Comments Add Comment

जग्गा विवादले दाना–खुर्कोट प्रसारण लाइन निर्माण रोकियो   

१३ भदौ, म्याग्दी । कालीगण्डकी करिडोर अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको टावर निर्माणमा अवरोध भएको छ ।

अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने पोखरेबगर, बैसरी र रातोपानीका पीडित बासिन्दाले अवरोध पुर्‍याएका हुन् । आयोजना र पीडित घरधनीहरुबीच दुई वर्षदेखिको विवादले प्रसारण लाइन निर्माण रोकिँदा जलविद्युत् आयोजना निर्माणमा ढिलाइ हुनाका साथै उत्पादित विद्युत् खेर जाने स्थिति सिर्जना भएको छ ।

बस्ती र घरलाई असर नपर्नेगरी प्रस्तावित टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न, मुआब्जा समायोजन र वातावरण संरक्षणको काम गर्नुपर्ने स्थानीयवासीको मागमा सहमति जुट्न नसकेपछि पोखरेबगर क्षेत्रका छ टावर निर्माण अघि बढ्न सकेको छैन । आँगनमै टावर राखेर बस्तीको बीचबाट प्रसारण लाइन लैजान लागिएकाले विकल्प खोज्न भनिए पनि आयोजनाले बेवास्ता गरेको पोखरेबगरका रामबहादुर बरुवालले बताए ।

सहमति नजुटेपछि जग्गाधनीले मुआब्जासमेत बुझेका छैनन् । आयोजना अप्ठ्यारोमा परेको छ । मागको सुनुवाइ नभएसम्म काम गर्न नदिने स्थानीयवासीको अडान छ । उनीहरुले टावरको जग खन्न परिचालन भएका मजदुर र डोजरलाई फर्काउँदै आएका छन् । दानादेखि खुर्कोटसम्मको ३९ किलोमिटर दूरीमा रहेका ११४ मध्ये १०७ टावर निर्माण भइसकेको छ । धेरैजसो ठाउँमा तार तान्ने काम पनि भइरहेको छ । जग्गा धनीसँगको विवादले जलजला गाउँपालिकाको मल्लाजमा एउटा टावर पनि बन्न सकेको छैन ।

पोखरेबगरमा प्रस्तावित ठाउँमा टावर निर्माण गर्दा धनबहादुर बरुवाल, रामबहादुर जिसी, वीरबहादुर खत्री र सोमबहादुर भण्डारीको परिवार विस्थापित हुने भएकका छन् । अहिलेको नक्साअनुसार टावर र प्रसारण लाइन निर्माण गर्दा पोखरेबगरस्थित गाउँपालिकाको भवन निर्माणस्थल र शिव मन्दिरसमेत जोखिममा पर्ने देखिएको छ । स्थानीयवासीको मागअनुसार टावर र प्रसारण लाइनको नक्सा परिवर्तन गर्न आर्थिक, प्राविधिक, सामाजिक र वातावरणीय हिसाबले सम्भव भए÷नभएको विषयमा स्थलगत अध्ययन गर्न लागिएको प्रजिअ ज्ञाननाथ ढकालले बताए ।

स्थानीयवासीले अहिलेकै नक्साअनुसार टावर र लाइन बनाउन नदिने तथा आयोजनाले नक्सा परिवर्तन गर्न नमिल्ने अडान राख्दै आएका छन् । वडाध्यक्ष कृष्णप्रसाद बरुवालले प्रभावित बासिन्दा र आयोजनाबीच छलफलको माध्यमबाट निकास निकाल्न प्रयत्न भइरहेको बताए । आयोजना प्रमुख चन्दनकुमार घोषले प्राविधिक र आर्थिक हिसाबले नक्सा परिवर्तनको सम्भावना नभएको बताए । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैंकको सहयोगमा कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ को मेदेखि शुरु गरेको दाना, खुर्कोट सवस्टेशन र प्रसारण लाइन गत कात्तिकमै सक्ने लक्ष्य थियो ।

पहिलोपटक छ महीना थपिए पनि काम नसकिएपछि गत असारमा दोस्रोपटक तीन महीनाको म्याद थपिएको आयोजना प्रमुख घोषले बताए । सवस्टेशन र अन्य ठाउँमा प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेको छ । २ अर्ब ९० करोड रुपैयाँमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सवस्टेशन र प्रसारण लाइन बनाउने ठेक्का लिएको थियो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विवादले करीब एक वर्षपछि धकेलिएको छ । हालसम्म ९० प्रतिशत काम सकिए पनि स्थानीयवासीको अवरोध चुनौती बनेको छ । म्याग्दी र मुस्ताङमा कालीगण्डकी र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका सवस्टेशनका साथै प्रसारण लाइन निर्माण गर्न लागिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment