Comments Add Comment

अष्ट्रेलियासँग हवाई सम्झौता गर्ने नेपालको तयारी

३१ भदौ, काठमाडौं । सरकारले अष्ट्रेलियासँग हवाई सेवा सम्झौताको तयारी गरेको छ । आगामी साता क्यानाडामा सुरु हुने अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४० औं सम्मेलनका दौरान नेपाल र अष्ट्रेलियाबीच यससम्बन्धी द्धिपक्षीय छलफल हुँदैछ ।

छलफलमा सहमति जुटे सोही अवसरमा सम्झौता हुने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दियो । २४ सेप्टेम्बरदेखि ४ अक्टोवरसम्म चल्ने यो सम्मेलनमा भाग लिन नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको नेतृत्वमा एक टोली ५ असोजमा क्यानडा प्रस्थान गर्दैछ ।

आइकाओको यस्तो सम्मेलन हरेक ३ वर्षमा कम्तीमा एकपटक आयोजना हुने गर्छ । आइकाओका १ सय ९३ सदस्य राष्ट्रको प्रतिनिधित्व हुने सम्मेलनले आगामी तीन वर्षका लागि विश्वव्यापी नीतिहरु तय गर्ने काम गर्छ ।

नेपालले अहिलेसम्म ३९ मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । नेपाल वायुसेवा निगमले वाइडबडी जहाज ल्याएर उडानको सूचिमा अष्ट्रेलियालाई राखेको भए पनि हवाई सेवा सम्झौता नभएका कारण प्रक्रिया नै सुरु गर्न पाएको छैन । अष्ट्रेलियासँग लामो समयदेखि सम्झौतासम्बन्धी छलफल चलिरहेको छ ।

स्रोतका अनुसार क्यानडामा हुने छलफलमा सहमति जुटे अष्ट्रेलिया नेपालले हवाई सेवा सम्झौता गर्ने ४० औं मुलुक हुनेछ । अष्ट्रेलियाले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकसम्म उडान गर्न खोजिरहेको छ । विगतमा पर्याप्त विमानस्थल पूर्वाधार नहुँदा नेपालले उक्त शर्त मान्न सकेको थिएन । भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अन्तिम चरणमा रहेकाले नेपालले अष्ट्रेलियाको शर्त मान्न सक्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment