
१६ भदौ, काठमाडौं । पशुपति क्षेत्रभित्रको किरात मन्दिरको चौतारी निर्माणमा कंक्रिट प्रयोग गरेपछि पशुपति क्षेत्र विकास कोषले भत्काउन निर्देशन दिएको छ । स्वीकृति बिना किरात धर्म संस्कृति परिषद्ले सिमेन्ट प्रयोग गरेकाले भत्काउन निर्देशन दिएको कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले जानकारी दिए ।
‘पशुपति विकास कोषको स्वीकृति बिना उनीहरुले आफ्नो खुसीले सिमेन्ट प्रयोग गरेर चौतारी बनाएका छन् । कोषको स्वीकृत बिना एउटा पनि इँटा राख्न नपाइने नियम छ । त्यसैले चौतारी भत्काउन आग्रह गरिएको हो,’ उनले भने ।
किरात मन्दिरमा किरात समुदायले वर्षमा २ पटक प्रकृति पूजा गर्ने गर्छन् ।
किरात धर्म संस्कृति परिषद्का अध्यक्ष वीरबहादुर लिम्बुले भने चौतारीसमेत बनाउन नदिएको गुनासो गरे । ‘हामीले पुरै सिमेन्ट प्रयोग गरेका छैनौं । मन्दिरमा चौतारी बनाउन पनि दिइएन । हाल बनाइसकेको चौतारीमा पनि सिमेन्ट प्रयोग गरेको बन्दै अवरोध गरिएको छ,’ उनले भने ।
यस्तै, परिषद्लाई पशुपति विकास कोषले स्वीकृति बिना सञ्चालन गरेको क्याटरिङसमेत भत्काउन भनेको छ ।
कोषले मन्दिर बनाउनका लागि उपलब्ध गराएको स्थानमा चुरोट र सूर्ति बिक्री गर्ने गरी होटल सञ्चालन गरेकाले भत्काउन भनिएको प्रशासकीय अधिकृत पराजुलीले बताए ।
‘पशुपति क्षेत्र विकास कोषले कोषभित्र रहेको सरंचना ममर्त गर्नसमेत पुरातत्व विभागको स्वीकृत लिनुपर्ने हुन्छ,’ उनले भने, ‘उहाँहरुले एउटा कामको लागि अनुमति लिएर अर्को काम गरेकोले भत्काउन भनेका हौं ।’
मौखिक सहमतिले विवाद
किरातहरुले हरेक वर्ष उधौली र उभौलीमा प्रकति पूजा गर्न पशुपति क्षेत्र विकास कोषको जग्गाभित्रै किरात मन्दिर बनाएका छन् ।
मन्दिर नजिकै अहिले क्याटरिङ पनि सञ्चालनमा छ । भान्साका लागि पनि संरचना निर्माणको तयारी गरिएको थियो । तर, पशुपति विकास कोषले अनुमति दिएको छैन ।
यसअघि संरचना निर्माणका क्रममा किरात धर्म संस्कृति परिषद्ले पशुपति विकास कोषका कर्मचारीसँग भान्साका लागि मौखिक सहमति गरेको थियो । चौतारी र क्याटरिङका लागि भने केही सहमति भएको थिएन ।
प्रतिक्रिया 4