Comments Add Comment

मुख्यमन्त्री राईको प्रश्न : प्रदेशलाई निकालेर संघीयता जीवित रहन्छ ?

२२ भदौ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले संविधान र संघीयता कार्यान्वयन गर्न इमान्दारिताको अभाव देखिएको बताएका छन् । आइतबार प्रदेशसभामा संबोधन गर्दैै उनले संघीयता कार्यान्वयनमा इमान्दारिता नदेखिँदा मुलुक नै कमजोर हुने टिप्पणी गरे ।

उनले प्रदेश आवश्यक नभएको टिप्पणी भइरहेको प्रति पनि असन्तुष्टि जनाए । ‘संघीयताको मुट नै प्रदेश हो,’ मुख्यमन्त्री राईले भने, ‘प्रदेश चाहिँदैन भन्ने टिप्पणी पनि सुनिन्छ । तर संघीयताको मुटु नै प्रदेश हो, के यो निकालेर संघीयता जीवित रहन्छ ?’

मुख्यमन्त्री राईले प्रदेश १ मा भ्रष्टाचार, घुसखोरी, कमिसन र सेटिङको गन्ध आउन नदिने पनि जिकिर गरे । ‘यदि कहीँ कतैबाट घुसखोरी, कमिसन र सेटिङ भएको तथ्यसहित आए १ घण्टाभित्र एक्सन हुन्छ’ उनले भने ।

मुख्यमन्त्री राईले प्रदेशभित्र सुशासन कायम गर्न र भष्टाचार नियन्त्रण गर्न खरो ढंगले उत्रिने पनि जिकिर गरे । उनले जेठ १५ भित्रै बजेट खर्च गरिसक्ने गरी काम अघि बढाएको पनि बताए । बजेटसँगै खर्चको अख्तियारी पनि पठाइसकेको भन्दै मुख्यमन्त्री राईले कामको प्रगति पनि स्थलगत रुपमै हेर्ने बताए ।

मुख्यमन्त्री राईले प्रदेशमा उपलब्ध जग्गाको विषयमा अध्ययन गरी यसलाई कुन क्षेत्रको भनेर छुट्याउने काम गरिने र यसको उपयोगका लागि संघीय सरकारसंग पनि छलफल हुने बताए । कला संस्कृति प्रवद्र्धन गर्न चलचित्र महोत्सव गर्ने योजना पनि मुख्यमन्त्री राईले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment