Comments Add Comment

नेपालले जिम्बाब्वे र सिंगापुरसँग त्रिकोणात्मक सिरिज खेल्ने

२० भदौ, काठमाडौं । नेपालले टेष्ट राष्ट्र जिम्बाब्वे र सिंगापुरसँग त्रिकोणात्मक टी-२० क्रिकेट सिरिज खेल्ने भएको छ ।

सिंगापुर क्रिकेट संघको आयोजना हुने सिरिजमा नेपालले पनि खेल्ने भएको हो । तर नेपालले सहभागिता जनाउने बारे अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अहिले नै स्वीकृति दिइसकेको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) निलम्बन भएको अवस्थामा आईसीसीले नेपाली क्रिकेट प्रत्यक्ष रुपमा हेर्दै आएको छ ।सिरिज सेप्टेम्बर २७ गतेबाट अक्टोबर ३ सम्म हुनेछ । सिरिज डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।

सिंगापुरले २०२० मा टी-२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्दैछ । त्यहि छनोटलाई मध्यनजर गर्दै यो त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

नेपालले भने यो सिरिज खेलेको खण्डमा त्यहिबाट ओमान प्रस्थान गर्नेछ । किनभने नेपालले ओमानमा अक्टोबर ५ देखि १० तारिखसम्म अर्को टी-२० क्रिकेट सिरिज खेल्दैछ । ओमान क्रिकेट संघको आयोजनामा हुने सिरिजमा टेष्ट नेशन राष्ट्र आयरल्यान्डसँगै आयोजक ओमान, नेपाल, हङकङ र नेदरल्यान्ड रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment