Comments Add Comment

१९७४ एडीः फेरि मञ्च घन्काउँदै

‘परेलीमा लुकाइ राख न’ ‘धेरै धेरै आउँछ मनमा’, ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा’, ‘संवोधन तिमीलाई गर्दैछु’ जस्ता दर्जनौ अजम्बरी गीतको थुप्रो लगाएका चर्चित सांगीतिक समूह ‘१९७४ एडी’ फेरि तंग्रिएको छ । करिब अढाई दशकअघि स्थापना भएको यो सांगीतिक समूह केही बर्षयता त्यती गतिशिल थिएन । लोकपि्रयताको उत्कर्षमै रहेको बेला ब्याडको राप एकाएक सेलाएको थियो । बजारमा हल्ला चलेथ्यो, ब्यान्ड फुट्यो । एड्रियन प्रधान बाहिरिए । फिरोज स्याङदेन अलग भए ।

बजारको हल्लामा कति सत्यता थियो ? अल्लारे वयमा एकढिक्का भएका व्यान्ड सदस्यहरु किन टुक्रिए ? यसमा अनेक अड्कलबाजी भए । जे होस्, १९७४ एडीको धुन दुर्लभ बन्दै गयो ।

जब धुन बिग्रियो

व्यान्डको लोकप्रियता उत्कर्षमा रहँदै गायक फिरोज स्याङ्देन अमेरिका उडे, सन् २००९ मा । त्यसपछि दर्शक/स्रोताले १९७४ एडीलाई एकसाथ न मन्चमा देखे, न गीतमा नै सुने । यसरी नै एक दशक गुज्रियो । २० बर्षसम्म एकढिक्का भएर अविछिन्न सांगीतिक खुराक पस्किरहेको ब्यान्ड किन खुम्चियो ?

फिरोज नभएपनि बाँकी रहेका चार जनाले व्यान्डका लागि आ-आफ्नो ठाउँबाट टेको दिएका थिए । त्यसबीचमा उनीहरुले एउटा एल्बम समेत निकाले । यद्यपि फिरोजको अभावमा उनीहरु पहिले जस्तो शसक्त देखिएन । ब्यान्डको लय नै बिग्रियो । एउटा चर्चित ब्यान्ड अंगभंग भए झै भयो । एड्रियन भन्छन्, ‘पाँच बर्षसम्म त हामी निरन्तर लागि नै रह्यौं, तर एउटा सदस्यको अभावमा ब्यान्डको सन्तुलन पहिले जस्तो रहेन ।’आखिरमा सन् २०१४ को अन्त्यतिर एड्रियनले पनि ब्यान्डबाट बिदा लिए ।

ब्यान्डबाट एड्रियनले औपचारिक रुपमा विदा भने लिएका थिएनन् । त्यो एक संयोग थियो । एड्रियन भारतमा थिए, यता काठमाडौंमा ब्यान्डले सांगीतिक कार्यक्रम गर्ने लगभग तय भइसकेको थियो । निराकार यक्थुम्बाले एड्रियनलाई कन्सर्टबारे जानकारी गराए । यद्यपि एड्रियन तत्काल कन्सर्टका लागि र्फकन संभव भएन । उनले आफु नभ्याउने बताए । यता व्यान्डले अन्य सदस्य थपेर कन्सर्ट गर्‍यो । यसपछि मिडियामा खबर छायो, एड्रियनले ब्यान्ड छाडे ।

न एड्रियनले ब्यान्ड छाडेका थिए, न ब्यान्डले उनलाई अलग गराएको थियो । ख्यालख्यालैमा एड्रियन र ब्यान्डको दुरी बढ्दै गयो ।

फिरोज अमेरिकामै रहे । एड्रियन आफ्नै सोलो गीत-संगीतमा व्यस्त भए । बाँकी तीन सदस्य संगीत स्कुलमा व्यस्त भए । यसरी एउटा एकातिर, अर्को अर्कैतिर भएपछि ब्यान्डको सांगीतिक धुन पुरै बिग्रियो ।

व्यान्डका सदस्हरुबीच मतभेद भयो । उनीहरु आ-आफ्नै पहिचान बनाउनतर्फ लागे । काम-व्यवसायले उनीहरु छुटिए । बजारमा यस्तै यस्तै हल्ला भयो ।

निराकर यक्थुम्बा, मनोज केसी र सन्जय श्रेष्ठले आफ्ना विद्यार्थीसँग मिलेर ‘१९७४ एडी’लाई पुन तंग्राउने प्रयास भए । यसमा जोडिएका थिए, रोहित, प्रज्वलन र सुवास । त्यही क्रममा एउटा एल्बम पनि निस्कियो, हजार सपना । यद्यपि ब्यान्डले सुरुवाती क्रेज कायम राख्न सकेन ।

१९७४ एडीको युग

१९७४ एडी । अर्थात नाम नै काफी । यो नाम लिएपछि जो-कोहीले भाका हाल्न थाल्छन्, ‘परेलीमा लुकाइ राख न ।’ ‘चौबन्दी चोली र फूलबुट्टे साडीमा’, ‘गुराँसै फूल्यो बनैमा ।’

मुखले थपक्कै टिप्ने र हृदयको झंकार बजाइदिने यस्ता गीत, जसले १९७४ एडीलाई खास बनाएको छ  । एउटा यस्तो समय थियो, जतिबेला क्यासेट प्लेयरदेखि कन्सर्टसम्म १९७४ एडीको अविछिन्न गुञ्जन सुनिन्थ्यो । कन्सर्टमा ६० हजार बढी दर्शक खचाखच हुन्थे, क्यासेट हाताहात बिक्री हुन्थे । त्यो १९७४ एडीकै युग थियो ।

सुरुवाती चरणमा उनीहरुलाई लागेको थिएन, कुनैबेला आफ्नो सांगीतिक समूह यति विधी चर्चित होलान् । त्यो किशोरवयको बेला थियो । विद्यार्थी जीवन । एउटै विद्यालयमा पढ्थे । विद्यालयकै दौतरीबीच सांगीतिक लय समातेका थिए, उनीहरुले ।

निराकार याक्थुम्बा फिरोज स्याङ्देनसँग गिटार सिकिरहेका थिए । यही क्रममा उनीहरुले सांगीतिक समूह गठन गरे । उक्त समूहको पहिलो एल्बम पनि निस्कियो, टाइम आउट ।

यस एल्बमपछि अर्का गायक एड्रियन प्रधानपनि ब्यान्डमा जोडिए । मनोज केसी जोडिए । ब्यान्ड अरु शक्तिशाली भयो । यही जुझारु र सिर्जनशिल युवाहरुले अर्को एल्बम निकाले, सम्झी बस्छु । व्यान्ड स्थापनाको पूवार्द्धमै हिट भयो । त्यसपछिका दिनमा भने यो ब्यान्डले अविछिन्न दुई दशकसम्म श्रोतालाई आफ्नो कब्जामा राखिरहे ।

घुम्दै फिर्दै रुम्जाटार

यतिबेला भने उनीहरु पुराना तुष छाडेर एकै थलोमा उभिएका छन् । आ-आफ्नै मेलोमेसो मिलाइरहँदा उनीहरुले के ठाने भने एकढिक्का भएरै अरु सशक्त रुपले अगाडि बढ्न सकिन्छ । अन्ततः उनीहरुले त्यही बाटो रोजे, जुन अढाईं दशकअघि रोजेका थिए ।

लामो विश्रामपछि उनीहरु एकजुट भएका रहेछन् । र, यतिबेला नयाँ एल्बम र कन्र्सटको तयारीमा जुटेका रहेछन् । हालैको एक साँझ व्यान्डका पाँच जना सदस्य निराकार याक्थुम्बा, एड्रियन प्रधान, फिरोज स्याङदेन, सन्जय श्रेष्ठ, मनोज केसी झम्सिखेलको एक रेष्टुरेन्टमा भेटिए ।

ब्यान्डका सदस्य निराकार याक्थुम्बा भन्दै थिए, ‘अब हामी फेरि पुरानै जोश र जाँगर लिएर एकजुट भएका छौं ।’

खासमा उनीहरुलाई एकढिक्का बनाउने काम भने फिल्म ‘म्यान फ्रम द काठमाडौं’ले पनि गरेको रहेछ । उक्त गीतमा ‘१९७४ एडी’ कै गीत समावेश हुने कुरा थियो । त्यही फिल्मका लागि गीत तयार गर्ने क्रममा ब्यान्डका सदस्यहरु एकै थलोमा उभिन आइपुगे । उनीहरुले पुरानो मनमुटाव भुलेर फेरि एक भए ।

र्फकदै लयमा

लामो समयको अन्तरालपछि भने व्यान्डका सदस्यहरु फेरि एकमुष्ठ भएका छन् । निराकार याक्थुम्बा, एड्रियन प्रधान, फिरोज स्याङदेन, सन्जय श्रेष्ठ, मनोज केसी पुन आफ्नो सांगीतिक लयमा र्फकदैछ । हार्ड रक र आधुनिक गीतलाई चिरेर लोक-पप धुन पस्कदै आएको यो ब्यान्ड यतिबेला नयाँ सांगीतिक कार्यक्रमको तयारीमा छ । ‘विगतमा भन्दा बढी शसक्त भएर आउँदैछौं’ ब्यान्डका सदस्य निराकार याक्थुम्बा भन्छन्, ‘हामी अरु माझिएर र खारिएर आएका छौं ।’ आफ्नो ब्यान्डका गीतहरु सर्वकालिन भएकाले हिजोको पुस्ता मात्र होइन, आजको पुस्ता समेत त्यसमै रमाउने उनको भनाई छ ।

टुर्बोगको प्रायोजनमा दि आर्बिट्ररी ग्रुपसँग ठमेलस्थित एलओडीमा ब्यान्डले भव्य कन्सर्ट दिदैछ, जहाँ एड्रियन र फिरोजले स्टेज शेयर गर्नेछन् । यसको साइत जुराइएको छ, सेप्टेम्बर २१ को साँझ । त्यसपछि भने यो सांगीतिक समूह देशका विभिन्न स्थानको फन्को लगाउनेछ । एलओडीको कन्सर्ट लगत्तै २६ अक्टोबरमा चितवनमा कन्सर्ट हुनेछ, २७ अक्टोबरमा बुटवलमा र २९ अक्टोबरमा पोखरामा कन्सर्ट हुने तय भएको छ । त्यसपछि काठमाडौं फर्किएर नोभेम्बर ९ मा ब्यान्डले किर्तिपुरको किक्रेट मैदानमा भव्य कन्सर्ट दिनेछ । यसबीचमा ब्यान्डले नयाँ सांगीतिक कोसेली समेत पस्कनेछ ।

देश-विदेशमा अनगिन्ती कन्सर्ट गरेको यस ब्यान्डले सन् १९९६ मा पहिलो एल्बम ‘टाइम आउट’ पेश गरेको थियो । त्यसपछि सम्झी बस्छु, शताब्दी, जंगी निशान, पिंजडाको सुँगा, अन एयर, हजार सपना लगायत एल्बम सार्वजनिक गरिसकेको छ । यो ब्याण्डले नयाँ गीतकासाथै पुरानो जादु फेरि ल्याउने छ भन्नेमा दर्शक बिश्वस्थ छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment