Comments Add Comment

एटीएम ह्याकिङ प्रकरणः भागेर केरुङ पुगिसकेका थिए शु लुक्ली

मनी एक्सचेन्ज सञ्चालक पनि पक्राउ, चोरी भएको सबै रकम बरामद

१६ भदौ, काठमाडौं । नेपाली बैंकका एटीएम प्रणाली ह्याक गरेर डेढ करोड बढी चोरिएको घटनामा एक चिनियाँसहित तीन मनी एक्सचेन्ज सञ्चालक पक्राउ परेका छन् । पाँच चिनियाँ नागरिक भने सुरुमा नै पक्राउ परेका थिए ।

शनिबार दरबारमार्गको नबिल बैंकको एटीएममा अस्वभाविक गतिविधि देखिएपछि अनुसन्धान थालिएको थियो । लगत्तै चिनियाँ नागरिक ईसी १९३७५५८ नम्बरको राहदानी बाहक झु लियांग एटीएम छेऊबाट पक्राउ परेका थिए ।

‘प्रहरीले खनतलासी लिने क्रममा उनले वीच्याटमार्फत आफू पक्राउ परेको सूचना दिएका रहेछन्’, अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यही सूचनाका कारण होटल माया मनोहर बुटिकमा रहेका ३ जना पैसा बोकेर भागेका थिए ।’

होटलको छैठौं तलामा रहेका चिनियाँ नागरिक झु लियांग, विक विन, क्यु याङयिङ, लु जियालिङ र लिन जिनमिङ भने भाग्दाभाग्दै पक्राउ परेका थिए । उनीहरुको साथबाट प्रहरीले एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ बरामद गरेको छ ।

भागेका तीन जनामध्ये शु लुक्ली केरुङ नाका पुगेको देखिएको अनुसन्धानमा संलग्न अधिकृत बताउँछन् । उनी त्यहाँबाट चीन प्रवेश गर्न खोजेका थिए तर सुरक्षा व्यवस्था कडा भएकाले काठमाडौं फर्किएको प्रहरीको विश्लेषण छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रवेश गरेलगत्तै उनी प्रहरीको फन्दामा परे । सीसीटीभी फुटेज बोकेर उनीहरुको खोजी गरिरहेको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट ६ हजार अमेरिकी डलर पनि बरामद भएको छ ।

यो पनि पढ्नुहोस एउटा चाबी, जसले खोल्यो चिनियाँ ह्याकरको रहस्य

मनी एक्सचेन्ज सञ्चालक पनि पक्राउ

यस्तै चिनियाँ नागरिकले पैसा साट्न प्रयोग गरेको दुई मनी एक्सचेन्जका तीन जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले डेक्सो मनी एक्सचेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपाल मनी एक्‍सचेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र म्यानेजर रेवती दवाडीलाई पक्राउ गरेको हो ।

एटीएम सिस्टम ह्याक गरेर रकम चोरेका चिनियाँहरुले मनी एक्सचेन्जमा २९ लाख ९९ हजार नेपाली रुपैयाँ साटेर २५ हजार ८ सय ६२ अमेरिकी डलर लिएका थिए । गैरकानुनी रुपमा सटही गरेको नगदसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

चोरिएको सबै रकम बरामद भयो

मनी एक्सचेन्ज सञ्चालकहरु पक्राउसँगै एटीएम प्रणाली ह्याक गरेर चोरिएको सबै रकम बरामद भएको प्रहरीले बताएको छ । नेपाल राष्ट्र बैंकले चोरी भएको बताए बराबर रकम बरामद काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले बताए ।

राष्ट्र बैंकले विभिन्न बैंकको एटीएम प्रणाली ह्याक गरेर १ करोड ६८ लाख रुपैयाँ चोरिएको जनाएको थियो ।

शनिबार मध्यराति चलाएको अपरेशनका क्रममा पक्राउ परेका पाँच चिनियाँ नागरिकबाटै एक करोड २६ लाख २९ हजार नेपाली रुपैयाँ, हङकङ डलर ८०, चाइनिज युआन ११ सय ९१, केही अमेरिकी डलर, युरो र कम्बोडियाको मुद्रा बरामद गरेको थियो । चिनियाँ समूहका लुक्ली पक्राउ गर्दा ६ हजार अमेरिकी डलर बरामद भयो भने मनी एक्सचेन्ज सञ्चालकबाट २९ लाख ९९ हजार रुपैयाँ ।

प्रहरीका अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेका छ जना चिनियाँ नागरिक भरिया मात्र हुन् । उनीहरुलाई काम सम्पन्न गरे १० हजार युआन र १० प्रतिशत कमिशन दिने सहमतिमा नेपाल पठाएको बयानबाट खुलेको छ । मुख्य योजनाकार स्पेन छन् र उनले नेपाली बैंकिङ प्रणालीमा ‘मालवेर एट्याक’ गरेको देखिएको छ ।

यो पनि पढ्नुहोस स्पेनबाट भएको थियो नेपालको एटीएम ह्याक

चिनियाँ दूतावासको चासो

यसैबीच यो घटनाबारे काठमाडौंस्थित चिनियाँ दूतावासले चासो देखाएको छ ।

प्रहरी स्रोतकाअनुसार दूतावासबाट आएको टोलीले हिरासतमा रहेका अभियुक्तलाई भेटेको छ ।

स्रोतका अनुसार दूतावासबाट आएका अधिकारीहरुले काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीलाई पनि भेटेर अनुसन्धानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । सुवेदीले भने दूतावासका अधिकारीले भेट्नु सामान्य प्रकृया भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment