Comments Add Comment

अकुप्रेसर : कति लाभदायक ?

अकुप्रेसर एक प्राचिन उपचार पद्धती हो, जो चीनमा सदियौंदेखि प्रचलनमा छ । अकुप्रेसरबाट उपचार गर्नका लागि अक्युपञ्चर थेरापीको सिद्धान्त लागु हुन्छ । यसैले अकुप्रेसरलाई कहिलेकाहीँ प्रेसर अक्युपञ्चर पनि भनिन्छ । आखिर के हो अकुप्रेसर थेरापी ? कसरी गरिन्छ ? यसका लाभ र हानी के हुन् ?

अकुप्रेसर के हो ?

पारम्परिक चिनियाँ उपचारमा पछिल्लो दुई हजार वर्षदेखि अकुप्रेसर थेरापीको एक महत्वपूर्ण स्थान छ । आज पनि यसको उपयोग विश्वमै हुँदै आएको छ ।

अकुप्रेसर शरीरलाई ठीक र व्यवस्थित गर्न क्षमता जगाउनका लागि संकेत पठाउने एक प्रविधि हो । जसरी योगमा प्राण (जीवनशक्ति)लाई महत्व दिइन्छ । त्यसैगरी पारम्परिक चिनियाँ उपचारमा  जीवन ऊर्जाको महत्व छ । के मान्यता छ भने, हाम्रो शरीरभित्र यस जीवन ऊर्जाको प्रवाह केही नलीको माध्यमबाट हुन्छ । यसलाई मेरिडियन भनिन्छ ।

यी प्राकृतिक प्रवाहमा रोकावट अर्थात अवरोध आउनु नै रोग तथा दुखाइको कारण हो । अकुप्रेसरले यही असन्तुलनलाई सही गरेर जीवन ऊर्जाको प्रवाहमा सुधार ल्याउँछ । यसरी शरीर आफ्नो प्राकृतिक स्वस्थ अवस्थामा फर्कन्छ ।

अकुप्रेसर बिन्दु वा प्वाइन्ट

अकुप्रेसर पद्धतीबाट शरीरका विशेष विन्दु वा प्वाइन्टहरुमा दबाव पैदा गरेर उपचार गरिन्छ । साइड इफेक्ट नहुने भएकाले यो उपचार पद्धती लोकपि्रत छ । स्वस्थ व्यक्तिले पनि अकुप्रेसर विधी अपनाउन सक्छ । औषधि पनि खान नपर्ने, शरीर चिरफार पनि गर्नु नपर्ने, केबल शरीरका अंगमा निश्चित विन्दु पहिचान गरी त्यसमा दबाव दिएर उपचार गरिन्छ । यो प्राकृतिक उपचार विधि हो । तर, शरीरको कुन अंगमा कहाँनेर प्रेसर गर्ने वा थिच्ने भन्ने जानकारी भने हुनुपर्छ । अकुप्रेसर उपचार विधिमा प्रयोगमा आउने केही बिन्दुहरु यसप्रकार छन् ।

 गलब्लेडर २०

यो बिन्दु तपाईंको टाउको पछाडिको भागतर्फ कान छेउँमा हुन्छ । यस बिन्दुबाट टाउको दुखाइ, माइग्रेन, थकान, सुस्ती र चिसो आदिको उपचार हुन्छ ।

गलब्लेडर २१

यो बिन्दु तपाईंको काँधको माथिल्लो भागमा हुन्छ । यो बिन्दुले तनाव, अनुहारको दुखाइ, टाउको दुखाइ, दाँतको दुखाइ, गर्धनको दुखाइको उपचार गर्न सकिन्छ । गर्भवती महिलाका लागि यसको उपयोग सावधानीपूर्वक गर्नुपर्छ ।

लार्ज इन्टेस्टाइन

यो हाम्रो हातको बुढी औंला र चारै औंलाको बीचको मुलायम भागमा हुन्छ । यो बिन्दु तनाव, टाउको दुखाइ, दाँतको दुखाइमा उपचार गर्न सकिन्छ । गर्भवतीले भने यो विन्दुको उपयोग गर्नु हुँदैन ।

लिभर ३

यो बिन्दु हाम्रो खुट्टाको पञ्जामाथि बुढी औंला र त्यसको बिचमा हुन्छ । यो बिन्दुमा दबाउँदा तनाव, उच्च रक्तचाप, अनिद्रा वा भावनात्मक समस्या हट्छ ।

पेरिकार्डियम ६

यो बिन्दु तपाईंको हातको चार इन्च माथि हुन्छ । यो बिन्दुमा दबाउँदा तनाव हट्छ । पेट खराब भएको बेला, मोसन सिकनेसको समस्यामा, मुटुको घबराहटमा पनि यसलाई दबाउनु उपयोगी हुन्छ ।

ट्रिपल एनर्जाइजर ३

यो बिन्दु तपाईंको हातको पन्जामा चौथो र पाँचौ औंलाको नसाको बिचमा हुन्छ । यो बिन्दुमा दबाउँदा टाउको दुखाइ, गर्धनको दुखाइ, पिठ्युँको दुखाइ ठीक हुन्छ ।

स्प्लीन ६

यो बिन्दु तपाईंको खुट्टाको भित्री भागमा पैतलाभन्दा थोरै माथि हुन्छ । यो बिन्दुमा मुत्रसम्बन्धी समस्याका साथसाथै थकान, अनिद्राको उपचारमा दबाइन्छ ।

अकुप्रेसर कसरी गर्ने ?

अकुप्रेसर बिन्दुमा हल्का दबाएर मालिस गरौं ।

–      जब अकुप्रेशर बिन्दुमा मालिस गरिन्छ, त्यसैले आरामसाथ कुनै सुविधाजनक ठाउँमा बस्नुहोस् । आँखा बन्द गरेर गहिरो सास लिनुहोस् ।

–      मालिस तपाईंलाई राम्रो लागेमा पटकपटक गरिरहनुहोस् । एक दिनमा कति गर्नुपर्छ भन्ने कुनै नियम छैन । जति तपाईंलाई सुविधाजनक लाग्छ, त्यती नै पटक गर्नुहोस् ।

–      तपाईं आफैले पनि अकुप्रेसर बिन्दुको मालिस गर्न सक्नुहुनेछ । या अरु कसैको सहयोग लिन सक्नुहुनेछ ।

अकुप्रेसरले कसरी काम गर्छ ? कसरी हुन्छ लाभ ?

हाम्रो शरीरको मुख्य च्यानलमा ३ सय ६५ बिन्दु हुन्छन् । यसका साथै ६५० बिन्दु अरु पनि हुन्छन् । रक्त प्रवाहका तन्त्र जस्तै यस च्यानलको पनि आफ्नो कनेक्सनको नेटवर्क हुन्छ ।

अकुप्रेसर बिन्दुमा सामान्य रुपले केही सेकेन्ड वा मिनेटसम्म दबाइन्छ । जुन अकुप्रेसर बिन्दुमा दबाइन्छ, संवेदनशील हुनसक्छ । तर, दुखाइ वा पीडादायक हुनु हुँदैन ।

–      थुप्रै किसिमका शारीरिक समस्यामा अकुप्रेसर उपयोगी हुनसक्छ । अकुप्रेसरले किमोथेरापीबाट क्यान्सरको उपचार तुरुन्तै हुने बान्ताबाट बचाउँछ । यसले तनाव घटाउने वा ऊर्जाको स्तर बढाउने काम गर्छ । कतिपय शारीरिक अंगको दुखाइमा अकुप्रेसर निकै प्रभावकारी हुन्छ । मानसिक समस्यामा समेत अकुप्रेसर उपयोगी हुन्छ ।

के छ हानी ?

यो पूर्ण प्राकृतिक उपचार विधि भएकाले एलोपेथिक औषधिको जस्तो साइड इफेक्ट हुँदैन । तर, उपचारको क्रममा गलत ठाउँमा दबाइयो भने यसलेे लाभ होइन, हानी हुनसक्छ । साथै धेरै वा हल्का दबाउनु पनि उपयुक्त हुँदैन । बेस्सरी दबाउँदा त्यस भाग क्षतिग्रस्त पनि हुनसक्छ । गर्भावस्थामा अकुप्रेसर गर्नै हुँदैन ।

यदि रोग पुरानो छ भने पनि अकुप्रेसर थेरापीले फाइदाभन्दा नोक्सान गर्न सक्छ । सामान्य रुपले चाहिँ अकुप्रेसर एकदमै सुरक्षित उपचार विधि हो । यदि तपाईंलाई क्यान्सर, मुटुको रोग, जीर्ण रोग छ भने कुनैपनि थेरापी गराउनुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment