Comments Add Comment

स्कुलबाट हराएका बालक चार दिनपछि भारतमा भेटिए

१७ भदौ, वीरगञ्ज । वीरगञ्ज पावरहाउसस्थित जिएचपी स्कूलबाट गत बिहीबारदेखि हराएका बालक अमितकुमार चौरसिया भेटिएका छन् । प्रहरी र स्कूल प्रशासनले भारत बिहारको सुगौली रेल्वे स्टेशनमा अमितलाई फेला पारेको हो ।

पर्सा प्रहरीको रोहबरमा सोमबार साँझ बालकलाई परिवारको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम थापाले बताए ।

कालीकामाई गाउँपालिका-२ भेडिहारीमा बिहीवार लागेको मेला हेर्न इच्छा जाहेर गरे पनि परिवारजन लिन नआएपछि रिसाएर हिँडेको अमितले बताएका छन् ।

‘गाउँमा लागेको मेला हेर्न म पनि जान्छु भनेका रहेछन् । तर, परिवार लिन नआएपछि उनी रिसाएर स्कुलबाट निस्केर हिँडेछन्,’ डीएसपी थापाले भने, ‘स्कुल, परिवार र प्रहरीको आपसी समन्वयले बच्चा भेटियो, त्यही राम्रो भयो ।’

अमितका काका पन्नालाल चौरसियाले पनि अमितले मेला हेर्न नलगेको गुनासो गरेको सुनाए । ‘धेरै कुरा त गर्न पाएका छैनौं तर मेला हेर्न नपाएकोले स्कुलबाट हिँडेको भनेको छ,’ उनले भने, ‘सम्झाउने बुझाउने काम गर्दैछौं ।’

खोज्न जाने क्रममा सुगौली रेल्वे स्टेशनमा रक्सौलतर्फ आउँदै गरेको सत्याग्रह एक्सप्रेसमा अमितलाई स्कूलका कर्मचारी प्रेमचन्ऽ गुप्ताले देखेका थिए । त्यसपछि उनलाई वीरगञ्ज ल्याइएको थियो । ‘हामी उसलाई खोज्न नरकटियागञ्ज जान लागेका थियौं,अर्को ट्रेनबाट ऊ रक्सौलतर्फ आउँदै रहेछ,’ गुप्ताले भने, ‘ सम्झाइ बुझाइ गरेर वीरगञ्ज ल्यायौं ।’

अमितले आफू दिल्ली पुगेर फर्केको बताएका छन् । होष्टलमा बस्दै आएको बच्चा गायब भएपछि स्कूलले खोजीका लागि गुप्तासहितको टोलीलाई भारत पठाएको थियो ।

स्कूलबाट भागेर रक्सौल रेलवे स्टेशन हुँदै दिल्लीसम्म पुगेको र फर्किएर रक्सौल आउने क्रममा खोजतलास टोलीले फेला पारेको जीएचपी विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment