Comments Add Comment

अन्डरवर्ल्ड डनसँग प्रेम गर्ने अभिनेत्रीहरुको के भयो भविष्य ?

नेटफ्लिक्सबाट सार्वजनिक भएको वेब सिरिज सेक्रेट गेम्स-२ मा मुम्बईका माफिया डन गणेश गायतोन्डे जब प्रहरी र अन्य एजेन्सीबाट भागी-भागी हिँड्छन्, त्यही बेला उनले आफ्नी प्रेमिका जमीलालाई अभिनेत्री बनाउन फिल्ममा लगानी गर्छन् । वास्तवमा, यो केवल फिल्म तथा वेब सिरिजको मात्र कुरा होइन, वास्तविक जिन्दगीमा समेत बलिउड र अन्डरवर्ल्डको अन्तरंग सम्बन्ध रहँदै आएको छ । जहाँ अन्डरवर्ल्ड बलिउडका अभिनेत्रीप्रति मरीमेट्थे, त्यही थुप्रै अभिनेत्रीहरुले आफ्नो करियरलाई चम्काउनका लागि अन्डरवर्ल्डको सहारा लिएका थिए ।

सन् १९८० र ९० को दशकमा अखबारहरुमा सुन्दरी र अपराधको सम्बन्धबारे धेरै लेखहरु लेखिए । त्यसो त, बलिउडका अभिनेत्रीहरु र अन्डरवर्ल्डको सम्बन्धका थुप्रै कथाहरु खुला रुपमा सार्वजनिक भएका छैनन्, तर यी पाँच अभिनेत्रीहरुको अन्डरवर्ल्डसँगको सम्पर्कबारे भने धेरै कुरा लेखिएको छ ।

सोना र हाजी मस्तान

हाजी मस्तानलाई वास्तविक रुपमा मुम्बईको पहिलो ठूला ग्याङ्स्टर मानिन्छ । तमिलनाडुको एउटा गरिब किसान परिवारबाट आएका मस्तान कुनै बेला मुम्बई हुलाकमा कुल्लीको काम गर्दथे । त्यहीँ काम गर्ने क्रममा मस्तानले विदेशहरुबाट आउने सामानहरुको तस्करी समेत गर्न थाले । करिव १० वर्षमा उनी मुम्बईको समुद्रको राजा नै बने र ‘मस्तान भाइ’ अथवा ‘हाजी मस्तान’ भनिन थाले ।

रबिनहुडको जस्तो छवि राख्ने हाजी मस्तानलाई फिल्मी संसारमा निकै लगाव थियो । उनको १९७० को दशकका ठूला-ठूला कलाकारहरुसँग राम्रो मित्रता थियो । मस्तानलाई अभिनेत्री मधुवाला निकै मन पर्थिन् । उनी मधुवालासँग विवाह नै गर्न चाहन्थे, तर त्यस्तो हुन पाएन । मधुवालाको निधनपछि बलिउडमा शाहजहाँ बेगम अर्थात सोना नाम गरेकी एक अभिनेत्री आइन् । सोना ठ्याक्कै मधुवालाजस्तै देखिन्थिन् । मस्तानले सोनालाई पनि विवाहको प्रस्ताव पठाए, जसलाई सोनाले स्विकार पनि गरिन् । दुवैको विवाह भयो ।

मस्तानले सोनाको बलिउड करियर बनाउन पैसासमेत लगाए, तर सोनाले फिल्महरुमा त्यति सफलता पाइनन् । सन् १९९४ मा हृदयाघात भएपछि हाजी मस्तानको निधन भयो । मस्तानको निधनपछि सोनाको जिन्दगी झन् खराब भयो । अगष्ट २०१४ मा सोनाको निधन भयो ।

मन्दाकिनी र दाऊद इब्राहम

मुम्बईका एक प्रहरी जवानका छोरा दाउद इब्राइहिम शहरको डोंगरी क्षेत्रमा स-साना अपराधहरु गर्दा-गर्दै कहिले मुम्बईका सबैभन्दा ठूला डन बने, कसैले थाहै पाएन । दाउदका विभिन्न प्रकारका धन्दाहरुमध्ये एक थियो । बलिउडका फिल्महरुमा पैसा लगाउनु । फिल्म अभिनेत्रीहरु मुम्बईका यी डनको कमजोरी नै थिए । फिल्म ‘राम तेरी गंगा मैली’मा सेतो सारी लगाएर झरनामा नुहाउने अभिनेत्री मन्दाकिनीलाई उनको दाउद-कनेक्सनका लागि पनि चिन्ने गरिन्छ ।

बलिउडका भित्री गल्लीहरुमा दाउदकै आग्रहपछि मन्दाकिनीले धेरै वटा फिल्ममा काम पाएकी थिइन् भनेर चर्चा गर्नेहरुको संख्या कम छैन । भन्नेहरुले त दाउद र मन्दाकिनीले विवाह नै गरेकोसमेत बताए, तर मन्दाकिनीले सधैं नै ती खबरहरुलाई खण्डन गरिन् । सन् १९९० को दशकमा मन्दाकिनीले निर्देशक केग्यूर टी रिम्पोछे तेन्जिङ लुङ्टोकसँग विवाह गरिन् । अहिले उनी मुम्बईकै अन्धेरी क्षेत्रमा एउटा शान्तिपूर्ण जीवन बिताइरहेकी छिन् ।

अनिता अयुब र दाउद इब्राहिम

सन् १९८० को दशकमा मुम्बईका डन दाउद इब्राहिमको फिल्मी अभिनेत्रीहरुप्रति निकै नै रुचि हुने गर्दथ्यो । भनिन्छ, मन्दाकिनीसँग ब्रेकअप भएपछि दाउदको जिन्दगीमा पाकिस्तानी अभिनेत्री अनिता अयूब आइन्, जसलाई अभिनेता देव आनन्दको खोज समेत भनिन्छ ।

अनिता र दाउदको सम्बन्ध सन् १९९५ मा फिल्म निर्माता जावेद सिद्दिकीको हत्यापछि मात्रै चर्चामा आएको थियो । मानिसहरुको भनाइलाई विश्वास गर्ने हो भने जावेद सिद्दिकीको हत्या दाउदले गराउने कारण पनि अभिनेत्री अनिता नै थिइन् । सिद्दिकीले अनितालाई उनका फिल्महरुमा नलिएकै कारण दाउदले उनको हत्या गराएको आरोप छ ।

फिल्महरुमा अपेक्षित सफलता नपाएपछि अनिताले सौमिल पटेल नाम गरेका भारतीयसँग विवाह गरिन् र न्यूयोर्कतर्फ प्रस्थान गरिन् । केही समयपछि उनीहरुको डिभोर्स भयो र अनिताले पाकिस्तानी बिजनेसम्यान सुबुक मजिदसँग विवाह गरिन् । यतिबेला उनी चर्चाहरुभन्दा टाढा छिन् । अनिता कहाँछिन्, यसबारेमा कसैलाई पनि ठ्याक्कै थाहा छैन ।

मोनिका वेदी र अबू सलेम

सन् १९९५ मा फिल्म ‘सुरक्षा’ मार्फत बलिउडमा डेब्यू गर्ने अभिनेत्री मोनिका वेदीले ‘प्यार इश्क और मोहब्बत’ तथा ‘जोडी नम्बर वन’ जस्ता चर्चित फिल्महरुमा समेत अभिनय गरिन् । मोनिका वेदीको बलिउड करियर राम्ररी नै चलिरहेको थियो । त्यसको पछाडि अन्डरवर्ल्ड डन अबू सलेमको समर्थन थियो । भनिन्छ, अबू सलेम निर्माता तथा निर्देशकहरुलाई मोनिकालाई आफ्नो फिल्ममा लिनका लागि धम्क्याउँथे ।

मोनिका र सलेमको प्रेमकथाको चर्चा बलिउडका हरेक फिल्मकर्मीले गोप्य शैलीमा गरिरहन्थे । सन् २००२ मा जाली कागजातको सहयोगले पोर्चुगल प्रवेश गर्ने अपराधमा मोनिका र अबू सलेमलाई गिरफ्तार समेत गरियो । त्यहाँ जेलमा रहेकी मोनिकालाई पछि भारत डिपोर्ट गरिएको थियो । जेलबाट छुटेपछि मोनिकाले अबू सलेमसँगको आफ्नो सम्पूर्ण सम्बन्धहरु टुंग्याउँने बताउँदै मनोरञ्जन क्षेत्रमा पुनरागमन गरिन्, जबकि अबू सलेम अहिले पनि जेलमै छन् ।

मोनिका बिग बोस-२ की प्रतियोगीसमेत रहिसकेकी छिन् । उनलाई उनको विवादास्पद विगतका बाबजुद ठूलै धनराशी दिएर बिग बोस-२ मा सहभागी गराइएको थियो ।

ममता कुलकर्णी र विक्रम गोस्वामी

सन् १९९० को दशमा तिरंगा, आशिक आवारा, क्रान्तिवीर, सबसे बडा खिलाडी तथा करण अर्जुन जस्ता थुप्रै सफल फिल्महरुमा अभिनय गरेकी अभिनेत्री ममता कुलकर्णीले आफ्नो बोल्ड चरित्रका कारण दर्शकमाझ राम्रो क्रेज बनाएकी थिइन् । सन् १९९३ मा स्टारडस्ट पत्रिकाका लागि खिचिएको उनको टपलेस तस्वीर पनि निकै चर्चामा आएको थियो ।

अघि बढ्दै जाँदा ममता ड्रग्स व्यवसायी तथा अन्डरवर्ल्डसँग सम्बन्ध राख्ने विक्रम (विकी) गोस्वामीसँगको प्रेम सम्बन्धमा जोडिइन् । ममता उनैसँग घरजम गर्नका लागि मुम्बईबाट दुबई गइन् । सन् २०१३ मा दुबै विवाहसमेत गरे । एक प्रकारले समाचार र चर्चाबाट टाढा भैसकेकी ममताको नाम सन् २०१६ मा त्यो बेला अचानक चर्चामा आयो, जब मुम्बईकै ठाणे प्रहरीले २ हजार करोड रुपैयाँको ड्रग्स र्‍याकेटको भण्डाफोर गर्‍यो । उक्त प्रकरणमा ममतालाई पनि आरोपी बताउँदै उनकाविरुद्ध गैरजमानत वारेन्ट पनि जारी गरिएको थियो । त्यसो त ममताले विकी गोस्वामीसँगको सम्बन्ध र ड्रग स्मग्लिङसँग कुनै पनि प्रकारको सम्बन्ध भएको कुरालाई अस्वीकार गर्दै आएकी छिन् ।

यी पाँच अभिनेत्रीहरुको बारेमा इन्टरनेटमा समेत धेरै कुरा पढ्न पाइन्छ, तर यीबाहेक अन्य केही अभिनेत्रीहरुको समेत अन्डरवर्ल्डसँग सम्बन्ध थियो । तीमध्ये एक अभिनेत्री थिइन्, जसको अफेयर छोटा राजनसँग चलेको थियो । त्यसो त उनी अहिले विवाह गरेर घरजम गर्न थालिसकेकी छिन् ।

एक अभिनेत्रीकी बहिनीको बारेमा के भनिन्छ भने उनले दुबईमा बसोबास गर्ने दाउद ग्याङका एक नार्कोटिक्स स्मगलरसँग विवाह गरेकी छिन् । उनलाई भेट्नका लागि उनी मुम्बईबाट दुबई आउने-जाने गरिरहन्छिन् ।

भनिन्छ, फिल्महरुमा रुचि राख्ने भोपालकी एक युवती अर्चना शर्माको नाम ग्याङस्टर बबलू श्रीवास्तवसँग जोडिएको थियो । छोटा राजनका सहयोगी बन्टी पाण्डे पनि ग्ल्यामर क्षेत्रमा करियर बनाउन चाहने एक युवतीसँगको प्रेम सम्बन्धमा थिए । बलिउड र अन्डरवर्ल्डका बारेमा जति पनि कथाहरु सार्वजनिक भएका छन्, तिनमा धेरै वटा रहस्यहरु लुकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment