Comments Add Comment

केरुङ नाकाबाट सिमकोट चामल पुर्‍याउन १ वर्ष

१० भदौ, हुम्ला । नेपाल खाद्य संस्थान, सिमकोटमा पुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चालम केरुङ नाकाबाट झण्डै एक वर्ष लागेको छ । काठमाडौं, केरुङ, हिल्सा हुँदै याल्वाङ वितरण केन्द्र र सिमकोट डिपोका लागि आर्थिक वर्ष ०७५–७६ मा आइपुग्नुपर्ने पाँच हजार ५०० क्विन्टल चामल स्थलमार्गबाट हुम्ला पुग्न एक वर्ष लागेको छ ।

काठमाडौं, केरुङ हुँदै हिल्सादेखि सिमकोट पुग्न गाडीमा छ दिन लाग्ने भएता पनि सिमकोट डिपोका लागि चार हजार र याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने एक हजार ५०० क्विन्टल गरी पाँच हजार ५०० क्विन्टल चामल बल्लतल्ल केरुङ नाकामा पुगेको छ ।

हवाइमार्गभन्दा स्थलमार्गबाट भाडादर कम पर्ने भए पनि समयमा आउनुपर्ने चामल एक वर्षसम्म नपुग्दा उत्तरी नाम्खा गाउँपालिकाका स्थानीयवासीलाई समस्या भएको हो ।

स्थलमार्गको काठमाडौं केरुङ, हिल्सा हुँदै सिमकोट पुग्न प्रतिकेजी रु ४२ भाडा लाग्ने गरेको नेपाल खाद्य संस्थानका कर्मचारी सुरेन्द्र पोखरेलले जानकारी दिए । अहिले नेपागञ्जबाट उडान भर्दै आएका निजी एयरलाइन्सले प्रतिकेजी चामलको भाडा ११५ र सुर्खेतबाट हवाइमार्गमा रु १०५ पर्ने गरेको उनले जानकारी दिए ।

आर्थिक वर्ष २०७५–७६ को असार मसान्तसम्म पाँच हजार ५०० मध्ये चार हजार क्विन्टल चामल सिमकोट डिपोमा र एक हजार ५०० क्विन्टल चामल याल्वाङ वितरण केन्द्रमा पुग्नुपर्ने भए पनि नपुगेको पाइएको हो । स्थलमार्गबाट चामल नपुग्दा नेपाल खाद्य संस्थानका प्रमुख रामबहादुर विष्ट आफैं काठमाडौंबाट केरुङ हुँदै सिमकोट डिपोमा चामल पुर्याउनका लागि उक्त नाका हुँदै गाडीमा चामलसँगै आइरहेको बताए ।

काठमाडौं केरुङ हुँदै हिल्सासम्म पुग्न पाँच दिन लाग्ने गरेको उनले जानकारी दिए । केरुङ नाकादेखि हिल्सा जान सरकारी कामकाज गर्नुपर्ने भएकाले दुई दिन लाग्ने गरेको उनले बताए । हिल्सादेखि याल्वाङ पुग्न एक दिन गरी स्थलमार्गबाट काठमाडौंदेखि सिमकोट पुग्न ६ दिन लाग्ने गरेको उनले जानकारी दिए । हवाइमार्गबाट ४५ मिनेटमा सिमकोट पुग्ने चामल काठमाडौंबाट केरुङ हुँदै आउन ६ दिन लाग्नुका साथै झन्झट हुने गरेको छ ।

काठमाडौँबाट हुम्ला पुग्न स्थलमार्गबाट ६ दिन लागे पनि अहिलेसम्म चामल पुर्याउन नसकिएको नेपाल खाद्य संस्थानले स्वीकार गरेको छ । ठेकेदारको ढिलासुस्तीले स्थलमार्गको चामल पुग्न एक वर्ष लागेको हो । नेपालगञ्ज र सुर्खेतबाट गरी हवाइमार्गबाट गत आर्थिक वर्षको असारसम्म सिमकोट खाद्य संस्थान शाखामा १३ हजार १०७ क्विन्टल चामल भित्रिएको संस्थानका पोखरेलले जानकारी दिए ।

यस्तै दक्षिण क्षेत्रको स्थलमार्गबाट एक हजार १२६ क्विन्टल चामल भित्रिएको उनले जानकारी दिए । सिमकोट डिपोमा भित्रिएको चामलमध्ये ११ हजार ९६१ क्विन्टल चामल वितरण गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment