Comments Add Comment

पूर्वशिक्षामन्त्रीहरु भन्छन् : विश्वविद्यालयमा भागवण्डा हुनुहुन्‍न

२६ भदौ, काठमाडौं । पूर्वशिक्षामन्त्रीहरुले विश्‍वविद्यालयमा पदाधिकारी नियुक्ति गर्दा राजनीतिक आस्थाका आधारमा भागवण्डा गर्न नहुने बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले ‘विश्वविद्यालय र दलीय भागवण्डा’ विषयमा बिहीबार गरेको कार्यक्रममा पूर्वशिक्षामन्त्रीहरु दिनानाथ शर्मा, अर्जुननरसिंह केसीलगायतले प्राज्ञिक थलोमा राजनीतिक भागवण्डा उचित नहुने बताएका हुन् ।

पूर्वशिक्षामन्त्री एवं नेकपाका नेता दिनानाथ शर्माले विश्वविद्यालयहरुमा हुने पदाधिकारी नियुक्ति गर्दा दलीय भागवण्डा रोक्न आफूले चाहेर पनि नसकेको बताए । ‘म मन्त्री हुँदा काठमाडौं विश्वविद्यालयमा उपकुलपति नियुक्तिमा दललाई हावी हुन दिइनँ, त्यसको लागि मैले आफ्नो दलभित्र ठूलै दबाब झेल्नुपर्‍यो’ उनले भने ।

शर्माले प्राज्ञिक व्यक्तित्वहरुको रोष्टर तयार पार्नुपर्ने र त्यही रोष्टरका आधारमा योग्यता, क्षमता र अनुभवको आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्नुपर्ने बताए ।

पूर्वशिक्षामन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुनरसिंह केसीले दलीय भागवण्डाको आधारमा पदाधिकारी नियुक्त गर्ने परम्पराले शिक्षा क्षेत्र तहननहस भएको बताए । ‘म मन्त्री हुँदा आफ्नै पार्टी समर्थित शिक्षक संघ बन्द गराउन आवाज उठाएँ । तर यो कुरालाई पार्टीभित्र संस्थागत गर्न सकिनँ’, केसीले भने । विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डाको अन्त्य गर्न विद्यार्थी संगठहरु सडकमै ओर्लिन तयार हुनुपर्ने उनले बताए ।

अर्थ–राजनीतिक विश्लेषक एवं पूर्व सांसद् हरि रोकाले विश्वविद्यालयहरुको अवस्था जर्जर हुनुको पछाडि विद्यार्थी संगठनहरुको पनि हात रहेको बताए । नेपालमा सरकारी शिक्षालय ध्वस्त बनाएर निजी शिक्षालयलाई पोस्ने नीति अंगीकार गरिनु दुर्भाग्यपूर्ण भएको उनको भनाइ छ ।

नेविसंघका निवर्तमान महामन्त्री कुन्दन काफ्लेले शिक्षा क्षेत्र सुधारमा शिक्षा कानुनमै सुधार गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment