
१ असोज, हेटौंडा । प्रदेश ३ सरकारले संविधान दिवसलाई तीन दिनसम्म कार्यक्रम गरेर भव्य रुपमा मनाउने भएको छ । मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले २, ३ र ४ असोजमा गर्ने कार्यक्रमको खाका बनाएको छ ।
बिहीबार २ असोजमा नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम राखिएको छ भने ३ गते बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाइँ गर्ने कार्यक्रम तय गरिएको छ ।
मठमन्दिर, गुम्बा र चर्चमा शहीदको आत्माको चीर शान्तिका लागि पूजापाठ गरिनेछ । विहान ७ बजे सीमा चोकबाट सुरु भएको परेडसहितको र्याली मकवानपुर बहुमुखी क्याम्पसको मञ्चमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।
४ असोजमा सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान जस्ता कार्यक्रमहरु राखिएको छ । तीनै दिन सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संस्थाहरुमा दीपावली अनिवार्य गरिएको छ भने सर्वसाधारणलाई पनि घरघरमा दीपावली गर्न समितिले आह्वान गरेको छ ।
स्थानीय तहलाई सर्कुलर
प्रदेश सरकारले जनताले अपनत्व लिने गरी संविधान दिवस मनाउन सबै स्थानीय तहमा सर्कुलर गरेको छ ।
अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष भव्य रुपमा संविधान दिवस मनाउन आह्वान गरिएको प्रदेश ३ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिए ।
प्रतिक्रिया 4