Comments Add Comment

के सहायक हिरोइन बन्ने बाटोमा हुन् सुपुष्पा ?

‘रणवीर’बाट उदाएकी नायिका सुपुष्पा भट्टलाई चलचित्रमा लिनका लागि निर्माताले कञ्जुस्याँइ गरेका छैनन् । डेब्यू चलचित्र असफल भएपनि सुपुष्पाले भने राम्रै चर्चा पाइरहेकी छिन् । ‘रणवीर’ चलचित्रमा पनि उनी सह–नायिकाको भूमिकामा थिइन् । चलचित्रमा मुख्य नायिकाको रुपमा शुवेच्छा खड्काको मुख्य भूमिका थियो ।

सुपुष्पाले दोश्रो चलचित्र ‘छ माया छपक्कै’मा पनि काम गरेकी छिन् । तर, यो चलचित्रको मुख्य भूमिकामा नायिका केकी अधिकारी छिन् । यसमा पनि उनी सह–नायिकाको रुपमा नै छिन् भन्न सकिन्छ । अब, उनै सुपुष्पाले नयाँ चलचित्र ‘चपली हाइट ३’मा काम गर्न लागेकी छिन् । यो चलचित्रको औपचारिक घोषणा पनि भैसकेको छ ।

तर, रोचक कुरा के छ भने यो चलचित्रमा पनि सुपुष्पा सह–नायिकाको रुपमा नै छिन् । चलचित्रको मुख्य भूमिकामा नायिका स्वस्तिमा खड्का छिन् । तेश्रो चलचित्रसम्म आइपुग्दा सुपुष्पा कतै सह–नायिका बन्दा नै रमाइरहेकी हुन् कि भन्ने पनि देखिन्छ । चलचित्र ‘चपली हाइट ३’को पत्रकार सम्मेलनमा अनलाइनखबरको यही प्रश्नमा सुपुष्पाले भनिन्–‘अब, मलाई अफर नै यस्तो आउँछ त के गर्नु ? राम्रो कथा आएपछि मैले आफ्नो भूमिका हेर्ने हो । सोलो नायिकाको रुपमा अफर आएका चलचित्रको कथावस्तु नै मन पर्दैन ।’

सुपुष्पाले आफू कुन स्थानकी नायिका भन्दा पनि भूमिका के छ भनेर हेर्ने बताइन् । तर, कतै यसरी सह–नायिकाको रुपमा काम गर्दा सुपुष्पालाई यही ट्याग त लाग्ने होइन ? यो बिषयमा भने उनले सोच्नुपर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment