Comments Add Comment

ग्याबिनलाई नेपालमा स्कूल बनाइदिने नशा

भन्छन्–अस्ट्रेलियन हुँ तर धेरै माया नेपाललाई गर्छु

सिड्नी । नेपालमा विद्यालय मर्मत, पुस्तकालय निर्माण र मन्टेश्वरी तालिम केन्द्र खोल्ने नशा लागेका अस्ट्रेलियन शिक्षक ग्याबिन मक्कोर्मकले दुई दर्जन विदेशी स्वयमसेवकको नेतृत्व गर्दै आउँदो डिसेम्बरको दोश्रो हप्ता नवलपरासीको स्कूल मर्मत तथा सजावट गर्ने भएका छन् ।

उनका नेपाली साथी आनन्द देवकोटाले अनलाइनखबर अस्ट्रेलिया सस्करणलाई टेलिफोनमा बताए अनुसार मर्मत गरिने स्कूल बर्दघाट नगरपालिका- १३ स्थित जयन्ति आधारभूत विद्यालय, धनेवा हो । ‘प्रत्येक दिन केही न केही सामान आइरहेका छन् , हिजो मात्रै पुस्तकको भारी आयो,’ आनन्दले भने, ‘हामी ग्याबिन र उनको टोलीको प्रतिक्षामा छौ ।’

ग्याबिनको यस पटकको क्रिसमस बिदाको योजना उक्त विद्यालयका ११ कोठा मर्मत र रंगरोगन गर्नुका साथै फर्निचर तथा पाठ्य सामग्री वितरण गर्नु पनि रहेको छ ।

‘विद्यालय हाता नजिकैको मिलिजुली युबा क्लब भवनको एउटा कोठामा पुस्तकालय बनाउने योजना पनि छ,’ ग्याबिनका नेपाल सहकर्मी देवकोटाले भने, ‘त्यो पुस्तकालय बिद्यार्थी तथा पाका पुस्ता सबैका लागि हुनेछ ।’

यस्तो स्कूल : चक र डस्टरले कम्प्युटर पढाइन्छ 

ग्याबिनले मर्मत गरिदिन लागेको जयन्ति स्कूल ।

ग्याबिन र उनको टीमले यो हिउँद अगावै सहयोग गर्ने योजना बनाएको स्कूलका प्रधानाध्यापक राजेश केसीलाई अहिलेसम्म ग्याबिनले के कस्तो सहयोग गर्दैछन् थाहा छैन । तर, केही सहयोग हुँदैछ भन्ने खबर मंगलबार उनले सुनेका थिए । उनका अनुसार उक्त विद्यालयमा प्रारम्भिक बालविकास देखि ८ सम्मका १७५ जना विद्यार्थी अध्ययन गर्छन ।

‘कोठा नपुगेर महिला भवनमा पनि कक्षा कोठा चलाएका छौ,’ उनले टेलिफोनमा भने, ‘केही वर्ष अगाडि परिवार नियोजन सम्बन्धी चेतना जगाउन गैरसरकारी स्तरबाट बनेको भवनलाई महिला भवन भनिन्छ । त्यहाँ केही बालबालिकालाई अध्ययन गराइन्छ ।

सरकारले ७ जना स्थायी शिक्षक उक्त विद्यालयलाई उपलब्ध गराएको छ भने ५ जना स्वयमसेवक शिक्षक् र १ जना नगरपालिकाले ब्यबस्था गरेका शिक्षक कार्यरत छन् ।

त्यसो त ग्याबिन त्यहाँ बिगत तीन वर्षदेखि जान थालेका छन् । पहिलो वर्ष उनले बुद्धमंगल स्कूललाई सहयोग गरे । बुद्धमंगल स्कूल जयन्ति आधारभूत विद्यालयको शाखा हो ।

गतवर्ष महिला भवनलाई रंग रोगन गरेर ग्याबिनले यो गाउसँगको आफ्नो लगाव बिस्तार गरे । ‘उनी यो वर्ष पनि आउने , अलि दिन बस्ने र केही काम गर्ने कुरा छ, तर सबै थाहा छैन,’ प्रधानाध्यापक केसीले भने ।

ग्याबिनले बनाइदिएको बुद्धमंगल स्कूलको बाल विकास केन्द्र ।

हुन पनि सरकारले उनीहरुलाई तलब बाहेक स्कूलका लागि केही पनि दिएको छैन । सरकारबाट वर्षमा २० हजार चक डस्टरका लागि र २० हजार अन्य कामका लागि रकम दिएको छ तर त्यसबाट केही पनि पुग्दैन । चुहिएको टीनको छानामुनि पुराना भाँचिएका फर्निचर छन् ।

भवन १८ वर्षअघि चुना पोतेको हो त्यो पनि खुइलिन लागेको छ । यो स्कूलका चार वटा शिशु स्याहार कक्ष छन् । पाँच कक्षासम्मका शिशुलाई दिवा खाजाको ब्यबस्था छ । तर, एउटा कक्षा कोठा टाढा भएकाले त्यहाँका ३५ शिशुलाई खाजा बनाएर टाउकामा बोकी पठाउनु पर्छ । ‘संगै भएको भए म बच्चाहरुलाई दिनदिनै हेर्न पाउँथे,’ प्रधानाध्यापक के सी भन्छन् ।

यो पनि पढ्नुहोस नेपाली मनमा रंग भर्ने एक अस्ट्रेलियन शिक्षक

नेपालको पूर्व-पश्चिम जोड्ने राजमार्गबाट यो स्कूल १५ किलोमिटर दक्षिणमा छ भने भारतीय सिमाना यहाँबाट ६ किलोमिटरमा पर्छ । वरपर दश वटा इँटा-भट्टा छन् । तिनै इँटा-भट्टामा काम गर्ने मजदुर र अधियाँ खेत रोप्ने गरीब किसानका छोराछोरी यो स्कूलका विद्यार्थी हुन् । दिनमा ८-१० जनालाई कापीकलम शिक्षकले नै किनिदिनुपर्छ नत्र उनिहरुसँग लेख्ने कुरा हुँदैन । आसपास ५-७ वटा बोर्डिंङ स्कूलहरु पनि छन् । जहाँ हुने खाने धनीमानीका छोराछोरी मात्र पढ्न जान्छन् ।

अनौठो कुरा यहाँ कालो पाटीमा सेतो चकले कम्प्युटर बिषय पढाइन्छ । प्रधानाद्यापक केसीका अनुसार सरकारले ६ कक्षाबाट कम्प्युटर विषय राखेको छ । तर, कम्प्युटर सम्बन्धी पढाउनका लागि भने त्यहाँ कालोपाटी मात्रै छ । ‘हामी कालोपाटीमा सैद्धान्तिक कुरा सिकाउँछौं । कम्प्युटरको चित्र बनाएर देखाउँछौं । हाम्रा विद्यार्थीले साँचिकैको कम्प्युटर कहिले देख्लान ?’ प्रधानाध्यापक के सीले प्रश्न गरे ।

के उनको उत्तर ग्याबिनले खोजिदेलान ?

ग्याबिनको नयाँ योजना

उनलाई थाहा छ यो स्कूलमा माथिका सबै समस्या छन् । विद्यार्थी शिक्षकको मुखबाट सुनेर मात्रै ज्ञान सिकिरहेका छन् । सुनेर मात्रै बालमस्तिस्कले धेरै कुरा सिक्दैन भनेर उनले हजारौं शब्द लेखेका छन् । हालै सिड्नीमा उनले नेपालका विद्यार्थी स्कूल जान र आउन मात्रै चार घण्टा खर्च गर्छन भन्ने एक घण्टा लामो प्रवचन दिए ।

उनको प्रवचनको सार थियो – नेपालका गरीब जनताको लागि विद्यालय शिक्षा अझै पनि धुलो, फोहर र कठिनाइ(डस्टी, डर्टी र डिफीकल्ट) बीचमा छ । त्यसैले उनले आफ्नो नेपाल प्रेमलाई शिक्षा क्षेत्रमा केही काम गरेर समर्पण गर्ने अठोट गरेको तीन वर्ष बितेको छ ।

हरेक वर्ष आफ्नो बिदाको समय नेपालमा शिक्षा क्षेत्रमा लगानी गरिरहेका ग्याबिन आगामी डिसेम्बर १४ मा आफ्ना थप २१ जना साथीसहित नेपाल जाने योजनामा छन् ।

विश्वका कुन-कुन ठाउँबाट आफ्ना साथीहरु नेपाल झर्नेछन त्यो अझै एकिन भएको छैन । तर, उनलाई यो आत्मविश्वास छ कि उनको क्रिसमसको बिदा सकिनुअघि नै जयन्ति आधारभूत विद्यालयको भित्रि र बाहिरी रुपरंग भने फेरिने छ । र, त्यहाँका शिक्षक विद्यार्थीहरुको मनको रंग पनि फेरिने छ ।

सेप्टेम्बर पहिलो हप्ता सिड्नीको पश्चिमी भित्रि सहरको एक चिया पसलमा भेटिएका ग्याबिनले पंतिकार संग भने – हामी विद्यालयको मर्मतसम्भार, रंग-रोगन गर्दै गर्दा शिक्षकहरुलाई पनि प्रशिक्षण दिनेछौं । विद्यार्थीले त्यसपछि सुनेर मात्रै सिक्ने दिनको अन्त्य हुनेछ ।’

उनको हिसाबमा जम्मा महिनाको ९९ डलरको जागिर खाएर नेपालका शिक्षकहरु हप्तामा ६ दिन पढाउनु बिडम्बना नै हो । तर, बाध्यता यस्तै छ । उनले यो विद्यालयको रुप फेर्न कम्तिमा १५ हजार डलर लाग्ने अनुमान गरेका छन् ।

यो पनि पढ्नुहोस अस्ट्रेलियन शिक्षकले खोले नेपाली स्कूलमा भव्य पुस्तकालय

स्थानीय जनतालाई आफू र आफ्नो कामलाई हेर्न होइन सहयोग गर्न अनुरोध गर्ने छन् । उनको टोली डीसेम्बर १४ मा काठमाडौं जम्मा हुनेछ । र , आधारभूत बाल शिक्षाका सामग्री पाईने पसलमा आवश्यक सामान किनेर नवलपरासीतर्फ पठाउने छ ।

काममा जानुअघिका तीन दिन २२ जनाको टिम पोखराबाट पुन हील तर्फको ट्रेकिङमा जानेछ । ग्याबिनका अनुसार यो तीन दिनमा नेपालको हिमाली क्षेत्रको दृश्यावलोकन संगै यी २२ जनाले एक अर्का बीच चिनजान र भावना साटासाट गर्नेछन् ।

नवलपरासी झर्दा २/२ जनाको ११ वटा मन मिल्ने टिम बन्नेछ र हरेक टिमले विद्यालयको यौटा कोठाको मर्मत सम्भारको जिम्मेवारी लिनेछ ।
स्थानीय वरपिपल आमा समूहले यी स्वयमसेवकहरुलाई गाउमा स्वागत गर्नेछ । मन्दरी देवकोटा र पुतली देवकोटाले गाउँका महिलाहरुलाई विदेशी स्वयमसेवकहरुलाई सहयोग गर्न परिचालन गर्नेछन भने आनन्द देवकोटाले सुरक्षा तथा नगरपालिकासँग कामको अनुमति लगायतका ब्यबस्थापकीय काम गर्ने छन् ।

बसाइ सबैलाई फरक-फरक घरमा गरिने छ । तेसो गर्दा नेपाली परिवार र सस्कृतसँग विदेशी स्वयमसेवक परिचित हुनेछन् । तर, खानपिन भने एकै स्थानमा गर्ने योजना छ, जसको जिम्मेवारी स्थानीय ढाकाराम तिवारीले लिएका छन् । ‘बाहिरबाट पाउना आउँदा हामी खुशी त हुन्छौं तर उहाँहरुको स्वास्थ्य र सुरक्षाको चिन्ता पनि उतिकै हुन्छ,’ आनन्दले भने ।

समाचार पढेपछि स्कूल बनाइदिन अनुरोध

अनलाइनखबरमा ग्याबिन र उनको टीमले नेपालका विभिन्न ठाउँमा स्कूल, पुस्तकालय र शिक्षक तालिम केन्द्र खोलेको समाचार प्रकाशित हुँदा टाढा-टाढाका ठाउँबाट सहयोग गर्नु पर्यो भनेर अनुरोध आउने गरेको आनन्द देवकोटाले बताए । उनलाई बिशेष गरी मनाङ र रसुवाबाट अनुरोध आएको थियो ।

सुगम ठाउँका केही केहीले त विदेशीले सहयोग गर्ने भनेपछि कति फाइदा हुन्छ ? भनेर पनि सोध्ने गरेको अनुभूति उनले सुनाए । तर, ग्याबिनले व्यक्तिगत फाइदाका लागि सुगम ठाउँमा काम नगर्ने आफूले उनीहरुलाई सुनाएको बताए ।

नवलपरासी बर्धघाटस्थित विद्यालयबाट बुधबार दिउँसो टेलिफोन सम्पर्कमा आएका उक्त विद्यालयका प्रधानाध्यापक राजेश केसीले अक्षरसंग शक्ति भएको भन्दै आर्थिकरुपमा बिपन्न र मजदुरका छोराछोरी पढ्ने विद्यालयको अवस्थाबारे विदेशबाटै चासो दिएर पहिलो पटक कुनै पनि संचार मध्यमले सम्पर्क गरेको बताए ।

ग्याबिनले स्कूलको पुरानो तस्वीर देखाउँदै भने – आगामी क्रिसमस अघि यो स्कूलमा हजारौं बाल पुस्तकसहितको पुस्तकालय हुनेछ, कक्षा कोठा अर्कै रंगरूपका चित्रांकनसहितका हुनेछन् । नयाँ फर्निचर थपिनेछन् र सफा कक्षा कोठाको भुइँमा मुलायम कार्पेट बिछ्याइने छ ।

रमाइला ग्याबिन थप्छन – अहिले किन त्यसपछि तिम्रो समाचार पनि रमाइलो र पूर्ण हुनेछ , कि कसो ? अस्ट्रेलियामा धेरै धनी नेपाली भए पनि आफ्नो अभियानमा कोही पनि सहभागी नभएको उनले बताए । ‘के तिम्रो आफ्नै भाषाको समाचार अस्ट्रेलियाका धनी नेपालीहरु पढ्दैनन् ?’ यो पंतिकारसँग यो प्रश्नको जवाफ भने थिएन ।

ग्याबिनको कथा : ‘म धनि मान्छे होइन’

आफू धनी भएकाले अस्ट्रेलियाबाट वर्षेनी नेपाल गएर सामाजिक काममा समय र पैसा खर्च गरेको होइन भन्दै ग्याबिनले आफ्नो दुःखको कथा पनि सुनाए । बेलायतको एउटा गाउँमा उनी जन्मेका हुन् । उनी नजन्मदै उनका प्राकृतिक बाबुले उनकी आमालाई छोडी दिए ।

आमालाई धेरै गारो भयो । उनी जन्मेपछि बाल्यकालमा आफ्ना हजुरबासँग हुर्के । उनकी आमाले आफ्नो कार्यथलोमा एकजना असल साथी भेटिन र बिहे गरिन् । ‘वास्तवमा ती मेरा प्राकृतिक बाबु होइनन् तर मलाई निकै राम्रो गरे । मेरी आमा र उनीसँग पैसा थिएन तर उनीबाट जन्मेका मेरा अरु दुई भाइ र मलाई बराबर व्यवहार गरे ।’

ग्याबिनले आफ्नो जीवनको निजी कथा भन्दै गए – म हुँर्किदै गए, फ्रान्स, स्पेन हुँदै बीस वर्षको उमेरपछि संसार डुल्न थाले । अब भने अस्ट्रेलियन नागरिक हुँ तर माया धेरै नेपाललाई गर्छु ।

किन ? उनको जवाफ छ, ‘मेरा हजुरबाले भनेका थिए -जसलाई सहयोगको खाँचो छ हामीले त्यहाँ गर्नुपर्छ । संसारमा मैले भेटेका मानिसमा नेपाली सबैभन्दा खुशी देखें । कस्तो दु:खमा पनि खुशी । उनी नेपाल र नेपालीको बयान गरी थाक्दैनन् , ‘तिमि नेपालमा दश दिनमा सबैसँग प्रेममा पर्छौ । म जतिबेला स्कूल वा पुस्तकालय बनाएर उद्घाटनमा रिबन काट्छु तब संगसंगै मेरो मुटु चिरिन्छ । किनकि अब म फेरि नेपालबाट फर्किदैछु । फेरि मन थाम्छु । मलाई थाहा छ नेपाल सबैका लागि होइन तर इच्छा शक्ति हुनेहरुका लागि हो, म अर्को इच्छा लिएर निरन्तर फर्किनेछु ।’

उनको नेपालमा प्रारम्भिक बाल विकास सम्बन्धी राम्रो ज्ञान भएका हजारौं शिक्षक उत्पादन गर्ने इच्छा छ । जसनुसार काठमाडौं र बुटवलमा शिक्षक तालिम केन्द्र पनि खोलिसकेका छन् जहाँ दिनहुँ शिक्षक उत्पादन भैरहेका छन् ।

ग्याबिन भन्छन, ‘मैले बनाएको स्कूल राम्रो, पुस्तकालय पनि राम्रो तर मन्टेश्वरी शिक्षक तालिम केन्द्र सर्वोत्तम ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment