Comments Add Comment

आइफोनमा आउँदैछ यस्तो फिचर, जसलाई स्टिभ जब्सले घृणा गर्थे

दुनियाँको सबैभन्दा मूल्यवान स्मार्टफोन ब्राण्डको रुपमा एप्पललाई सर्वश्रेष्ठ कम्पनीको रूपमा खडा गर्ने श्रेय यसका संस्थापक स्टिभ जब्सलाई जान्छ ।

जब्सले स्मार्टफोनलाई नयाँ अवतार दिए र पहिलोपटक पूर्णरुपमा टच स्क्रिनवाला स्मार्टफोन बजारमा ल्याए । स्मार्टफोनमा नयाँ युगको सुरुआत गर्ने स्टिभ जब्सलाई फोनमा केही फिचरहरु पटक्कै मन पर्दैनथ्यो । तर आइफोनका जन्मदाता तिनै स्टिभ जब्सलाई मन नपर्ने एउटा फिचर एप्पलले आफ्नो नयाँ आइफोनमा राख्ने भएको छ ।

१२ वर्षअघि, सन् २००७ मा भएको एक सम्मेलनका क्रममा स्टिभ जब्सले भनेका थिए, ‘स्टाइलस कसलाई चाहियो ? तपाईंले त्यो लिनहुन्छ, त्यसलाई अलग्गै राख्नुहुन्छ र त्यो हराउँदछ । त्यसैले कसैलाई पनि स्टाइलस आवश्यक छैन ।’

स्टाइलस अर्थात् टच स्क्रिनमा लेख्ने स्मार्ट पेन । आइफोनमा यस्तो पेनको कुनै काम छैन भन्ने स्टिभ जब्सको तर्क थियो । तर पछिल्लोपटक सार्वजनिक एउटा समाचारलाई आधार मान्ने हो भने एप्पलले आफ्नो आगामी आइफोनमा स्टाइलस फिचर राख्न चाहन्छ । समाचार अनुसार यही सेप्टेम्बरमा सार्वजनिक हुने अपेक्षा गरिएको नयाँ आइफोनमा स्टाइलसको लागि ठाउँ राखिएको छ । उक्त आइफोनको खोल बनाउने कम्पनीको तर्फबाट सो सूचना चुहिएको बताइएको छ ।

आइफोनको खोल बनाउने अलिक्सरले बेलायतको मोबाइल फनमार्फत सन् २०१९ का आइफोनका खोलहरुको सूची सार्वजनिक गरेको छ । जसअनुसार एप्पलका आगामी आइफोनमा एप्पल पेन्सिलका लागि समेत इनबिल्ट स्लट राखिनेछ ।

सानो आकारको एप्पल पेन्सिल

एप्पलले यसलाई स्टाइलस होइन, पेन्सिल भन्दछ र आइप्याडका लागि पहिलेदेखि नै एप्पल पेन्सिल उपलब्ध छ । आइफोनको पेन्सिल सोही आइप्याड पेन्सिलकै नयाँ संस्करण हुनेछ । यसको आकार सानो हुनेछ ।

आइफोन खोल निर्माता कम्पनीको वेबसाइटमा भनिएको छ, ‘प्रिमियम सक्कली लेदबाट बनेको अलिक्जरको आइफोन ११ प्रो को कालो रङको खोलले उत्कृष्ट स्टाइल र सुरक्षा त दिन्छ नै साथै यसमा एप्पल पेन्सिलका लागि ठाउँसमेत थपिएको छ ।’ यसैका आधारमा आइफोन ११ प्रोले स्टाइलस सपोर्ट गर्ने अनुमान गरिएको छ।

एकसाथ सार्वजनिक हुन सक्छन् ३ आइफोन

एप्पलको नयाँ आइफोनले एप्पल पेन्सिल सपोर्ट गर्ने खबर यसअघि पनि आएको थियो । यही फिचरवाला ३ वटा नयाँ आइफोन एप्पलले आगामी महिना सार्वजनिक गर्ने समेत बताइएको छ । ती आइफोनहरुको नाम आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ म्याक्स प्रो हुनेछ ।

ठूलो स्क्रिन होइन जब्सको रोजाइ

उसो त स्टिभ जब्सलाई स्मार्टफोनमा ठूलो आकारको स्क्रिन भएको समेत मन पर्दैनथ्यो । ठूलो आकारको स्क्रिन भएका स्मार्टफोनहरु प्रयोगकर्ताले मन नपराउने तर्क उनको थियो । तर जब्सको त्यो तर्कलाई काट्दै एप्पलले ठूलो स्क्रिनवाला आइफोनहरु बजारमा ल्याइसकेको छ । अब स्टाइलस फिचरसमेत थपेर एप्पलले स्टिभ जब्सको मन नपर्ने काममा हात नहाल्ला भन्न सकिन्न ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment