Comments Add Comment

रेसेपी : आटाको रंगीन मम, स्वादिलो र स्वास्थ्यकर

मम कस्तो बनाउने ? यो तपाईंको हातको कला पनि हो । अर्थात ममलाई जस्तो शैलीमा, स्वादमा र रंगमा तयार गर्न सक्नुहुन्छ । यसका लागि तपाईंसँग जाँगर भए पुग्छ ।

भनिरहनुपर्दैन, मम सबैलाई मनपर्ने परिकार हो । अहिले हाम्रो दैनिक खान्कीमा मम पनि जोडिएको छ । खाजा एवं नास्तको रुपमा त मम नै प्रिय परिकार हो । भनाई नै छ, हामीहरु रेष्टुरेन्टको मेनुमा जतिसुकै घोत्लिएपनि अन्त्यमा अर्डर गर्ने त मम नै हो । यसबाट पनि बुझिन्छ कि, हाम्रो जिब्रो मम भनेपछि कति हुरुक्कै हुन्छ ।

हो त, मम स्वादिलो परिकार हो । यसलाई स्वस्थ्यकर बनाउन सकिन्छ । स्वादिलो पनि स्वस्थ्यकर पनि भएपछि अरु के चाहियो ?

तपाईंले घरमा मम बनाउन सक्नुहुन्छ, यदि स्वस्थ्यकर मम खाने इच्छा गर्नुहुन्छ भने । मम बनाउन त्यती धेरै गाह्रो पनि छैन । तर एउटा कुरा ख्याल गर्नुहोस् है, ममको डल्ला मैदाको होइन आटाको हुनुपर्छ । मैदाको मम खानसाथ तपाईंको पेट ढुस्स फुल्छ । मुखमा अमिलो डकार आउँछ । किनभने मैदाले पेटलाई खराब गर्छ । पाचन प्रक्रियामा गडबडी ल्याउँछ । त्यसैले मैदाको ठाउँमा आटा प्रयोग गरौं ।

अँ त, आटाको मम । त्यो पनि रंगीन । तर, रंगीन भन्दैमा यसमा कृतिम रंग भने मिसाइने छैन । प्राकृतिक रंग अर्थात सागसब्जीकै रंग मिसाउन सकिन्छ । यसरी प्राकृतिक रंगबाट तयार गरिएको मम हेर्दा आकर्षक देखिन्छ । अर्थात यस्तो ममले तपाईंको आँखामा पनि भोक जाइदिन्छ । अझ महत्वपूर्ण कुरा त के भने तपाईंका बालबच्चाले पनि मम रुचाउन सक्छन् ।

अक्सर बालबालिका घरमा बनाएको खानेकुरमा त्यती रुची राख्दैनन् । यद्यपि उनीहरुलाई खाउँ-खाउँ लाग्ने परिकार बनाइदिनुपर्छ, रमाएर खाइदिन्छन् । खानेकुरालाई आकर्षक, लोभलाग्दो बनाउने पनि कला हो । हेर्दै रहरलाग्दो खानेकुरा खान कति स्वाद हुन्छ ? मन पनि तृप्त हुने, आँखा पनि ।

अब लागौं मम बनाउने विधीतर्फ । यसका लागि सबैभन्दा पहिले सामाग्री जुटाउनुपर्नेछ ।

आवश्यक सामाग्री

१. आटा

२. किमाका लागि इस्कुस, च्याउ र मस्यौरा (न्युटला)

३. स्वादका लागि प्याज, नुन, तेल र थोरै अजिनामोटो

४. रंगको लागि चुकन्दर, गाँजर र पालुङ्गो

५. अचारको लागि गोलभेडा, नुन, खुर्सानी र हरियो धनिया

बनाउने विधी

किमा बनाउने

सबैभन्दा पहिले किमा तयार गर्नुपर्छ । यसका लागि राम्ररी सफा गरेर च्याउलाई मसिनो टुक्रा गर्ने, इस्कुस ताछेर त्यसलाई कोरेसोमा कोर्ने । इस्कुसको पानी निस्कने भएकाले राम्ररी पानी निचोर्नुपर्छ । अब पानीमा भिजाएर राखेको मस्यौरालाई स-सना केस्रा वा टुक्रा बनाएर एउटा भाडामा राख्ने । मस्यौरा, इस्कुस र च्याउ राम्ररी मिसाउने । यसमा पानीको मात्रा हुने भएकाले एकपटक निचोरेर पानी फ्याक्ने । आवश्यक्ता अनुसार नुन राख्ने, अजिनामोटो राख्ने । अब त्यसमा थोरै तेल तताएर मिसाइदिने ।

आटामा रंग मिसाउने

मुछेको आटालाई रंगिन बनाउनका लागि चुकन्दर, गाँजर र पालुङ्गोको छुटाछुटै रस तयार गर्ने । यी सबैलाई छुटाछुटै मिक्चरमा पिसेर रस निकाल्न सकिन्छ ।

अब आटालाई तीन भागमा लगाउने । तीन भागमा फरक-फरक रंग मिसाइदिने । आटा हरियो, सुन्तले र रातो रंगको हुन्छ । यसरी तयार भएको आटालाई स-सना डल्ला बनाएर रोटी बनाउने । त्यसमा किमा राखेर भिन्न भिन्नै आकारमा तयार गर्ने । यसरी तयार भएको ममलाई स्टिम गर्ने ।

अचारका लागि

अचारका लागि गोलभेडा उसिन्ने । त्यसमा नुन, खुर्सानी, हरियो धनिया मिसाएर मिक्सरमा पिस्ने ।

यसरी तयार भएको ममलाई तात्तातो सेवन गर्दा बढी स्वादिलो हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment