Comments Add Comment

काठमाडौंमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी

१५ भदौ, काठमाडौं । काठमाडौंमा चार देशका कलाकारको सहभागितामा ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी’ चलिरहेको छ ।  अन्तर्राष्ट्रिय जलरङ समाज (आइडब्लुएस) नेपालको आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) को सहकार्यमा भदौ ७ देखि शुरु प्रदर्शनी भदौ १७ गतेसम्म सञ्चालन हुनेछ ।

प्रदर्शनीले देशहरुबीच आपसी सम्बन्ध प्रगाढ बनाउन सहयोग हुने कलाकारहरुले विश्वास लिएका छन् ।

काठमाडौंस्थित प्रतिष्ठानको कार्यालय नक्सालमा जारी कला प्रदर्शनीमा नेपालसहित भारत, बङ्गलादेश र चीनका चर्चित कलाकारको चित्र समावेश गरिएको आइडब्लुएस नेपालका अध्यक्ष एनवी गुरुङले जानकारी दिए । उनले ६ महिनादेखिको प्रयास सफल भएकामा खुशी व्यक्त गरे ।

वरिष्ठ कलाकार हरिप्रसाद शर्माले यस्ता कार्यक्रमले कला र विचार आदानप्रदानमा सहयोग पुग्ने उल्लेख गर्दै जीवन रहुञ्जेल कला साधना गर्नसमेत कलाकारलाई आग्रह गरे ।

कार्यक्रममा पूर्वराजदूत कमानसिंह लामाले कला क्षेत्रको गतिविधि कमजोर रहेको भन्दै अहिले गरेका काम भावी पुस्ताका लागि पनि सङ्ग्रह गरेर राख्नुपर्नेमा जोड दिए । प्रदर्शनीमा चीनबाट ११, बङ्गलादेशबाट ११, भारतबाट १५ र नेपालको ४३ कलाकारका चित्र समावेश गरिएको छ । कलाका माध्यमबाट ती देशबीच सम्बन्धलाई थप मजबुत बनाउने लक्ष्यसहित प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानको मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिसकेका कलाकारको चित्र समावेश हुने यस्ता प्रदर्शनीले सहभागी देशबीचको आपसी सम्बन्ध विस्तार हुने र नेपाल चिनाउन सहयोग गर्ने विस्वास व्यक्त गरे ।

प्रदर्शनीमा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, सदस्य सचिव विपिनकुमार घिमिरे, वरिष्ठ कलाकार श्यामलाल श्रेष्ठलगायतका अनुभवी र अगुवा कलाकारको चित्रसमेत समावेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment