+
+
Shares

धरहरा पुनर्निर्माणलाई तीव्रता दिन मेयर शाक्यको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २३ गते १३:०१

२३ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पुनर्निर्माण हुँदै गरेको धरहरा र उपाकु जानेबाटोको निरीक्षण गरेका छन् । वडा–२२ का अध्यक्ष चिनकाजी महर्जन, वडा सदस्य अनिल हाडालगायतको टोलीसहित मेयर शाक्यले निरीक्षण गरेका हुन् ।

त्यस क्रममा मेयर शाक्यले धरहरा निर्माणको कामलाई तिव्रता दिन पनि निर्देशन दिए । हरेक वर्ष इन्द्रजात्रा नजिकको द्धादशीमा दिगंवत भएका परिवारको शान्तिका लागि उपाकु गर्ने चलन छ । दिगंवत भएका परिवारको सम्झनामा दियो र धूप–वत्ती बाल्दै उपाकु जाने बाटो धरहरा पुनर्निर्माणपछि लोप हुने हो कि भन्ने आशंका स्थानीयले गरिरहेको भन्दै मेयर शाक्यले उपाकु जानेबाटो सधैँभरी खुला रहने जानकारी समेत गराए ।

वडाध्यक्ष महर्जनले धरहरा पुर्ननिर्माणले उपाकु मार्गमा कुनै अवरोध नहुने प्रष्ट बताए । निरीक्षणकै क्रममा मेयर शाक्यले धरहरा निर्माणका क्रममा केही समस्या भए पहिला वडा समितिमा र त्यसपछि समाधान नभए आफूलाई खबर गर्न समेत निर्माण कम्पनीलाई सुझाव दिए ।

‘धरहरा निर्माणको काममा तपाईंहरुले ढिला–सुस्ती गर्न पाउनुहुन्न,’ मेयर शाक्यले भने, ‘केही समस्या भयो भने पहिला वडा समितिलाई भन्नु, त्यहाँबाट पनि समाधान भएन भने मलाई भन्नु, म सहयोग गर्न तयार छु । तर, जसरी पनि समयमा काम सम्पन्न गर्नुपर्छ ।’

मेयर शाक्यले धरहरा सबैको साझा सम्पदा भएको भन्दै स्थानीय र महानगरपालिका जसरी पनि धरहरा बन्नुपर्छ भन्ने अडानमा रहेको पनि प्रष्ट पारे । ‘यहाँका सम्पदा संरक्षण गर्नुपर्छ भन्ने चिन्ता हामीलाई छ,’ मेयर शाक्यले भने, ‘हामी निर्माण–पुनर्निर्माण पनि गर्छौ । सम्पदा पनि बचाउँछौं ।

त्यसैगरी वडाध्यक्ष महर्जनले धरहरा पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै काममा गति दिन सुझाव दिए । ‘यहाँका स्थानीय हामी हौं, हामी धरहरा निर्माणको पक्षमा छौं,’ उनले भने, ‘केही पाहुना आएर समस्या गर्छन भने त्यो मान्य हुँदैन तपाईँहरु काम नरोक्नुहोस्, सहयोग गर्न हामी तयार छौं ।’

धरहरा निर्माणको ठेक्का पाएको रमन जेभीले निर्माणको २३ प्रतिशत काम सम्पन्न भएको जानकारी दिएको छ । प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले अहिलेसम्म करीब ५४ करोड रुपैयाँ खर्च भएको पनि जानकारी दिए ।

उनले करीब २३ प्रतिशत काम सम्पन्न भएको भन्दै सकेसम्म निर्धारित समयमै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । सो कम्पनीले सन् २०२० को अक्टोवर ७ सम्ममा काम सम्पन्न गर्ने जिम्मेवारी पाएको छ । सो कम्पनीले ३ अर्ब ८ करोडमा धरहरा निर्माण गर्ने ठेक्का पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?