Comments Add Comment

तिलोत्तमा नगरपालिकाले खोल्यो जग्गा कित्ताकाट

२३ भदौ ,बुटवल । लामो समयसम्म रोकिएको जग्गाको कित्ताकाट रुपन्देहीको तिलोत्तमा नगरपालिकाले मापदण्ड बनाएर खुला गरेको छ ।

नगरपालिकाले नेपालमै पहिलो पटक नगरपालिकाभित्र व्यवसायिक रुपमा कम्पनीको नाममा रहेका जग्गामा कित्ताकाट खोलेको दावी गरेको छ ।

केन्द्र सरकारले २०७४ साउन २६ गतेदेखि देशभर अंशबण्डा बाहेकको कित्ताकाट रोकेको थियो । पुनः सरकारले २०७५ पुस २७ गते मापदण्डसहित कित्ताकाट खोलेको भए पनि कार्यान्वयन हुन भने सकेको थिएन ।

तिलोत्तमा नगरपालिकाबाट सुचीकृत भइ दुर्गा लक्ष्मी रियल स्टेट प्रालि आफ्नो नामका भएका जग्गाको कित्ताकाट गरी बिक्री गर्ने अधिकार पाएको छ ।

सरकारले निर्धारण गरेको मापदण्डमै रहेर काम थालिएको रुपन्देही घरजग्गा व्यवसायी संघका अध्यक्ष दशरथ पौडेलले बताए ।

नगरपालिकाले निर्णय गरेपछि पहिलो पटक दुर्गालक्ष्मी रियलस्टेट प्रालिले वडा नम्बर १२ मा यही भदौ १९ गते कित्ताकाट गरेको रुपन्देही घरजग्गा व्यबसायी संघले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

नगरपालिकाका जग्गा विश्लेषण समितिका सभापति तथा वडा नम्बर १३ का अध्यक्ष गणेश न्यौपानेले भने, ‘नगरपालिकाले निर्धारण गरेको मापदण्डअनुसार जग्गा कम्पनीको हुनुपर्ने, कम्तिमा २४ फूटे कालोपत्रे भएको सडक हुनुपर्ने, सडकको दायँबाँया नाली, खानेपानी, बिजुली हुनुपर्ने र जग्गाको क्षेत्रफलको आधारमा २ देखि ५ प्रतिशतसम्म खुल्ला जग्गा हुनुपर्ने मापदण्ड बनाएका छौं ।’

यस्तै कित्ताकाट गर्ने कम्पनीको नगरपालिकामा १० कट्ठासम्मको जग्गामा २ लाख, ३० कट्ठासम्मको जग्गामा ५ लाख र त्यो भन्दा बढी क्षेत्रफलको जग्गामा १० लाख रुपैयाँ धरौटी जम्मा गरेको हुनुपर्ने न्यौपानेले बताए ।

२०७६ वैशाख २६ गते नगरपालिकाको बैठकले वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा जग्गाको विश्लेषण समिति बनाएको र सोही समितिले स्थलगत अवलोकन तथा अध्ययनपछि गरेको सिफारिसका आधारमा मापदण्ड निर्धारण गरी गत साउन १९ गतेदेखि नगरपालिकाले कित्ताकाट गर्ने निर्णय गरेको हो ।

नगरपालिकाले कम्पनीलाई कित्ताकाट फुकुवा गरेर राम्रो काम गरे पनि अझै पूर्ण भने नभएको पौडेलको भनाइ छ । नगरपालिकाले व्यक्तिगत जग्गामा समेत कित्ताकाट फूकुवा हुनुपर्ने उनको माग छ ।

नगरपालिकाले १३४ सडक सञ्जालको आधारमा १७ वटै वडामा कृषि, बसोबास र औद्योगिक क्षेत्र छुट्याएर कित्ताकाटको मापदण्ड आएको रुपन्देही घरजग्गा व्यबसायी संघका सदस्य रमेश डुम्रेले बताए ।

जग्गा व्यावसायी डुम्रेले दक्षिण नाका, अन्तर्राष्ट्रिय एयरपोर्ट, सिक्सलेन सडक भएका कारण तिलोत्तमा नगरभित्र बसोबासको लागि उपयुक्त भएको बताए ।

रुपन्देही घरजग्गा व्यवसायी संघका अहिले ४२ वटा र्फम आद्धव रहेका छन् । संघीय सरकारी भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले कित्ताकाट रोक्दै व्यवस्थित गर्नको लागि स्थानीय तहलाई दिने निणर्य गरेकी थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment