Comments Add Comment

साढे ६ हजार ट्रान्सफर्मर फेर्दा पनि झ्याप्प–झ्याप्प बत्ती जान छोडेन

२५ भदौ, काठमाडौं । ‘सल्यानतिर विजुली मैयाँ आउने–जाने क्रम नियमित छ । गएको बेला घन्टौंसम्म गएको गयै गर्न पनि लाज नमान्ने यिनको नखराबाट म त आजित भइसकेँ । कुलमान सर, लौन एक नजर यता पनि फालौँ,’ नरनाथ लुइँटेलले मंगलबार फेसबुकमा ब्यंग्यात्मक रुपमा गुनासो पोखे ।

काठमाडौंकै नयाँ बानेश्वर क्षेत्रमा पनि पटक–पटक विजुली झ्याप्प आउने र जाने समस्या सुरु भएको तीन महिना बित्न लाग्यो । काठमाडौंका अधिकांश क्षेत्रमा पनि विजुली कतिबेला काटिन्छ र आउँछ भन्ने ठेगान हुन छोडेको छ । उद्योगहरुलाई पनि लाइन गइरहने समस्याले पिरोलेको छ ।

विगत वर्षहरुमा हिउँदमा बढी लाइन जाने समस्या हुन्थ्यो । तर, यसपटक वर्षयाममा नै धेरै लाइन गइरहेको छ । धेरै पानी परेको र हावाहुरी चलेका बेला लाइन ट्रिपिङ हुनु स्वभाविक हो । तर, सामान्य अवस्थामा पनि लाइन–आउने जाने समस्या यो पटक वर्षायाममा देखियो ।

कतिपयले यसलाई अघोषित लोडसेडिङका रुपमा पनि हेरेका छन् । तर, प्राधिकरणले भने प्राविधिक कारण भन्दै आफ्नो बचाउ गर्दै आएको छ ।प्रणालीमा बजिुली बढी भएर भारतमा निर्यात भरहेको समयमा प्राविधिक कारणले लाइन काटिने उसको भनाइ छ ।

६ हजार ट्रान्सफर्मर फेरियो

प्राधिरकणले यही समस्यालाई सम्बोधन गर्न भन्दै झण्डै साढे ६ हजार नयाँ ट्रान्सफर्मर जोडिसक्यो । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख हरराज न्यौपाने धेरै प्रकारले सुधारको काम भइरहेकाले लाइन काटिने समस्या हटेको हुनुपर्ने बताउँछन् ।

‘यो हामीले दावी गर्ने भन्दा पनि जनतालाई महसुस भएको हनुपर्छ,’ उनी भन्छन्, ‘हामीले प्रणाली सुधारको लागि विविधि तवरले काम गरेका छौं ।’

उनले अझै पनि करिब ७ हजार ट्रान्सफर्मर फेर्ने क्रम जारी रहेकाले कतै–कतै लाइन जाने–आउने समस्या रहनसक्ने बताए । उनका अनुसार प्रणालीमा साढे ६ हजार ट्रान्फर्मर थप्नु भनेको २० प्रतिशत वितरण क्षमता वृद्धि गर्नु हो । त्यति गर्दा पनि लाइन आउने–जाने भइरहनुले अझै धेरै संख्यामा ट्रान्सफर्मर आवश्यक देखिएको प्राधिरकणको दावी छ ।

‘हामीलाई २०२४ सम्म ५ हजार मेगावाट विजुली वितरण गर्न सक्ने क्षमता तयार गर्न थप २६ हजार ट्रान्फर्मर चाहिन्छ,’ न्यौपानेले भने, ‘विद्युत वितरणको गुणस्तर सुधार्ने कुरा नियमित चलिरहन्छ । ट्रान्सफर्मर फेर्न थालेपछि ओभरलोडका कारण लाइन काटिने समस्या घटेको छ ।’

प्राधिकरणले करिब १४ हजार नयाँ ट्रान्सर्फमर ल्याएर प्रणाली सुधारको काम गरिरहेको छ । त्यसको प्रभावकारिता भने कमजोर देखिएको छ । स्थानीय क्षेत्रमा लोड बढ्दा धान्न नसकेर ट्रान्सफर्मर पड्कन्छन् । प्रणालीमा पर्याप्त विजुली भए पनि वितरण पूर्वाधारले धान्न नसके त्यो वितरण गर्न नसकिने अवस्था आउँछ ।

अहिले मागअनुसार विजुली दिन प्राधिकरणलाई समस्या छैन । तर, प्रणालीलाई चुस्त बनाउन नसक्दा प्राधिकरणले ग्राहकलाई भरपर्दो सेवा दिन नसकेको हो ।

पछिल्लो सयममा विजुलीको माग र खपत दर बढ्दो छ । मागअनुसार प्रणालीमा विजुली उपलब्ध भए पनि प्राधिरकणले वितरणका लागि त्यसअनुसरकार पूर्वाधार बनाउन सकेको छैन । माग र खपतको दर बढ्दै गर्दा भएको विजुली पनि वितरण गर्न नसकेर प्राधिकरण लाइन झ्याप्प जाने समस्यामा फस्न पुगेको छ ।

हाल माग धेरै भएका ठाउँमा ठूला क्षमताका ट्रान्सर्फमरहरु राख्न थालिएको प्राधिकरण बताउँछ । कतिपय ठाउँमा नयाँ राख्ने र कतिपय स्थानमा क्षमता बढाएर फेर्न काम भइहरेकाले पनि त्यसको कामका लागि लाइन काटिएको हुन सक्ने उसको भनाइ छ ।

प्राधिकरणले लामो समयसम्म नयाँ ट्रान्सर्फमर फेर्न सकेको थिएन । यसपटक बलियो र कम चुहावट हुने खालको ट्रान्सर्फमर ल्याएर वितरण प्रणालीलाई विश्वसनीय बनाउने काम भरहेको प्राधिकरणले बताएको छ ।

प्रणालीमै समस्या

प्राधिकरणको प्रणाली पनि पुरानो छ । यसलाई स्तरोन्नति नगरेसम्म बिजुली काटिने समस्या समाधान गर्न कठिन हुने तर्क प्राधिकरणका अधिकारीहरुको छ । यद्यपि, वितरण लाइनमा लोडअनुसारको ट्रान्सर्फमर थप्ने र काठको पोल हटाउनेदेखि ‘मल्टिपल रिंग बैंक’ बनाउने सम्मको प्रयास सुरु भएको उनीहरु बताउँछन् ।

प्राधिकरणकाअनुसार विद्युत लाइन वितरण सुधारका लागि झण्डै ४ लाख काठको पोल हटाउनुपर्ने हुन्छ । विद्युत प्राधिकरणले गरेको प्रारम्भिक अनुमानमा देशभरका झण्डै ३ देखि ४ लाख काठको पोल हटाउनुपर्ने देखिएको थियो ।

अहिले बिजुलीको वितरण सिंगल लाइन सिस्टममा आधारित छ । अब त्यसलाई डबल लाइन सिस्टममा रुपान्तरण गर्न अत्यावश्यक रहेको कार्यकारी निर्देशक घिसिङ बताउँछन् । यसका लागि काठमाडौंमा काम पनि भइरहेको छ ।

प्रणालीलाई विश्वसनीय र प्रभावकारी बनाउन ‘मल्टिपल रिङ बैंक’ को अवधारणाअनुसार पूर्वाधार निर्माण भइरहेको उनले बताए । एक स्थानको सवस्टेशनमा समस्या आउँदा अर्को सबस्टेसनबाट लाइन दिन सकिने गरी यस्तो रिङ तयार गरिँदैछ ।

लोडसेडिङ व्यवस्थापनसँगै प्राधिकरणले बिजुलीको गुणस्तर र सुरक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको कार्यकारी निर्देशक घिसिङको दाबी छ । हाल उपत्यकामा विभिन्न पाँच स्थानमा नयाँ सबस्टेसन निर्माण भइरहेको छ । माथातिर्थ, चापागाउँ, भक्तपुर, लप्सीफेदी लगायतका स्थानमा बन्ने सब–स्टेशनले मल्टिपल रिङ बैंकको काम गर्नेछन् ।

यी स्थानमा सबस्टेसन निर्माण सकिएर सञ्चालनमा आएपछि एकातर्फबाट लाइन काटियो भने अर्को स्टेशनबाट लाइन दिन सकिनेछ । वितरण लाइनलाई उच्च भोल्टेजमा लैजान पनि प्राधिरकणले काम थालेको छ । अहिले ११ केभी र ३३ केभीमा मात्रै वितरण भइरहेको लाइनलाई १३२ केभीमा लैजाँदा उपभोक्ताले गुणस्तरीय बिजुली पाउने प्राधिकरण बताउँछ ।

हाल नेपाल एक सय ३२ केभीको प्रसारण लाइनमै निर्भर छ । यस्तो अवस्थामा काठमाडौंमै बाहिरी चक्रपथमा २२० केभीको प्रसारण लाइन निर्माण गर्ने योजना छ ।

‘तर यस्तो काम गर्न हामीलाई एलाइनमेन्टको समस्या छ,’ वितरण निर्देशनालयका प्रमुख न्यौपाने भन्छन्, ‘मुआब्जा लगायतका कारण विद्युत पूर्वाधार निर्माणमा ढिलाइ हुँदा त्यसको असर वितरण प्रणालीमा पनि परेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment