Comments Add Comment

पशुपतिको आरती र राष्ट्रिय गान

नेकपा नेतृत्वको सरकारमा जनताबाट निकै आशा गरिएका मन्त्री हुन् संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराई । मन्त्री भएसँगै एकपछि अर्को लोकप्रिय निर्णय तथा कार्य योजनाबाट चर्चामा आएका योगेश भट्टराईले पछिल्लो समय गरेको एउटा निर्णय भने विवादित बन्न पुग्यो । आफ्नो कार्यशैली, जीवनशैली र व्यबहारबाट जनतामा राम्रो छाप छोड्दै गइरहेका मन्त्री भट्टराईको पशुपतिमा गङ्गा आरती सुरुवात हुनुअगाडि राष्ट्रिय गान बजाउने निर्णय भने विवादमा परेको हो ।

मन्त्री भट्टराईले यो निर्णय नागरिककै राय सुझाव र अपेक्षा अनुसार नै गरिएको बताउँदै आएका छन् । विभिन्न माध्यमबाट जनतालाई आफ्नो सहज पहुँच उपलब्ध गराउन सफल मन्त्री भट्टराईले सम्भव भएसम्म आफ्नो मोवाइल आफै रिसिभ गर्ने गरेका छन् । यसबाट उनले जनताका वास्तविक समस्या, सल्लाह तथा सुझावहरुलाई नजिकबाट नै पहिचान गरिरहेको अनुमान गर्न सकिन्छ ।

गत श्रावण महिनाको अन्तिम सोमबार स्वयं पशुपतिको आरतीमा उपस्थित भएका मन्त्री भट्टराई त्यहाँ भएको नागरिकको उपस्थिति, उत्साह र भक्तिभावबाट प्रभावित भए । जसकारण सो आरतीको प्रत्यक्ष प्रसारण गर्नेदेखि सो स्थानमा राष्ट्रिय झण्डा राख्ने निर्णय गरेर नागरिकलाई राष्ट्रिय एकता र सद्धभावको सांकेतिक सन्देश दिने प्रयास गरे । आरती सुरुवात भएको १२ बर्षसम्म सम्भवतः यसरी कुनै वहालवाला मन्त्रीले सो स्थानमा गएर आरतीको प्रत्यक्ष अवलोकन गरेका थिएनन् ।

त्यसो त ०६४ सालदेखि सुरु भएको पशुपतिको गङ्गा आरतीको आकर्षण दिनानुदिन बढ्दै गइरहेको छ । साँझ परेसँगै उपत्यकाका विभिन्न स्थानलगायत छिमेकी राष्ट्र भारत तथा विभिन्न देशका पर्यटकहरुसमेत उक्त आरती गानमा उपस्थित हुने गरेका छन् ।

सम्पूर्ण उमेर समूहको सहभागिता रहने आरती गानमा अधिकांश भने युवा पुस्ता नै हुने गरेका छन् । हाम्रो धर्म संस्कृति अनि रीतिरिवाजहरुप्रति युवा पुस्ताको चासो हराउँदै गइरहेको भन्ने चिन्ता सर्वत्र भइरहँदा पशुपतिको गङ्गा आरतीमा हुने युवापुस्ताको सहभागिता र उत्साहले सो चिन्तालाई केही हदसम्म सम्बोधन गर्ने गरेको छ ।

त्यहाँ उपस्थित हुने अधिकांश युवापुस्ताले सो स्थानमा समय बिताइरहँदा आफ्ना व्याक्तिगत कुरा भन्दा पनि धर्म संस्कृतिी, कला, परम्परा र पशुपतिनाथको महत्व अनि सो क्षेत्रकै सुधारको आवश्यकताकै बारेमा आपसमा मन्थन गरिरहेको भेटिन्छ । अझ पछिल्लो समय त सो ठाउँमा बसेर राष्ट्रको विकास र समृद्धिकै बारेमा चिन्तन मनन गर्ने युवा जमात पनि कम छैनन् ।

यसरी धर्म संस्कृति, कला र परम्पराबारे सो स्थानमा युवाहरुवीच हुने चिन्तन–मननले केही हदसम्म भए पनि हाम्रो धर्म संस्कृतिको पुस्ता हस्तान्तरणमा टेवा पुग्ने सहजै अनुमान गर्न सकिन्छ ।

आरतीअघि राष्ट्रिय गानको औचित्य कति ?

हुन त गङ्गा आरतीको सुरुवातमा बज्ने राष्ट्रिय गानबारे सामाजिक सञ्जालमा व्यापक टीका टिप्पणी र आलोचना भइरहेको छ । तर, पनि एक सक्रिय र अध्यानशील युवा मन्त्रीको विवेकले लिएको निर्णयलाई विषयवस्तुको मर्र्म विश्लेषण नगरी नजरअन्दाज गरिनु न्यायोचित हुँदैन । विषयवस्तुको गहन अध्ययनबाट नै मन्त्रीले निर्णय लिए होलान् भन्ने कुरालाई हामीले मनन गर्न जरुरी छ ।

अब यसको औचित्यका बारेमा केही चर्चा गराैं ।

नरेन्द्र चुदाली

पशुपतिनाथ मन्दिर नेपालीहरुको आस्थाको धरोहर हो । देवादिदेव महादेवको स्थल पशुपतिनाथ क्षेत्रलाई सबैले पवित्र स्थलका रुपमा लिने गर्छन् । त्यहाँ राष्ट्र शान्तिका निम्ति पूजा गरिन्छ । राष्ट्रको प्रगतिको निम्ति संकल्प गरिन्छ । त्यसकारण पनि पशुपतिनाथ मन्दिरको पारिपट्टि हुने गङ्गा आरतीमा पवित्र भावसहित उपस्थित हुने हजारांै नागरिकका वीचमा हाम्रो राष्ट्रिय गान बज्नु पक्कै पनि सकारात्मक पक्ष हो । भगवानको सामु हाम्रा व्यक्तिगत आस्था, अपेक्षा र प्रार्थनाहरु छुट्टै छन् होला । तर, हामीलाई हाम्रो व्याक्तिगत जीवन सँगसँगै हाम्रो देश पनि त्यत्तिकै महत्वपूर्ण छ ।

किनकि हामी यही देशका नागरिक हाैं । नागरिकलाई सबैभन्दा ठूलो कुरा राष्ट्र हो । हाम्रा धेरै बाटाहरु यही राष्ट्रको अवस्थाले निर्धारण गरेको छ । राष्ट्र शान्त, बलियो र समृद्ध भयो भने मात्र नागरिकहरुले सुखको अनुभूति प्राप्त गर्न सक्छन् । यदि राष्ट्र नै अशान्त र गरिब भयो भने नागरिक धनी भए पनि त्यसले सुख अनुभूति प्राप्त गर्न सक्दैन ।

त्यसकारण एक नेपाली नागरिकको हिसावमा पवित्र भूमिमा उभिएर राष्ट्रको गौरवको रुपमा रहेको राष्ट्रिय गानको साथमा राष्ट्र शान्ति र समृद्धिको निम्ति प्रार्थना गरिनुलाई कसरी अन्यथा लिन सकिन्छ ? यो त अत्यन्तै सुन्दर पक्ष हो । जहाँ एक नागरिकले आफ्नो बारेमा सोच्नु पूर्व राष्ट्रलाई सम्झिएर पशुपतिनाथको अगाडि प्रार्थना गर्छ ।

यो नयाँ अभियानको सुरुवात भएको छ । यसमा धेरै नकारात्मक टीकाटिप्पणी गरी राख्नुपर्ने केही देखिँदैन । करोडांैको आस्था र विश्वास रहेको पशुपति क्षेत्रमा पवित्र भावसहित उपस्थित हजारांै नागरिकका वीचमा राष्ट्रिय धून बज्नु र त्यहाँ सामुहिकरुपमा राष्ट्रको निम्ति प्रार्थना गरिनुले साङकेतिक रुपमा महत्वपूर्ण अर्थ राख्छ ।

राष्ट्रियगानलाई नेपालको संविधानको अनुसूची–२ मा निकै महत्वका साथ समेटिएको छ । राष्ट्रियगानको मर्यादा र सम्मान कायम गर्ने सन्दर्भमा यसमा निश्चित मापदण्ड तय गरिएको छ । यसको निम्ति बनाइएको राष्ट्रिय झण्डा र राष्ट्रिय गानको प्रयोगसम्बन्धी कार्यविधि, ०६९ को परिच्छेद–३ मा राष्ट्रिय उत्सव, विभिन्न औपचारीक कार्यक्रम, विभागीय (फौजी) सामेली, सैन्य सम्मान, विद्यार्थी प्राथाना, खेलकुद समारोह, रेडियो र टीभी, आदिमा राष्ट्रिय गानको प्रयोग गरिने भनेर उल्लेख गरिएको छ । समग्रमा यो परिच्छेदमा राष्ट्रिय गानलाई अपमान हुने ठाउमा प्रयोग गर्न नहुने आशय प्रकट भएको छ । त्यसकारण पनि राष्ट्रिय गानको सम्मानमा उठ्ने प्रश्नहरुलाई नजरअन्दाज गर्न मिल्दैन । तर, पशुपतिमा हुने गङ्गा आरती पनि एक किसिमको साङ्गितिक उत्सव नै भएकाले राष्ट्रिय गानको मर्यादामा आँच आउदैन् भन्ने तथ्यलाई स्वीकार गर्नु जरुरी छ ।

पशुपतिको आरतीमा राष्ट्रिय गानको सम्मान होला ?

राष्ट्रिय गान प्रयोगमा आएसँगै अहिलेको मुख्य प्रश्न नै राष्ट्रिय गानको सम्मानको बारे उठिरहेको छ । जुन पशुपति क्षेत्रमा हुने गंगा आरतीको सवालमा उठ्नु जरुरी थिएन । एक त, पशुपतिनाथलाई हामीले राष्ट्रदेवका रुपमै पूजा गर्छौं । दोस्रो, त्यहाँ राष्ट्र शान्तिको निम्ति संकल्प गरिन्छ । तेस्रो उक्त गंगा आरतीमा ‘नेपाल राष्ट्रको जय’ भनेर सामुहिकरुपमै जयजयकार गरिन्छ । चौथो कुरा सामान्यतया मान्छे मन्दिरमा जाँदा सकारात्मक र पवित्र विचारको साथ जान्छन् भन्ने मान्यता छ ।

त्यसकारण पनि सो स्थानको महत्व, मानिसहरुको मनोवैज्ञानिक स्थिति सबैलाई विश्लेषण गर्दा राष्ट्रिय गानको भरपुर सम्मान हुने कुरामा दुईमत छैन । पवित्र मन लिएर उपस्थित हुने हजारौं नागरिकले राष्ट्रिय गानसँगै देशका निम्ति प्रार्थना गर्नु सायद यो गौरवमय क्षण नै हो ।

राष्ट्रिय गान कुनै दोहोरी साँझ र डिस्कोमा बजाइएको होइन । अर्को कुरा, नयाँ परम्पराको थालनी भएसँगै त्यहाँ गएर आरतीको सांगीतिक समारोहमा उपस्थित हुने नागरिकहरु राष्ट्रिय गान बज्दा उत्साहित भएको देख्न सकिन्छ । राष्ट्रप्रति खुसीले सम्मान प्रकट गरेको देख्न सकिन्छ । त्यसकारण यस विरुद्धका तर्कहरु वस्तुनिष्ठ देखिँदैनन् ।

पशुपतिनाथ मसानघाट होइन

गंगा आरतीको सुरुवात राष्ट्रिय गानबाट भएसँगै धेरैले यसलाई मसानघाटमा राष्ट्रिय गान बजाइएको तर्क दिँदै विरोध जनाइरहेका छन् । हामीले के बुझ्न जरुरी छ भने पशुपतिनाथ क्षेत्रलाई हामीले बुझ्ने र चिन्ने प्रारम्भिक बुझाई मसान घाट भन्ने होइन । पशुपति क्षेत्रलाई आम नेपाली नागरिक तथा सम्पूर्ण हिन्दुहरुले पवित्र देवस्थलका रुपमा बुझ्ने गर्छन् । र यसलाई विश्व समुदायले वर्ड हेरिटेज एरियाको रुपमा बुझेको छ । त्यहाँ रहेको आर्यघाट त सहायक पाटो हो ।

त्यसकारण गंगा आरतीमा राष्ट्रिय गान बजाइनुलाई मसानघाटमा राष्ट्रिय गान बजाइएको भनेर टिप्पणी गरिनु भद्दा एवं नकारात्मक चिन्तनको उपज हो । यसलाई सकारात्मक ढंगले लिँदा के फरक पर्छ ?

गंगा आरतीस्थल नजिकै अन्तिम संस्कार हुने हुँदा त्यहाँ आएका मलामी तथा किरियापुत्रीका अगाडि राष्ट्रिय गान बज्दा त्यसको सान्दर्भिकता के हुन्छ भन्ने सन्दर्भमा प्रश्न उठेको छ । यसलाई पनि अन्यथा ढंगबाट बुझिनुपर्छ जस्तो लाग्दैन । किनकि जन्म / मृत्यु मानिसका अकाट्य सत्य हुन् । यही धर्तीमा जन्मिएर यही माटोमै आफ्नो अन्तिम संस्कार हुँदा यदि संयोगवस पशुपति परिसरमा राष्ट्रिय गानको समय परेछ भने पनि त्यो मानिस सौभाग्यवान नै मानिने छ ।

राष्ट्रिय गानको विरोध गर्नेहरुलाई वारि शव जल्दै गर्दा पनि पारि गंगा आरतीमा उल्लासपूर्ण माहोल हुँदै आएको १२ बर्ष भइसकेको सायद थाहा हुनुपर्ने हो ।

अर्को महत्वपूर्ण कुरा पशुपतीनाथ परिसरमा रहेको आर्यघाटबाट भइरहेको प्रदुषण र सौन्दर्यको क्षयीकरणलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने आवाज पनि उत्तिकै मात्रामा रहेको छ । मन्दिर नजिकै रहेको दाहा संस्कार स्थलबाट हुने वायु तथा जल प्रदुषण जटिल बन्दै गइरहेको छ । मन्दिर वरिपरिको सौन्दर्य र वातावरणको जगेर्ना गर्नु अहिलेको आवश्यकता हो । जसरी अहिले विद्युतीय शवदाहगृह सञ्चालनमा आएका छन्, त्यहाँको भौगोलिक अवस्थिति, भक्तजनहरुको गतिविधि लगायतका व्यवहारिक पक्षलाई विश्लेषण गर्दा घाटलाई त्यहाँबाट पशुपति क्षेत्र एवं वाग्मती नदीको वहाव क्षेत्रमा पर्ने गरी व्यवस्थापन गर्नु उचित देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment