Comments Add Comment

न्वागीमा रमाउँदै चेपाङ

२२ भदौ, चितवन । अति सीमान्तकृत चेेपाङहरु राष्ट्रिय पर्व न्वागी (छोनाम)मा रमाइरहेका छन् । चेेपाङहरुहरुको बाक्लो बसोवास रहेको चितवन, धादिङ, मकवानपुर, गोरखालगायतका जिल्लामा चेेपाङहरुले आज (आइतवार) र भोलि (सोमबार) न्वागी पर्व मनाउने चेेपाङ संघका केन्द्रीय अध्यक्ष जितेन्द्र चेेपाङले जानकारी दिए ।

न्वागी मनाउने चलन हराउँदै गएको भन्दै चेपाङका गुरु पान्देहरुले संरक्षणका लागि पहल गरिरहेको अध्यक्ष जितेन्द्रले बताए ।

छोनामका नामले समेत चिनिने न्वागी पर्व चेपाङ संघले, चेपाङ समुदायको बसोबास रहेका क्षेत्रमा पालैपालो संस्थागत कार्यक्रम गरि मनाउने गर्दछ ।

चेपाङ संघले २०६८ सालदेखि हरेक वर्ष भदौ २२ गते फरकफरक स्थानमा सामुहिक रुपमा न्वागी पर्व मनाउँदै आएको छ ।

अघिल्लो वर्ष चितवनमा न्वागी मनाएको चेपाङ समुदायले यसपटक मकवानपुरको राक्सिराङ गाउँपालिकाको चैनपुरमा सामुहिक रुपमा भेला भएर यो पर्व मनाएको पूर्वसंविधानसभा सदस्य गोविन्दराम चेपाङले बताए ।

मकवानपुरको राक्सिराङ गाउँपालिकाले आइतबार भदौ २२ गते चेपाङ जातिको न्वागीको अवसरमा गाउँपालिका भर सार्वजनिक बिदा दिएको छ ।

सोमवार चितवनको राप्ती नगरपालिका-१० को किराङटारमा भेला भएर नाँचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाउने कार्यक्रम रहेको उनले बताए ।

छोनाम न्वागी पर्वमा अवसरमा प्रदेश ३ सरकारले सार्वजनिक बिदा दिनुपर्नेमा चेपाङ अगुवाहरुले विगतदेखि नै उठाउँदै आएका छन् ।

चेपाङ संघका पूर्वकेन्द्रीय अध्यक्ष तथा संविधानसभा सदस्य गोविन्द चेपाङले आर्थिक र सामाजिकरुपमा पछाडि परेको चेपाङको पर्वलाई प्रदेश सरकारले उत्सवका रुपमा मनाएर चेपाङ जातिको मनोबल बढाउनुपर्ने भएता पनि बिदा नदिएकोमा दुःख लागेको बताए ।

के हुन्छ न्वागीमा ?

चेपाङहरूको प्रमुख चाड छोनाम ‘न्वागी’ हो । भदौमा नयाँ अन्नबाली, फलफूल पाकेपछि यो पूजा गर्ने गर्छन् ।

केही वर्षयता नेपाल चेपाङ संघको पहलमा भदौ २२ लाई छोनाम राष्ट्रिय पर्वको रूपमा मनाउने गरिएको छ । छोनामको दिन घैयाँ धानको चामल, पिँडालु, निबुवा आदि फलफूलले भूमिलाई पूजा गरी पितृलाई खुवाउने गरिन्छ ।

चेपाङ समुदायमा नयाँ अन्न र फलफूल पितृलाई नचढाइ खाएमा देउता रिसाउँछन् भन्ने धार्मिक मान्यता छ । यसका लागि चेपाङ झाक्री -पाण्दे) हरुले एकपाखे ढ्याङ्ग्रो ठोक्दै कुखुराको बली चढाउने गर्दछन् । यस दिनलाई चेपाङहरुले वारनाको रूपमा मनाउने गर्दछन् । ‘वारनामा कोही चेपाङ काममा निस्कँदैनन्,’ पूर्वसांसद चेपाङले भने ‘घरमै बसेर रमाइलो गरिन्छ ।’

छरछिमेकी, नाताकुटुम्ब निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । चेपाङहरुले न्वागी पर्वलाई पान्देई घ्यासा पनि भन्छन् । भेला भएर उनीहरुले ढ्याङ्ग्रो बजाउने, टीका लगाएर आपसमा आशीर्वाद थाप्ने गर्छन् ।

अहिले उब्जिएको मकै तथा अन्य खाद्यान्न बालीले वर्षभरी खान पुगोस् भनेर कामना गर्ने र आपसमा खुसियाली साटासाट गरेर यो पर्व मनाइने पूर्वसांसद गोविन्दराम चेपाङले बताए ।

उनले दाजुभाइ इष्टमित्रहरू भेला भएर बाजाको तालमा झुम्मिएर रमाइलो गरी यो चाड मनाइने बताए ।

चेपाङहरू मुख्यगरी प्रकृति धर्म मान्छन् । उनीहरू जङ्गलका गिठा-भ्याकुर खाएर जीवन धान्ने भएकाले वनजङ्गलसँग राम्रो साइनो गाँसिएको छ । त्यसैले प्रकृतिको पूजा उनीहरूका लागि महत्वपूर्ण हुन्छ ।

धर्म परिवर्तनले खल्लो बन्दै न्वागी

भूमि, नदी एवम् प्रकृतिको पूजा गर्दै आइरहेका चेपाङ समुदायका धर्म परिवर्तन भुसको आगो जस्तैं गरी फैंलिएको छ ।

चेपाङहरुको गरीवी, अशिक्षा र अज्ञानताको फाइदा उठाउँदै प्रकृति धर्म मान्दैं आएका चेपाङहरुलाई क्रिश्चियन बनाउने लहर चलेको छ । सोही कारणले उनीको मुख्य मौलिक पर्व न्वागी ओझेलमा परेको चेपाङ अगुवाहरुको दुःखेसो छ ।

अधिकांश चेपाङ वस्तीहरुका क्रिश्चियन धर्मको प्रभाव दरिलो बन्दै गएको छ । न्वागी जस्ता महत्वपूर्ण सांस्कृतिक पर्व र पहिचान जोगाउन चेपाङ संघले संस्थागत पहल गरिरहेको नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्ऽ चेपाङले बताए ।

कति छन् नेपालमा चेपाङ ?

राष्ट्रिय जनगणना २०६८ अनुसार चेपाङ जातिको जनसंख्या ६८ हजार ३ सय ९९ जना रहेको छ ।

इलाम, झापा, मोरङ, सुनसरी, भोजपुर, धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली, बारा, पर्सा, ललितपुर, काठमाडौं, धादिङ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, तनहुँ, कास्की, गुल्मी, नवलपरासी, रूपन्देही, दाङ, बाँके र बर्दिया गरी २६ जिल्लामा चेपाङ जातिको बसोबास देखिन्छ ।

चेपाङ बाहुल्य जिल्लामध्ये सबैभन्दा धेरै चितवन जिल्लामा २८ हजार ९ सय ८९ रहेका छन् । चितवनको साविक सिद्धि गाविसलाई चेपाङहरुको राजधानी मानिन्छ ।
अहिले यो कालिका नगरपालिकाको वडा नः १० र ११ मा पर्दछ । यहाँ ९० प्रतिशतभन्दा बढि चेपाङ छन् । चितवनको कुल जनसंख्यामामा चेपाङको संख्या सातौं स्थानमा छ ।

दोस्रो, चेपाङ बाहुल्य जिल्ला मकवानपुरमा १९ हजार २ सय ३३ रहेका छन् । तेस्रो, चेपाङ बाहुल्य जिल्ला धादिङमा १४ हजार ४ सय ९२ रहेका छन् ।

गोरखा जिल्लामा चेपाङको जनसंख्या ३ हजार ४ सय ५४ रहेको छ । सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये चेपाङ पनि एक हो । चेपाङ राप्ती नदी उत्तर, त्रिशूलीपूर्व उठेको महाभारत पर्वत शृंखला वरिपरिको रैथाने वासिन्दा मानिन्छन् ।

मकवानपुर पश्चिम, चितवन उत्तर र धादिङका दक्षिणी भेगमा घना बसोबास छ । यद्यपि चेपाङ जातिलाई भौगोलिक सिमानाभन्दा सामाजिक तथा सांस्कृतिक सिमानाले बाँधेको छ ।

जन्मदेखि मृत्युसम्मको संस्कार भूमिसँग सम्बन्धित छ । उनीहरूको मूलथलो गाउँघर, खोलानाला, भीरपहरा आदिको नाम चेपाङ भाषाबाटै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment