्सिएको उनले बताए । ८ गते राज्यको मिलेमतोमा लुटपाट र महिलाको अस्मिता लुटिएको भन्दै उनले प्रश्न गरे, ‘रेशम चौधरी र साथीहरुलाई ७ गतेको काण्डमा कारबाही भयो । भदौ ८ गते लुटपाट, बलात्कार गर्नेहरुलाई के कारबाही भयो ?’

उनले अब दुबै घटनामा सहमति खोज्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment