Comments Add Comment

भारतद्धारा एकैपटक १३७ चुचुरा पर्वतारोहणमा खुला

११ भदौ, काठमाडौं । भारत सरकारले एकै पटक १३७ वटा हिमचुचुरा विदेशी पर्यटकका लागि खुला गरेको छ । भारतीय गृह मन्त्रालयले अघिल्लो साता पर्वतारोहण भिषामा आउने पर्यटकका लागि १४ वटा हिमालमा जान सक्ने अनुमति दिने निर्णय गरेको हो ।

भारतले उत्तरी भेगमा अवस्थित विभिन्न चार राज्यमा पर्ने हिमचुचुरो आरोहण र पदयात्राका लागि खुला गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका अनुसार यी चुचुरा उत्तराखण्ड, हिमाचल प्रदेश, सिक्किम र जम्मू कश्मीरमा अवस्थित छन् ।

उत्तराखण्डका ५१ र जम्मू कश्मीरका १५ चुचुरा विदेशी पर्यटकका लागि खुला गरिएको हो । भारतीय पर्यटनमन्त्री प्रहृलाद सिंह पटेलले गृह मन्त्रालयको कदमको स्वागत गरे ।

त्यसो त भारतले ई-भीषाको अवधि एक वर्षबाट बढाएर ५ वर्ष पुर्‍याउने तथा मूख्य सिजनमा भिषा शुल्क २५ डलरबाट घटाएर १० डलरमा झार्ने तयारी गरिरहेको छ ।

सिक्किमको कंचनजंघादेखि जम्मूको माउण्ट कैलाशसम्म खुला

भारतले आफ्नो चर्चित चुचुरो आरोहणमा खुला गरेको छ । यस सूचिमा सिक्किमका कंचनजंघा साउथ, काबरु नर्थ, गोछा चोटी, जोपोनोलगायत हिउँ चुचुरो खुला भएका छन् । जम्मू कश्मीरका माउण्ट कैलाससहित सेरो किथेश्वर, एगर, अग्यसोल, उमासीजस्ता हिमाल पनि आरोहणमा खुला भएका छन् । हिमाचल प्रदेशको सुगन्धित शिखर, पिरामिड पर्वत, कुल्लु मकालू, कूल्लु पुमोरीजस्ता हिमालमा अब विदेशी पर्यटकले आरोहणको अनुमति पाउने भएका छन् ।

प्रभावित हुनसक्छ नेपाल

नेपालले उत्तरी भेगका १५ जिल्लाका विभिन्न क्षेत्रलाई निषेधित घोषणा गरेको छ, जहाँ जान विदेशीले चर्को शुल्कमात्र तिर्नुपर्दैन, गृह मन्त्रालयबाट छुट्टै अनुमति समेत दिनुपर्छ ।

त्यो क्षेत्र खुला गरेर पर्यटकीय गतिविधि बढाउन व्यवसायीले माग गरिरहेकै समयमा भारतले रणनीतिक महत्व राख्ने क्षेत्रमा हिउँ चुचुरो खुला गरिदिएको छ । यसले दीर्घकालीन रुपमा नेपालको शाहसिक पर्यटन प्रभावित हुने व्यवसायीको चिन्ता छ । पर्यटन व्यवसायी विजय अमात्य भन्छन्, ‘यसले नेपालमा दीर्घकालिन प्रभाव पार्न सक्छ ।’

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल -टान)का अध्यक्ष नवराज दाहाल अहिलेकै शैली कायम रहे केही समयभित्रै नेपालबाट शाहसिक पर्यटन संकटमा पर्ने सम्भावना देख्छन् । ‘हामी हिमाल छ, पर्यटक हाइहाल्छन् भनेर बस्ने, उनीहरु तयारीसहित रणनीति बनाउने,’ उनले भने, ‘नेपाल अझै पनि नतात्तने हो भने भारतले पर्वतारोही पर्यटक लैजान्छ ।’

भएका चुचुरो खुला नगर्ने, खुला गरेका चुचुरो सुरक्षित बनाउन नसक्ने, पूर्वाधार बनाउन नसक्ने र सहजै जान सक्ने स्थानका पर्यटकीय गन्तब्यलाई निषेध गरेर नेपालले अब लामो समय ढुक्क भएर बस्न नसक्ने उनी बताउँछन् । भ्रमण वर्षकै मुखमा नेपालले विश्वव्यापी निर्णय हुने खालको कुनै निर्णय लिन नसके पर्यटक आगमन प्रभावित हुनसक्ने चिन्ता व्यवसायीको छ ।

६ हजार मिटरमाथिका १३ सय चुचुरो नेपालमा

नेपालमा ६ हजार मिटरभन्दा उचाईका १३१० वटा हिमाल अवस्थित छन् । त्यसमध्ये मात्र ४१४ हिमाल आरोहणमा खुला छन् । खुला भएका चुचुरोमध्ये पनि सगरमाथासहित दुई दर्जन हिमालमा मात्र नियमित आरोहण हुने गरेको छ । पूर्वाधारको अभाव, सुरक्षा प्रवन्ध नहुने र उचित प्रचार प्रसार नहुँदा नेपालका सयौं हिँउ चुचुरो अझै पनि पर्यटकको पर्खाइमा छन् ।

के भन्छ सरकार ?

शाहसिक पर्यटन शुरु भएको देशका रुपमा नेपालको पहिचान कायम राख्दै पर्वतारोहणलाई सुरक्षित बनाउन सरकारले भरपुर प्रयास गरिरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायले प्रतिक्रिया दिए ।

‘हामी आफ्ना हिमाललाई अधिकतम प्रवर्द्धन गरी संसारभरका पर्यटक नेपाल आउने वातावरण बनाउने सम्बन्धमा निजी क्षेत्रसँग हातेमालो गरेरै अगाडी बढ्छौं,’ उनले भने, ‘हिमाल आरोहण भन्नासाथ त्यसको यात्रा नेपालबाटै शुरु हुन्छ, त्यो हामी स्थापित गर्नेछौं ।’ उनकाअनुसार नेपाल भ्रमण वर्षको अवसर पारी केही थप हिमाल खुला गर्ने, रोयल्टी कम गर्ने र केही हिमालको नाम नै ब्राण्डिङ कसरी गर्न सकिन्छ भन्नेबारे अध्ययन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment