Comments Add Comment

पोखरामा हवाइ रुटको चिन्ता, मन्त्री भन्छन् : भारत सकारात्मक छ

११ भदौ, पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण लक्ष्यभन्दा चाँडै सक्ने गरी काम भइरहेको छ । सन् २०२१ जुलाई १० भित्र काम सकेर हस्तान्तरण गर्ने चिनिया कम्पनीसँग सम्झौता छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार अहिलेसम्ममा लक्ष्यको १ सय २० प्रतिशत काम भएको छ । यही गतिमा काम भए आउँदो डिसेम्बर २० सम्म काम सम्पन्न हुन्छ ।’

भैरहवाको गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि डिसेम्बर २० सम्म सक्ने लक्ष्यसहित काम भइरहेको छ । नेपाल भ्रमण वर्ष २०२० भित्रिदै गर्दा यो विमानस्थल सञ्चालन गर्ने गरी काम भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई बताउँछन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको दाबीअनुसार अबको एक वर्षभित्र नेपालमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेछ । तर सरोकारवालाको चिन्ता छ, ‘हवाइ रुटकै भर छैन, विमानस्थल बनेर के गर्नु ।’

नेपालभित्रै नागरिक उड्डयन प्राधिकरणले नै रुट तोक्न सक्ने भए पनि अन्तर्राष्ट्रिय उडानमा सम्बन्धित देशको स्वीकृति, सहमतिमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) ले मान्यता दिनुपर्छ ।

अहिले सिमरा हुँदै नेपाल प्रवेश गर्ने एउटामात्रै रुट छ । भैरहवा हुँदै प्रवेश गर्ने अर्को रुटका लागि नेपाल–भारत सहमति भइसकेको प्राधिकरणको भनाइ छ ।

‘भैरहवा हुँदै प्रवेश गर्ने रुट हामीलाई प्राप्त भइसकेको छ । दुबै पक्षले आईकाओको रुट सञ्जालमा समावेश गर्न पत्र पठाएका छौं,’ प्राधिकरणका महानिर्देशक पोखरेलले भने, ‘तत्काललाई पोखरा आउन सिमराबाट पनि समस्या छैन तर भैरहवाबाट प्रवेश गर्ने रुट पाएपछि गौतम वुद्ध र पोखरालाई अझै सजिलो हुन्छ ।’

एउटामात्रै रुटबाट ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाइ सेवा दिन सम्भव नरहेको सरोकारवाला बताउँछन् । तर, पर्यटनमन्त्री र प्राधिकरणका महानिर्देशकको दाबी छ, ‘विमानस्थल निर्माण सकिएपछि रुटकै कारण कुनै अप्ठेरो पर्दैन ।’

पर्यटनमन्त्री भट्टराईले रुटको भ्रममा नपर्न आग्रह गरे । ‘सिमरा छँदै छ, नेपाल, भारतबीच सम्झौता नै भइसकेकाले भैरहवा सैद्धान्तिक हिसाबले पाइसक्यौं,’ भट्टराईले भने, ‘अन्य रुटका विषयमा भारतसँग छलफल भइरहेको छ ।’

नेपालले भारतसँग नेपालगञ्ज र महेन्द्रनगर हुँदै प्रवेश गर्ने रुट दिन प्रस्ताव गरेको छ । तर, टुंगो भने लागिसकेको छैन । ‘नेपालगञ्ज र महेन्द्रनगरको विषयमा एक दुई चरणमा कुरा भइसकेको छ । यसमा उहाँहरु सकारात्मक हुनुहुन्छ,’ पर्यटनमन्त्री भट्टराईले भने, ‘यो प्रवेश विन्दु सबैभन्दा महत्वपूर्ण हुँदैछ ।’

केही दिनअघि काठमाडौंमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको बैठक बसेको थियो । संगठनसहित नियामक संस्था र सरोकारवाला संस्थाका प्रतिनिधिले समेत भाग लिएको सो बैठकमा पनि भारतसँग रुटका विषयमा छलफल भएको पोखरेलले बताए ।

‘हवाइ रुटका विषयमा भारतसँग साइड मिटिङ पनि गरेका थियौं । त्यतिबेला पनि अन्य रुटका विषयमा छलफल भए, महेन्द्रनगर रुटमा भारतले सहमति जनाउन सक्ने आशा राखेका छौं,’ पोखरेलले भने । नेपालमा अर्को मेची रुट छ । जुन भुटानका लागि मात्रै आउ–जाउ गर्ने हवाइ रुट हो ।

विराटनगर रुट अर्को प्रवेश विन्दु भएर पनि प्रयोगमा आउन नसकेको महानिर्देशक पोखरेलले बताए । भारतले स्वीकृति दिएर पनि आवश्यक नपरेकाले प्रयोगमा आउन नसकेको उनको भनाइ छ । जनकपुर रुटलाई नेपाल–भारतले सहमति दिएको छ, आईकाओबाट स्वीकृति आउन बाँकी छ ।

भारत हुँदै अन्तर्राष्ट्रिय उडान हुने भएकाले उसको सहमति लिनुपर्ने बाध्यता नेपालसँग छ ।

डाँडा काटेर १ सय ६० सिटे जहाज

पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको रन–वे २५ सय मिटरमात्रै छ । यति छोटो रनवे मा ठूला जहाज पोखरा आउन सक्दैनन् । प्राविधिकहरु भन्छन्, ‘पोखरा आउने न्यारो बडीका जहाज हुन् ।’

त्यसमाथि विमानस्थलदेखि नजिकै रहेको रिठ्ठेपानीको डाँडाले अर्को अवरोध गर्ने प्राविधिकको निश्कर्ष छ । त्यही डाँडाकै कारण विमानस्थल सञ्चालनमा जोखिम हुने भएपछि पोखरा महानगरपालिका र स्थानीयको समन्वयमा डाँडा काट्ने काम भइरहेको छ ।

‘डाँडा नकाटे पनि जहाज उडान हुन सक्थ्यो होला । तर, त्यसले जोखिम बढ्ने देखियो । बढी सिट क्षमताका जहाज अवतरणमा हुन अवरोध गर्ने निश्कर्ष निस्क्यो,’ नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने, ‘अब १ सय ६० सिटसम्मको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुन सक्छ ।’

डाँडा काट्नुअघि १ सय ३०/४० सिट क्षमताभन्दा बढीको जहाज उडान हुन पनि जोखिम भएको प्राविधिकको भनाइ थियो । पोखराको विमानस्थलमा एयर बस ३२० मोडलका न्यारो बडी जेटहरु उडान हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment