Comments Add Comment

हरित काठमाडौं अभियान : त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म ५ सय विरुवा रोपिने

२६ भदौ,  काठमाडौँ । राजधानीलाई हरियाली बनाउने अभियानअन्तर्गत त्रिपुरेश्वरदेखि दरबारमार्गसम्म करिब पाँच सय वृक्षारोपण गरिने भएको छ । महानगरले ५ फिटभन्दा माथिका विरुवामात्रै रोप्ने नीति लिएको छ । सोहीअनुसार बिहीबारमात्रै १ सय ६५ वटा विरुवा रोपिएको छ ।

यो अभियानमा सडक खण्डका दुवै किनारामा १५ मिटर दुरीमा वृक्षारोपण गरिने छ । यसरी रोपेका विरुवालाई हुर्काउने र व्यवस्थापन गर्ने सबै महानगरले नेपाली सेनलाई जिम्मा लगाएको छ ।

वृक्षारोपण अभियानको शुभारम्भ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बिहीबार सुन्धाराबाट गरे । मेयर शाक्यले भने, ‘हरित शहर बनाउने काठमाडौँ महानगरपालिकाको अभियानअनुसार नै हामीले वृक्षारोपण कार्यक्रम आयोजना गरेका हौँ, सार्वजनिक जग्गामा हरियाली पार्क निर्माण गर्नेलगायतका काम हामीले तीव्ररुपमा अघि बढाएका छौँ । यो पनि पनि त्यही अभियानको निरन्तरता हो ।’

मेयर शाक्यले यस्तो अभियान ३२ ओटै वडामा केन्दि्रत रहेको भन्दै महानगरपालिकाले सार्वजनिक विद्यालयलगायतका स्थानमा पनि वृक्षरोपण गर्ने बताए ।

उनलेे कार्यक्रमपछि काठमाडौँ वतावरण व्यवस्थापन विभागलाई सहर सफा राख्ने कुराका कुनै पनि कमी हुन नदिन निर्देशन दिए । ‘हामी पर्यटन वर्ष २०२० को नजिकमा छौँ,’ मेयर शाक्यले भने, ‘सहर कसरी सफा राख्न सकिन्छ, त्यसमा बढी ध्यान दिनुहोला । पर्यटकलाई आकर्षित कसरी गर्न सकिन्छ त्यसमा पनि ध्यान दिनुहोला ।’

वृक्षारोपणको अग्रसरता लिएको काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले पनि नेपाली सेना र काठमाडौं महानगरपालिकाका बीचमा सहरी स्वास्थ्य, शिक्षा र वातावरणीय सुधारका ३ क्षेत्रमा साझेदारीमा आधारित कार्यक्रम सञ्चालनको सम्भावना देखिएको बताए ।  ‘यीमध्ये महानगरको केन्द्रीय कार्यालय र नेपाली सेनाको मुख्यालय अगाडि वृक्षारोपण गरिएको हो,’ उनलेे भने, ‘स्वास्थ्य उपचार र शिक्षाको गुणस्तर सुधारका लागि कार्यक्रम छनौट अन्तिम चरणमा पुगेको छ । केही समयको अन्तरालमा नै सार्वजनिक हुनेछ ।’

त्यसैगरी दुवै निकायको मुख्य प्रवेशद्वारबाट त्रिपुरेश्वरतर्फ नेपाली सेनाको मुख्यालयतर्फको स्थानको सरसफाइ र सौन्दर्यकरण गर्ने, यात्रुलाई बस्ने मेचको व्यवस्था गर्ने योजना छ । यसको व्यवस्थापन नेपाली सेनाले गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment