Comments Add Comment

भरतपुर महानगरमा बिजुलीको तार भूमिगत गरिने

तत्काल १ अर्वको काम गरिने

१८ भदौ, चितवन । नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालिकामा विद्युत वितरण प्रणालीलाई भूमिगत गर्ने भएको छ ।

प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा महानगरपालिकाका २९ वटै वडामा भूमिगत विद्युत वितरण प्रणालीको योजना निर्माण कार्य अघि बढाएको हो ।

महानगरपालिकाभित्र कसरी भूमिगत लाइन विछ्याउन सकिन्छ भन्नेबारेमा विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवालसहितको टोलीले महानगरपालिका प्रमुख रेनु दाहालसहितका पदाधिकारीहरुसँग छलफल गरेको छ । महानगरपालिका सबै क्षेत्रमा भूमिगत विद्युत वितरण गर्ने लक्ष्य रहेपनि त्यसलाई चरणबद्ध रुपमा काम अघि बढाउने योजना प्राधिकरणको रहेको छ ।

चार महिनाभित्र नै सबै डिपिआरको काम सकिने मेयर दाहालले जानकारी दिइन् । काठमाडौं महानगरपालिकापछि विद्युत लाइन भूमिगत गर्ने योजनामा भरतपुरलाई प्राथमिकतामा राखिएको सिलवालले बताए ।

‘महानगरको सबै विद्युत लाइनलाई भूमिगत बनाउने योजना अहिले बनाउछौं, एकै पटक सबै ठाउँमा काम गर्न बजेटले भ्याउदैन,’ उपकार्यकारी निर्देशक सिलवालले भने, ‘तर चरणवद्ध रुपमा काम हुँदै जान्छ ।’

प्राधिकरणले पहिलो चरणमा नारायणगढको नारायणगढ वसपार्कदेखि पुल्चोक र चौविसकोठी हाकिमचोकसम्मको मूल सडकमा रहेका विद्युतको तारलाई भूमिगत गर्ने गरी योजना अघि बढाएको छ ।

शहरी सौन्दर्यता समेत कायम गर्ने गरी यो क्षेत्रमा पहिलो चरणमा काम गरिने महानगरपालिकाकी मेयर रेनु दाहालले जानकारी दिइन् । ‘विद्युत प्राधिकरणले भरतपुरलाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ’ मेयर दाहालले भनिन्, ‘भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म भूमिगत लाइन विछ्याउने काम अझ बढी आवश्यक छ । काम अघि बढ्छ ।’

एडीबीको एक अर्वको प्रोजेक्ट यसै बर्षदेखि भरतपुर महानगरमा सञ्चालन गरिने सिलवालले बताए । उनले यसका लागि परामर्शदाता चयनदेखि ठेक्काको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

विद्युत लाइन भूमिगत गर्दा सडक खन्ने काम नगरिने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बताए । ‘एक सयदेखि दुईसय मिटरसम्ममा तार निकाल्ने गरी जमिनमुनी प्वाल बनाउँछौं, सबै सडक भत्काउँदै हिँड्दैनौ,’ वितरण केन्द्रका प्रमुख महतोले भने, ‘यसले दोहोरो तेहेरो क्षति गदैन, स्रोतको दुरुपयोग पनि हुँदैन ।’

प्राधिकरणले भूमिगत तार विछ्याउँदा नेपाल टेलिकम, केवुल प्रदायक कम्पनी र इन्टरनेट कम्पनीसँग पनि समन्वय गर्ने योजना बनाएको छ । उनीहरु सबैका तारलाई क्यानलबाट घुसाउने योजना रहेको वितरण केन्द्रका प्रमुख महतोले बताए । प्राधिकरणले यही क्रममा भरतपुर विमानस्थलको पूर्वतर्फको अवरोधका रुपमा रहेको विद्युतको हाइएक्सटेन्सन लाइनलाई भूमिगत बनाउने योजनामा समेटेको छ ।

महानगरका प्रमुख दाहालले विद्युतसहित इन्टरनेट र टेलिकमका तारहरु पनि भूमिगत गर्दा भरतपुर र नारायणगढ बजारको सौन्दर्यकरण भइ आर्कषक देखिने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment