Comments Add Comment

बेचबिखन प्रभावित देशभरका महिला राजधानीमा, राष्ट्रिय सञ्जाल बनाउने

१८ भदौ, काठमाडौं । बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला बुधवार ललितपुरमा शुरु भएको छ । सातै प्रदेशका एक सय जना भन्दा बढी बेचबिखन प्रभावितहरुको सहभागिता रहेको सम्मेलनले ‘बेचबिखन प्रभावितहरुको राष्ट्रिय सञ्जाल बनाउनेछ ।

सम्मेलनको उद्घाटन गर्दै महिला वालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले मानव बेचबिखनको कलंकबाट मुक्त हुन सरकार सबैसँग सहकार्य गरेर अघि बढ्न तत्पर रहेको बताइन् । उनले बेचबिखन प्रभावितहरुको भेला आफैंमा यो अपराधविरुद्धको अभियान हने बताइन् ।

शक्ति समूह आयोजक र एट्वीन सन्जाल सहआयोजक भएर आयोजना गरिएको भेलामा नेपाल प्रहरीका डीआइजी शैलेश थापाले मानव बेचबिखनको शैली फेरिदा चुनौती पनि बढ्दै गएको भन्दै बेचबिखनविरुद्धको अभियानमा प्रहरीलाई सबैको साथ चाहिएको बताए ।

बेचबिखन विरुद्धका अभियन्ता डा. रेणु अधिकारी, भगवती नेपाललगायतले बेचबिखन प्रभावित महिलाको स्वदेश फिर्ती र पुनस्र्थापनामा अझै कानुन बलियो नभएकोतर्फ ध्यानाकर्षण गराए ।

सो अवसरमा संसदको राज्य व्यवस्था समिति सभापति शशी श्रेष्ठ र महिला समिति सभापति निरु पालले पनि बेचबिखन प्रभावितहरुको पुनस्र्थापना तथा स्वदेश फिर्तीका लागि संसदबाट कानुन बनाउनुपरेमा आफूहरुले पहल गर्ने बताएका थिए ।

शक्ति समूहकी अध्यक्ष बालकुमारी दर्लामीले बेचबिखनविरुद्धको अभियानमा राज्यको नेतृत्व हुनुपर्ने बताइन् । उनले बेचबिखन प्रभावितहरुको राष्ट्रिय सञ्जालमार्फत स्थानीय तहसम्म जाने बताइन् ।
भेला विहीबार सम्पन्न हुने र शुक्रबार पत्रकार सम्मेलनमार्फत भावी कार्ययोजना सार्वजनिक गरिने आयोजक शक्ति समूहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment