Comments Add Comment

क्रिकेट संघको विशेष साधारणसभामा फेरि राखेपको अड्चन, राख्यो यस्तो शर्त

२६ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हस्तक्षेपले नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा फेरि अनिश्चित बनेको छ । राखेप सदस्य सचिव रमेश सिलवालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को स्वतन्त्र टोलीलाई साधारणसभा रोक्न आग्रह गरेका छन् ।

आगामी ३ र ४ गते हुने भनिएको विशेष साधारणसभाले क्यानको विवाद समाधान गर्ने र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले लगाएको निलम्बन फुकुवा गर्न बाटो खुल्ने अपेक्षा गरिएको थियो । यदि विशेष साधारसभा रोकिएमा निलम्बन फुकुवाको साटो आईसीसीले अझ कडा निर्णय लिन सक्छ ।

राष्ट्रिय दैनिकमा सूचना जारी भएलगत्तै सदस्य सचिव सिलवालले स्वतन्त्र टोलीका अभिवक्ता राजेश्वर श्रेष्ठलाई बोलाएर विशेष साधारणसभा रोक्न आग्रह गरेका हुन् । स्रोतका अनुसार सिलवालले आफूसँग आवद्ध संघहरुबारे राखेपले २०७२ सालमा गरेको तीनबुँदे निर्णय उल्लेख गर्दै २१ दिन समय दिएर चुनावी विशेष साधारणसभा बोलाउनुपर्ने र निर्वाचन समिति राखेपले पठाउने बताएका छन् ।

तर आईसीसीको अगुवाईमा सल्लाहकार समूहले बनाएको तथा राखेपले पारित गरेको क्रिकेट संघको नयाँ विधानमा कम्तिमा ७ दिनको म्याद दिएर स्वतन्त्र टोलीले यो विशेष साधारणसभा बोलाउन सक्ने प्रावधान छ । साथै आईसीसीका प्रतिनिधि समेत रहेको स्वतन्त्र टोलीले नै निर्वाचन गराउने प्रष्ट व्यवस्था छ । त्यसअनुसार टोलीले केही जिल्ला र सात प्रदेशमा चुनाव गराइसकेको छ ।

‘राखेपको स्वीकृति लिन हामीलाई आपत्ति छैन । तर हामीले पत्र पठाउँदा राखेपले अनुमति छैन भन्यो भने के गर्ने ?’ स्वतन्त्र टोलीका एक सदस्य भन्छन् ।

साथै विधान विपरीत गएर राखेपको निर्वाचन समिति बनाउन नसकिने टोलीले प्रष्ट पारेको छ । यसो भएमा आईसीसीले क्रिकेट संघमा सरकारी हस्तक्षेप भएको ठहर गर्दै निलम्बन लम्ब्याउने लगायत अन्य कदम चाल्न सक्ने बताइएको छ ।

क्रिकेट संघ निलम्बनमा परेपछि नेपालको क्रिकेट आईसीसी आफैंले समन्वय गर्दै आएको छ । अहिले बनेको नयाँ विधान पनि उसकै अगुवाईमा सल्लाहकार समूहले बनाएको हो । निर्वाचित क्यानले त्यसलाई हुबहु अनुमोदन गरेर राखेपले समेत स्वीकृति दिएपछि जिल्ला, प्रदेशको चुनाव भएको थियो ।

सिलवालसँग इमरानले कुरा गर्ने

विशेष साधारणसभाको पूर्वसन्ध्यामा राखेपले आपत्ति जनाएपछि स्वतन्त्र टोलीले आईसीसीलाई रिपोर्टिङ गरेको छ । नेपालको मामला हर्दै आएका आईसीसी उपाध्यक्ष इमरान ख्वाजाले यसबारे आफैं सदस्य सचिवसँग कुरा गर्ने बताएका छन् ।

स्वतन्त्र टोलीका अर्का सदस्य भन्छन्, ‘उहाँहरुबीच हुने कुराकानीले धेरै कुरा तय गर्ला ।’

स्वतन्त्र समितिका सदस्यहरुका अनुसार राखेपले विशेष साधारणसभा गर्न अनुमति दिने हो भने विशेष साधारणसभा एकाध दिन तलमाथि गर्न आईसीसी तयार देखिन्छ । तर २१ दिने म्याद राखेर जान समयको चापले पनि नदिने उसको निस्कर्ष छ ।

आईसीसीले १३ अक्टोबरमा बोर्ड बैठक बोलाएको छ, जसमा नेपालको निलम्बन फुकुवाबारे निर्णय हुने भनिएको छ । यो बैठकको एजेण्डा भने २ तारिखमा तय हुन्छ । त्यसअगाडि क्रिकेट संघको चुनाव भएर निर्वाचित क्यानले नेतृत्व हस्तान्तरण गरिसक्नुपर्नेछ र नयाँ कमिटीको बैठक बसेर त्यसको जानकारीसहित आईसीसीमा पत्रचार गरिसक्नुपर्छ । यो सबै गर्न समय लाग्छ ।

यो बीचमा नेपालीहरुको चाड दशैं पनि पर्छ । त्यसैले ३ र ४ गतेका लागि बोलाइएको विशेष साधारणसभा धेरै तलमाथि धकेल्न गाह्रो छ । यो भन्दा पनि निर्वाचन समिति आफूले बनाउन पाउनुपर्ने राखेपको मागले जटिलता बढाएको छ ।

यद्यपि अझै पनि मध्यमार्गी बाटो खोजेर क्रिकेटलाई निकास दिने सम्भावना भने बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment