Comments Add Comment

प्रि-म्यारिज काउन्सिलिङ पनि आवश्यक

राहुल एउटा औषधि बनाउने कम्पनीमा काम गर्छन् । उनले आफ्नो विवाहको लागि स्विकृती त दिए, तर भित्र-भित्रै उनलाई आफूले गलत निर्णय लिएको महसुस हुन थाल्यो । बारम्बार उनलाई विवाह गर्ने युवती सुन्दर नभएको कुराले मन पोल्न थाल्यो । राहुलको भिनाजुसँग अति नै राम्रो सम्बन्ध थियो । उनीहरु एक-अर्कासँग घनिष्ट थिए । राहुल आफ्नो भिनाजुलाई अति नै विश्वास गर्थे । जब राहुल विवाहको लागि युवती हेर्न गए, त्यो समयमा कुनै कारणवस राहुलका भिनाजु सहभागी हुन सकेका थिएनन् । सबैको समर्थनका कारण राहुल पनि विवाहको लागि सहमत भएका थिए, तर अब उनी यो सम्बन्धप्रति निश्चिन्त छैनन् ।

राहुलको द्विविधालाई हटाउन उनको भेट एक जना परामर्शदाता (काउन्सिलर) सँग गराइयो । राहुलले त्यहाँ आफ्नो मनका सबै कुरा भने । राहुललाई विवाह गर्ने युवती सुन्दर नभएको र ती युवतीसँग विवाह भयो भने उनलाई जीवनभर खुशी राख्न नसक्ने बताए । अन्त्यमा त्यो सम्बन्ध तोडियो । विवाह अगाडि सल्लाह लिएको कारण दुईवटा जीन्दगी बिग्रनबाट बचे ।

विवाह एउटा त्यस्तो अटुट सम्बन्ध हो, जसमा दुई व्यक्ति जीवनभरका लागि सधैं साथ रहन्छन् । तर, त्यही अटुट सम्बन्ध दुईबीच उत्पन्न भएको मनमुटावका कारण टुक्रन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । त्यसैले वैवाहिक सम्बन्धमा उत्पन्न हुने तनावहरुबाट बच्नका लागि विवाहपूर्व गरिने प्रि -म्यारिज काउन्सलिङ आवश्यक हुन्छ ।

पश्चिमा देशहरु जस्तै नेपालमा पनि सम्बन्ध विच्छेदका घटनाहरु बढ्न थालेका छन् । यसको प्रमुख कारण नयाँ पिँढीको सोचाइ र जीवन आफ्नो हिसाबले जिउने तरिका पनि हो । आज उनीहरु आफ्नो इच्छा र चाहना दबाउनुभन्दा आफ्नो हकका लागि लड्ने गर्छन् । दाम्पत्य जीवनमा पनि श्रीमान्-श्रीमती आफ्नो इच्छा पूरा नभएका कारण सम्बन्धविच्छेद गर्नतर्फ आकर्षित हुन्छन् ।

सम्बन्धविच्छेदको सबैभन्दा ठूलो कारण भनेको नै श्रीमान्-श्रीमतीबीचको शारीरिक, मानसिक र भावनात्मक कुराहरु नमिल्नु हो । ती कुराहरुको नतिजा आज धेरै दाम्पतीहरुबीच मनमुटाव हुन थालेको छ ।

प्रेम गर्नु र सम्बन्धमा बाँधिनु सजिलो हुन्छ, तर त्यसलाई निभाउन गाह्रो हुन्छ । विवाहपछि कसरी भावनात्मक रुपले सुदृढ र शारीरिक रुपले सन्तुष्ट सम्बन्ध कायम गर्नुपर्छ भन्ने कुरा विवाहपूर्व कसैले पनि भनेका हुँदैनन् । हाम्रो देशमा अहिले पनि आमा-बुबा, भाइ-बहिनीहरु खुलेर विवाहसँग सम्बन्धित कुराहरु गर्दैनन् ।

प्रि -म्यारिज काउन्सलिङको उद्देश्य युवा पिँढीलाई विवाह बन्धनको बारेमा पूर्णरुपले जानकारी गराउनु हो । जसबाट युवा-युवती एक-अर्काप्रति सम्मान राख्दै स्नेहपूर्ण र मर्यादित सम्बन्ध बाँच्न सकोस् भन्ने हो ।

वैवाहिक जीवन सुखद बनाउनका लागि स्वस्थ यौन सम्बन्धको जानकारी अति आवश्यक हुन्छ । आज पनि हाम्रो देशका विद्यालयहरुमा यौन शिक्षा दिने चलन छैन, जसका कारण श्रीमान्-श्रीमती एक-अर्काको आवश्यकतालाई बुझ्न र सही तरिकाले सम्बन्ध कायम गर्न प्रि -म्यारिज काउन्सलिङको आवश्यकता हुन्छ ।

हामी प्रि -म्यारिज काउन्सलिङको अवधारणाको प्रारम्भिक अवस्थामा छौ । आजको पिँढी भविष्यप्रति धेरै नै ध्यान दिने गर्छ । उनीहरु आफ्नो पेशा-व्यवसायमा कुनै किसिमको अवरोध नआओस् भन्ने चाहन्छन् । उनीहरु मानसिक रुपमा सशक्त हुँदैनन्, त्यसैले व्यक्तिगत सम्बन्ध होस् अथवा सार्वजनिक यी कुराहरुलाई बु्झ्ने उनीहरुसँग समय र दिशा हुँदैन । उनीहरु प्रारम्भमा आफ्नो भावि जीवनसाथीको अनुहार हेर्छन्, आकर्षणलाई महत्वपूर्ण ठान्छन् । तर यी कुराहरु भन्दा विवाहको लागि आवश्यक कुरा भनेको राम्रो व्यवहार र आचरण हो ।

अहिले विवाह अगाडि नै काम र व्यवहारको बारेमा स्पष्ट कुरा हुनु आवश्यक छ । आजको दिनमा जति एक पुरुषको लागि आफ्नो काम महत्वपूर्ण हुन्छ, त्यति नै महिलाको लागि पनि आफ्नो काम महत्वपूर्ण नै हुन्छ । यदि दाम्पत्य जीवनमा यो कुरामा तालमेल भएन भने मतभेद हुन थाल्छ ।

आज विवाहको अर्थ श्रीमान्-श्रीमती दुवैको समान रुपले विकास हुनु हो । विवाह भनेको एक-अर्कालाई जस्तो छ त्यहीरुपमा स्वीकार्नु हो । आज महिला-पुरुष दुवै एक-अर्काको स्वतन्त्र सोच राख्छन् र आत्मनिर्भर भएर आत्म-सम्मानका साथ जीवन बिताउन चाहन्छन् । त्यस्तो स्थितिमा प्रि -म्यारिज काउन्सलिङ अति नै प्रभावकारी माध्यम भएको छ । प्रि -म्यारिज काउन्सलिङमा घरपरिवार, जागिर, उत्तरदायित्व र सम्झौताको बारेमा कुराकानी गरिन्छ ।

त्यस्तै यौन सम्बन्धको बारेमा पनि महिला पुरुषमा अनेक प्रश्नहरु पनि उत्पन्न हुन्छ । नव दम्पतीहरुलाई यौन सम्बन्धको जानकारी नहुनाले विवाह भएको धेरै समयसम्म पनि यौन सम्बन्ध कायम गर्न सक्दैनन् । त्यस्तै महिलाहरुको (हाइमन) कुमारित्व झिल्ली कुनै कारणले फाट्यो भने त्यस्तो अवस्थामा यौनसम्बन्ध गर्दा रक्तस्राव हुनु पर्छ भन्ने जरुरी छैन । रक्तस्राव नहुँदैमा उनले पहिले नै अर्कै व्यक्तिसँग यौनसम्पर्क गरिसकेकी छिन् भन्ने निष्कर्ष निकाल्नु हुँदैन । किनभने महिलाहरुले खेलकुदमा भाग लिँदा, शारीरिक व्यायाम गर्दा, साइकल चलाउँदा पनि हाइमन फाट्ने गर्छ ।

जो नवविवाहित हुन्छन् र छिटो सन्तान जन्माउन चाहँदैनन्, उनीहरुलाई विभिन्न गर्भनिरोधबारे पनि जानकारी आवश्यक हुन्छ । विवाहभन्दा पहिला महिलालाई गर्भ निरोधक चक्की दिन शुरु गरिन्छ, जसका कारण विवाह पछि उनी तनावग्रस्त हुँदैनन् ।

विवाहभन्दा अगाडि यौनसम्बन्धको बारेमा स्वस्थ जानकारी हुनु अति नै आवश्यक हुन्छ, किनभने यो एउटा सम्वेदनशील विषय हो, जसको बारेमा महिला-पुरुष दुवैको मनमा एक प्रकारको छटपटी हुने गर्छ । त्यस्ता कुराहरुको बारेमा पनि प्रि -म्यारिज काउन्सलिङले जानकारी दिने गर्छ ।

वास्तवमा प्रि -म्यारिज काउन्सलिङको अवधारणा पाश्चात्य सभ्यताको देन हो, तर हरेक देश र समाजमा यसको आवश्यकता हुन्छ । विशेष गरेर हाम्रो जस्तो देश, जहाँ अहिले पनि विवाहप्रति आमा-बुबा र छोरा-छोरीको मनमा पूर्वाग्रह हुन्छ, यहाँ प्रि -म्यारिज काउन्सलिङद्वारा उनीहरु विवाहभन्दा पहिले नै आफ्नो जीवन साथीको कमी-कमजोरी, खुबीहरु र चाहनाहरुको बारेमा बुझेर विवाहपछिको सम्बन्धलाई सुमधुर बनाउन सफल हुन सकुन् । जसका कारण उनीहरु विवाहपछि कुन स्तरमा र कति सामन्जस्य गर्नु आवश्यक हुन्छ भन्ने कुरामा पनि स्पष्ट हुन सक्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment