Comments Add Comment

कांग्रेसलाई लाग्यो उपचुनाव, नेताहरु भन्छन् – कुनै हालतमा जित्नुपर्छ

Photo Credit : रासस

२० भदौ, काठमाडौं । नेपाली कांग्रेसका शीर्षनेताहरुले आगामी मंसिर १४ मा हुने उपचुनाव कुनै हालतमा जित्नुपर्ने बताएका छन् ।

कांग्रेसको नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले कांग्रेस एक भए कसैले हराउन नसक्ने बताए ।

सभापति देउवाले भक्तपुर ऐतिहासिक ठाउँ भएको भन्दै जितको सुरुवात भक्तपुरबाटै गर्नुपर्ने बताए । उनले भने, ‘पार्टी एक भयो भने यहाँ पनि चुनाव जित्छौं ।’

टिकट नपाउने धेरै हुने र उनीहरु हराउन लाग्ने हो कांग्रेसले जित्न नसक्ने भन्दै सभापति देउवाले भने, पार्टी किन हार्‍यो हिजो ? पार्टीमा साँच्चै एकता छ ? एकता हुँदाहुँदै हारेको हो ? भन्दै उनले भने, एकले अर्कालाई हराउन लागेकै हो ।’

चुनावमा अन्तरघात गर्नेलाई कारवाही गरी छाड्ने सभापति देउवाले बताए । उनले भने, ‘अन्तरघात गर्ने, पार्टीलाई हराउने माथि कारवाही गर्न खोज्दा कसले रोक्दोरहेछ, त्यसको अनुहार पनि बाहिर आउँछ । म आफैं लान्छु बाहिर ।’

भक्तपुरको निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ मा प्रदेशसभा सदस्यका लागि आगामी मंसिर १४ मा उपचुनाव हुँदैछ ।

यसका साथै कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ भने धरान उपमहानगरपालिकामा मेयरका लागि उप निर्वाचन हुँदैछ ।

गाउँपालिका अध्यक्ष र वडा अध्यक्षसमेत गरी देशभरि ५० स्थानमा मंसिर १४ मा उपनिर्वाचन हुन लागेको छ । यो उपचुनावलाई नेकपा सरकारको लोकप्रियताको मापनका रुपमा हेर्न थालिएका बेला कांग्रेस सभापति देउवाले चुनाव जित्नैपर्ने वकालत गरेका हुन् ।

‘कांग्रेसले खनेको सुरुङबाट सरकारले पानी ल्याउन सकेन’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले जनतालाई विकल्प दिनसक्नुपर्ने बताए । पौडेलले सरकारको चर्को आलोचना गरे ।

‘दुई तिहाई बहुमत ल्याएका छन्, तर प्रदेशको राजधानी तोक्न सक्दैनन्’ पौडेलले भने, ‘हामीले खनिदिएको सुरुङमा पानी ल्याउन सकेको छैन, बरु जनतामाथि गोली बर्साएका छन् ’

बाइडवडीलगायतका अर्बौंका काण्डका टाउकेलाई कारवाही गर्नुको साटो दुई तिहाई देखाएर सर्वोच्च, अख्तियारलाई धम्क्याएर ढापछोप गर्न खोजेको पौडेलले बताए ।

नेता कृष्णप्रसाद सिटौलाले सरकार गलत बाटोमा हिँडेको भन्दै जनमतबाटै तह लगाउनुपर्ने बताए ।

सरकारले जनआन्दोलनमा सँगै हिँडेका दलहरुलाई बिर्सिएको, जनतामाथि डण्डा बर्साउन थालेको तथा संविधानको गलत प्रयोग गरेर राज्य कब्जा गर्न खोजेको सिटौलाको आरोप छ । उनले भने, कम्युनिस्ट धनी भए देश धनी हुन्छ भन्ने बाटोमा हिँडेको छ । हामीले भन्न सक्नुपर्छ, यो देश कम्युनिस्ट पार्टीको मात्र होइन ।’

साथै कांग्रेसले गत निर्वाचनमा गरेको गल्तीहरु आइन्दा दोहोर्‍याउँदैनौं भन्न सक्नुपर्ने सिटौलाले बताए ।

महामन्त्री शशांक कोइरालाले कांग्रेसलाई कांग्रेसमा काम गरेकाहरुले मात्र हराउन सक्ने बताए । उनले भने, ‘हामीले यो चुनाव जसरी भए पनि जित्नुपर्छ ।’

यसैवीच भक्तपुरका कांग्रेस सभापति दुर्लभ थापाले उपचुनावमा कोटको खल्तीबाट उम्मेदवार नतोक्न पार्टी नेताहरुलाई आग्रह गरे । उनले भने, ‘त्यसो गरे हार र जित दुबैको जिम्मा हामी लिन्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment