Comments Add Comment

सुन्दर छालाको लागि यसो गर्ने कि ?

कस्तो मानिसलाई सुन्दर भन्ने भनेर प्रश्न सोधियो र यसको उत्तर खोज्न थालियो भने अनेक अनेक तर्क र परिभाषाहरु आउलान् । तर, ती सबै तर्क र परिभाषा व्यक्तिको बाहिरी सुन्दरतासँग जोडिएको हुन्छ । बाहिरी सुन्दरतामा पनि अनुहारको सुन्दरता नै प्रधान बन्छ । अर्थात् कुन व्यक्ति कति सुन्दर छ भन्ने निर्णय अधिकांश व्यक्तिले त्यसको अनुहार हेरेर गर्छन् ।

एउटा अकाट्य सत्य हो के हो भने सुन्दर देखिन मानिसहरुले सबैभन्दा बढी ध्यान आफ्नो अनुहारमै दिन्छन् । सायद तपाईं हामी पनि आफ्नो अनुहार राम्रो देखाउने प्रयासमा धेरै समय ऐना अगाडि बिताउँछौं । तपाईं हाम्रो यही मानसिकता र बाहिरी सुन्दरताको परिभाषालाई बुझेर नै अनुहारको छाला राम्रो बनाउने सौन्दर्यका प्रशाधनहरु उत्पादन भइरहेका छन् । अनुहारमा क्रिम दलेर मात्र हुँदैन, त्यसको सही र वैज्ञानिक प्रयोग हुनुपर्छ भनेर ब्युटी पार्लरको बिजनेस पनि बढीरहेको छ । यी सबैको एउटै निष्कर्ष के हो भने सुन्दर देखिन छालाको स्याहार आवश्यक छ ।

अब यसो गरौं

छाला सुन्दर बनाउनका लागि दिनमा मात्र यसको हेरचाह गरेर हुँदैन, राति सुत्नु अगाडि पनि हेरचाह उत्तिकै आवश्यक हुन्छ । यसै पनि दिनभर तपाईं काममा व्यस्त हुनुहुन्छ । व्यस्त हुँदा छालाको हेरचाह गर्ने समय निकाल्न पनि गाह्रो हुन्छ । त्यसैले राति सुत्नु अगाडि हेरचाह गर्दा तपाईंको छाला चम्किलो र सुन्दर हुन्छ ।

दिनभरीको कामको थकान र संघर्षले तपाईंको छालालाई हानी पुर्‍याउन सक्छ । समयभन्दा पहिले नै तपाईं बढी उमेरको देखिन सक्नुहुन्छ । त्यसैले राति जति नै थाके पनि आफ्नो छालाको हेरचाह गर्न बिर्सनु हुँदैन । बजारमा रातिमा मात्र प्रयोग गर्ने क्रिम पाइन्छ । तपाईंको छालालाई कस्तो खालको क्रिम आवश्यक पर्छ, चिकित्सकको सल्लाह लिएर प्रयोग गर्न सक्नु हुन्छ ।

रातको समयमा तपाईंको छालाको छिद्रलाई बन्द गर्ने मेकअप, धुलो-धुँवा तथा प्रदुषण हुँदैन । राति तपाईंको छालाले आफ्नो मर्मत आफैं गर्छ । त्यस्तो स्थितिमा राम्रो प्रोडक्ट र राम्रो तरिकाले तपाईंले आफ्नो छालालाई स्वस्थ र ताजा बनाइराख्न सक्नु हुन्छ । दिनको समयमा छालाको सुरक्षा र रातको समयमा यसको मर्मतमा ध्यान दिनु आवश्यक छ । यहाँ त्यस्ता केही जानकारीहरु छन्, जसले तपाईं आफ्नो सुन्दरतालाई यथावत राख्न सक्नु हुन्छ ।

राति मेकअप हटाउनु पर्छ

राति सुत्नु अगाडि मेकअप हटाएर मात्र सुत्नु पर्छ । यसको लागि राम्रो मेकअप रिमुभरको प्रयोग गर्नु पर्छ । छालालाई राम्रोसँग सफा गरेपछि अनुहारलाई राम्रो क्लिन्जरले सफा गर्ने र पानीले पखाल्ने गर्नुपर्छ ।

ओंठको हेरचाह

रातिसम्म हाम्रो ओंठ सुख्खा भैसकेको हुन्छ । कहिलेकाहीँ त ओंठ धेरै नै सुख्खा भएर फुट्न थाल्छ । विशेष गरेर ओंठ त्यसबेला फुट्न थाल्छ, जब ओंठमा नियमित रुपले लिप बामको प्रयोग गरिँदैन । ओंठलाई मनतातो पानीले धोएर नरम कपडाले पुछ्नाले यसको मृत छाला हट्छ । त्यसपछि ओंठमा लिप बाम लगाउनु पर्छ ।

एक्सफोलिएशन गर्नु पर्छ

एक्सफोलिएशन एक प्रक्रिया हो जसबाट छालाको माथिल्लो भागमा रहेका मृत कोशिकाहरुलाई सफा गरिन्छ र भित्रैबाट एक स्वस्थ त्वचालाई बाहिर ल्याउँछ । अनुहार, हात, खुट्टा जहाँ पनि एक्सफोलिएशन गर्न सकिन्छ । यसले छालालाई राम्रोसँग सफा गर्ने भएता पनि यसको प्रयोग हप्तामा दुई-तीन पटक मात्र गर्नु पर्छ । एक्सफोलिएशन गर्दा बजारबाटै सामान किन्नुपर्छ भन्ने छैन । तपाईं घरमै बसीबसी प्राकृतिक एक्सफोलिएशन मास्क बनाउन सक्नुहुन्छ । गालामा भएको छिद्रहरु र नाकमा भएका ब्ल्याकहेड्समा पनि राम्रोसँग स्क्रब गर्नु पर्छ । तर स्क्रबको प्रयोग आवश्यकताभन्दा बढी गर्नु हुँदैन भन्ने कुरालाई ध्यान दिनु पर्छ ।

अनुहारलाई टोन गर्नु पर्छ 

एक्सफोलिएसन गरेपछि अल्कोहल बेस्ड स्किन टोनरको प्रयोग गर्नु पर्छ । यसले छालाको पीएचलाई सन्तुलनमा राख्छ । टोनरलाई कटनमा हालेर अनुहार र गर्धनमा लगाउनु पर्छ ।

मोइस्चराइजर

छालामा क्लिन्जिङ गरेपछि त्यसमा मोइस्चराइज गर्न अति नै आवश्यक हुन्छ । जब तपाईं अनुहार धुनु हुन्छ, धुलो-धुवाँ, मेकअपसँगै अनुहारमा भएको तेल पनि पखालिन्छ । त्यसैले छालालाई पोषण दिनका लागि मोइस्चराइजर लगाउन आवश्यक हुन्छ । यदि तपाईंको छाला तैलिय छ भने वाटर बेस्ड मोइस्चराइजर लगाउनु पर्छ । अनुहारबाहेक कुहिना, घुँडा, हात र खुट्टामा पनि मोइस्चराइजर लगाउनु आवश्यक हुन्छ ।

आई क्रिमहरु

आँखा वरपर अयल ग्ल्यान्ड अर्थात तेलका ग्रन्थीहरु हुँदैनन्, त्यसैले अनुहारको यो भागमा धेरै ध्यान दिनु आवश्यक हुन्छ । राम्रो क्रिमले आँखा वरपरको छालालाई मोइस्चराइज गर्छ र डार्क सर्कल्स, चाउरी पर्नबाट बचाउँछ । क्रिमलाई हल्का हातले लगाउनु पर्छ, जसले तपाइर्ंको छालामा क्रिम राम्रोसँग लाग्छ ।

सिल्कको प्रयोग

दिनभरको थकानका कारण हामी ओछ्यानमा पुग्नासाथ सुत्न सक्दैनौ । प्रायः सुत्दा हामी यताउता फर्किरहन्छौं । त्यसैले तपाईंको तकिया र ओछ्यान नरम हुनु आवश्यक हुन्छ । जसले गर्दा तपाईं यता-उता फर्किँदा तपाईंको छाला नतन्कियोस् र आरामका साथ सुत्न पनि सकियोस् भनेर नरम खालको कपडा वा सिल्कको कपडा ओछ्याउन सक्नुहुन्छ ।

पर्याप्त पानी पिउनु पर्छ

धेरै पानी पिउनाले शरीर हाइड्रेटेड हुन्छ तर हामी पानी धेरै पिउन बिर्सन्छौ । पानीले हामीले खाएको खानेकुरालाई पचाउने र पोषक तत्वहरु शरीरको सबै भागमा पुर्याउन सहयोग गर्ने मात्र होइन, छालालाई स्वस्थ र ताजा पनि बनाइराख्छ । धेरै पानी पिउनाले छालामा चमक आउँछ ।

स्वस्थकर खाना खानु पर्छ

छाला स्वस्थ बनाइराख्न पोषक तत्वले भरिएको खाना खान आवश्यक छ । त्यसैले सन्तुलित आहार लिनु पर्छ । तपाइर्ंले खानु भएको खानाले तपाईंको स्वास्थ्य राम्रो हुने मात्र नभएर छालालाई पनि स्वस्थ राख्न सहयोग गर्छ । छालाको लागि भिटामिन ए र ई युक्त खानेकुरा धेरै खानु आवश्यक छ । फलफूल, हरियो तरकारी र सलाद आफ्नो खानामा समावेश गर्नुपर्छ । यी खाद्यपदार्थले तपाईंको स्वास्थ्यलाई फाइदा पुर्याउने मात्र होइन अनुहारलाई पनि चम्किलो बनाउन सहयोग गर्छ ।

कपाल कोर्नु पर्छ

यदि तपाईं राति कपाल बाँधेर सुत्नु हुन्छ भने तपाईंको कपाल धेरै टुक्रन सक्छ । राति कपाल कोरेर हेयर कन्डिसनर लगाउनु पर्छ । कपाललाई खुल्ला छोडेर नै सुत्नु उपयुक्त हुन्छ ।

त्यस्तै रातिको समय गरिने आरामले छालालाई अति नै फाइदा पुग्छ । त्यसैले पर्याप्त निद्रा आवश्यक हुन्छ । सुत्नु अगाडि कफिनयुक्त पेय पदार्थहरु सेवन गर्नु हुँदैन । राम्रो स्वास्थ्य र छालाको लागि पर्याप्त निद्रा अति नै आवश्यक हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment