Comments Add Comment

नाडा अटो शोमा १२ बैंकको स्टल हुने, सवारी खरिदमा यस्ता अफर

९ भदौं, काठमाडौं । सवारी साधनहरुको महामेला नाडा अटो शो भोलि (मंगलबारदेखि) शुरु हुँदैछ । आफूलाई मन पर्ने सवारीसाधन एउटै छानामुनि छान्न पाइने भएकाले मेलामा धेरैको आकर्षण हुनु स्वभाविकै हो ।

यस वर्ष नाडा अटो शोमा बैंक तथा बीमा कम्पनीले समेत स्टल राख्ने भएका छन् । गत वर्ष आयोजक संस्था नाडा अटोमोवाइल्स एशोसिएसन अफ नेपालले स्थानाभावको कारण देखाउँदै बैंकहरुलाई स्टल राख्न दिएको थिएन । यस वर्ष भने १२ वटा बैंकहरुले स्टल बुकिङ गरिसकेको मेलाका संयोजक निराकर श्रेष्ठले जानकारी दिए ।

‘गत वर्ष हामीले नै राख्न नदिएका हौं, ठाउँको अभाव थियो,’ संयोजक श्रेष्ठले भने, ‘यस वर्ष भने हामीले खुला गरेका थियौं, १२ वटा बैंकले स्टल बुक गरिसक्नु भएको छ, एउटा बीमा कम्पनीको पनि स्टल रहनेछ ।’

संयोजक श्रेष्ठका अनुसार सिद्धार्थ इन्स्यारेन्स कम्पनीले मात्रै स्टल बुकिङ गरेको छ । अन्य बीमा कम्पनीहरुले भने स्टल राख्न चासो दिएनन् ।
स्टल बुक गर्नेमा ग्लोबल आइएमई बैंक, सानिमा बैंक, एनआइशी एशिया बैंक लगायत छन् ।

एकल अंक ब्याजदरमा कर्जा !

बैंकहरुले दिने कर्जाको ब्याज एकल अंकमा हुनुपर्ने उद्योगी-व्यवसायीहरुले माग गर्दै आएका छन् । तर उनीहरुको चाहना अनुरुप बैंकको ब्याजदर घट्न सकेको छैन ।
लगानीयोग्य रकमको अभाव हुँदा बैंकहरुले महंगो ब्याजदर दिएर निक्षेप लिएका थिए । जसका कारण कर्जाको ब्याज पनि १४ प्रतिशतभन्दा माथि पुगेको थियो । तरलता अभाव हुँदा त १६ प्रतिशतमा पनि कर्जा पाउन मुश्किल पर्ने अवस्था थियो ।

तरलता समाधान भएसँगै कर्जाको ब्याजदर त घट्यो तर एक अंक (१० प्रतिशत भन्दा तल) मा भने र्झन सकेको थिएन । अब सवारीसाधन कर्जा भने एकल अंकको ब्याजदरमा लिन सकिने भएको छ ।

एक बैंकले १० प्रतिशतभन्दा कम ब्याजदरमा सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने घोषणा गरेको छ । यो समाचार तयार पार्दासम्म ग्लोबल आइएमई बैंकले ९.९९ प्रतिशतमा सवारीसाधन खरिदका लागि कर्जा उपलब्ध गराउने पुष्टि गरेको हो ।

बैंकका सूचना अधिकारी सुरेन्द्रराज रेग्मीले नाडा अटो शोकै लागि लक्षित गरेर ९.९९ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउन लागेको जानकारी दिए । यस्तो कर्जाको अवधि ७ वर्षसम्मको हुने उनले बताए । ग्लोबल आइएमईले मेलामा आफ्नो स्टलसमेत राख्ने भएको छ ।

नाडा अटो शोमा स्टल राख्नका लागि सानिमा बैंकले समेत बुकिङ गरिसकेको बैंकका सूचना अधिकारी तेजबहादुर चन्दले जानकारी दिए । चन्दका अनुसार सानिमा बैंकले १०.४९ प्रतिशत ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउनेछ । यस्तो कर्जा ९ वर्षसम्मका लागि उपलब्ध गराउन सकिने चन्दले बताए । अन्य बैंकहरुले पनि कर्जाका लागि नयाँ अफर ल्याएका छन् । तर सार्वजनिक भने गरिसकेका छैनन् ।

विद्युतीय सवारीका लागि विशेष अफर

पछिल्लो समय विद्युतीय सवारीसाधन प्रयोगको विषयमा राम्रै चर्चा चल्न थालेको छ । अझ लोडसेडिङ हटेदेखि यसको प्रयोगप्रति आकर्षण क्रमशः बढिरहेको छ ।

यसैलाई मध्यनजर गर्दै व्यवसायीहरुले विभिन्न किसिमका विद्युतीय सवारीसाधनहरु मेलामा प्रदर्शन गर्दैछन् । बैंकहरुले त अन्य सवारीसाधनहरु भन्दा विद्युतीय सवारीसाधनमा विशेष अफर दिने भएका छन् । नबिल बैंकले विद्युतबाट चल्ने सवारीसाधनका लागि उपलब्ध गराउने कर्जामा सहुलियत दिने घोषणा गरेको छ । यस्ता सवारी साधनहरु चढ्न कर्जा चाहनेहरुका लागि ८० प्रतिशतसम्म फाइनान्स सुविधा दिने नबिलले जनाएको छ ।

यसरी उपलब्ध गराउने कर्जाको ब्याजदर पनि सस्तो छ । धेरैजसो बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधनमा १२ प्रतिशतभन्दा बढी ब्याज लिइरहेका छन् । तर विद्युतीय सवारी कर्जा लिनेलाई नबिलले जम्मा ९.५ प्रतिशतमै कर्जा उपलब्ध गराउने बताएको छ ।

नबिलजस्तै लक्ष्मी बैंकले पनि विद्युतीय सवारीसाधन कर्जाका लागि अफरको घोषणा गरेको छ । विद्युतीय सवारी साधनका लागि फाइनान्स सुविधा दिन सकिने अधिकतम सीमा यस बैंकले पनि ८० प्रतिशत नै तोकेको छ ।

इन्धनबाट चल्ने सवारीसाधनमा ६५ प्रतिशत फाइनान्स सुविधा दिने यो बैंकले विद्युतीयमा ९ वर्षसम्मका लागि अधिकतम ८० लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने बताएको छ ।

ग्लोबल आइएमई, एनआईसी एसियालगायतका बैंकले पनि यस्तो कर्जालाई प्राथमिकतामा राखेका छन् । ग्लोबल आइएमई बैंकका सूचना अधिकारी सुरेन्ऽराज अधिकारीका अनुसार सो बैंकले यसअघि विश्व वातावरण दिवसका अवसरमा विद्युतीय गाडीका लागि अफर ल्याएको थियो । अहिले यस्ता सवारीसाधन लिन चाहनेहरुका लागि राष्ट्र बैंकले तोकेको व्यवस्थाअनुसार ८० प्रतिशतसम्म कर्जा दिने उनले बताए ।

व्यापार विस्तारमा निकै आक्रामक बनेको एनआइसी एसिया बैंकले पनि विद्युतीय सवारी साधनको कर्जामा केही सहुलियत ल्याएको छ । बैंकले ८० प्रतिशत फाइनान्सको सुविधामा ८ वर्षदेखि १५ वर्षसम्मका लागि कर्जा उपलब्ध गराउने छ । व्यक्तिको आम्दानीको ७५ प्रतिशतसम्म कर्जा दिन सकिने बैंकको व्यवस्था रहेको पनि उनले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment