+
+
Shares

एकल महिलासँग २० लाख फिरौती माग, अपहरण र विस्फोटको धम्की

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते १९:३१

१७ भदौ, काठमाडौं । प्रहरीले धम्की दिएर २० लाख रुपैयाँ असुली गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको वेनिघाट घर भई काठमाडौंको नयाँ बजार बस्ने २७ वर्षका सन्तोष कँडेल छन् ।

काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीका अनुसार कँडेलले स्युचाटारकी रन्जु त्रिपाठीलाई रकम लिएर बालाजु पुलमा नआए वा प्रहरी र आफन्तलाई जानकारी गराए छोरीलाई सिध्याइदिने र घरमा पनि बम राखेर उडाइदिने धम्की दिएका थिए । त्रिपाठी एकल महिला हुन् ।

तर, पीडितले समयमै दिएको सूचनाका कारण धम्क्याउने व्यक्तिलाई महानगरीय प्रहरी वृत्त, कालिमाटीले पक्राउ गर्न सफल भएको छ ।

कालिमाटीका प्रहरी प्रमुख डीएसपी रुँगम कुँवरका अनुसार पक्राउ परेका कँडेलविरुद्ध फिरौती असूलीको कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ ।

भाइटीका लगाइदिएकी थिइन्

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार पक्राउ परेका कँडेल त्रिपाठीलाई नजिकबाट चिन्थे । कुनै समय त्रिपाठीको हातबाट उनले भाइटीका समेत लगाएका थिए ।

५ वर्षअघि श्रीमान्को मृत्यु भएको थाहा पाएका कँडेललाई त्रिपाठीको ३ छोरीको अवस्थाबारे पनि जानकारी थियो । ‘ती सबै विवरण उनले धम्की दिएको चिठीमा पनि उल्लेख गरेका थिए’, अनुसन्धानमा संलग्न अधिकृत भन्छन्, ‘त्यसैले नजिककै व्यक्तिले त्रिपाठीलाई धम्क्याएको हुनसक्ने हाम्रो अनुमान थियो ।’

नभन्दै त्रिपाठीको घर छेऊको एक सीसी टीभी क्यामरामा समेत उनी कैद भएको भेटिएका थिए । ‘घर छेऊ आएर एक जना बच्चालाई चिठी पठाउन लगाएको रहेछ’, प्रहरी भन्छ, ‘पक्राउ परिसकेपछि उनको घरमा खनतलासी लिँदा कागज च्यातिएको डायरी पनि बरामद भएको छ ।’

अनुसन्धान अधिकृतका अनुसार चिठी दिन घर छेऊ पुग्दा कँडेल जुन हुलियामा थिए, मंगलबार पक्राउ पर्दा पनि उही टोपी, टिसर्ट र जुत्तामा समातिका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?