Comments Add Comment

प्रदेश २ को प्रदेशसभा आज पनि अवरुद्ध

सभामुखले रुलिङ गरे पनि सरकारले जवाफ दिएन

Photo Credit : फाइल तस्वीर

२७ भदौ, जनकपुरधाम । सांसद विकास कोष र प्रदेश सरकारले कार्यान्वयन गरेका योजनाको भुक्तानी नदिएको विरोधमा शुक्रबार सांसदहरुले प्रदेश २ को प्रदेशसभा अवरुद्ध गरेका छन् ।

योजना सम्पन्न भइसकेको लामो समय भइसक्दा पनि भुक्तानी नदिएको भन्दै उनीहरुले शुक्रबार दोस्रो पटक संसद अवरुद्ध गरेका हुन् । संसद अवरुद्ध गर्नेमा सत्तारुढ र विपक्षी दुबैथरी दल रहेका छन् ।

यसअघि भदौ २२ गतेको प्रदेशसभा बैठक पनि रकम निकासा नभएको भन्दै अवरुद्व गरेका थिए । शुक्रबार दिउँसो २ बजे बोलाइएको प्रदेशसभा बैठक पनि सांसदहरुले सुरुमै अवरुद्ध गरे । सभामुख सरोजकुमार यादवले रकम निकासाबारे शुक्रबारको बैठकमा जवाफ दिन सरकारलाई रुलिङ गरेपछि सांसदहरुले केहीबेर बैठक चल्न दिएका थिए ।

तर सरकारले आजै जवाफ नदिएपछि सांसदहरुले पुनः बैठक अवरुद्व गरेका हुन् । विपक्षी दल नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारले सम्पन्न भइसकेका योजनाको निकासा दिन नमानेको र सभामुखको रुलिङको समेत अवज्ञा गरेको कारण बैठक अवरुद्व गर्ने घोषणा गरेका थिए । उनको घोषणासँगै प्रतिपक्षी नेकपा र कांग्रेसका सांसद तथा सत्तारुढ राजपाका समेत केही सांसदले उठेर बैठक अवरुद्व गरेका थिए ।

आगामी २९ गते बोलाइएको छ । सभामुख सरोजकुमार यादवले रकम निकासा गर्न नसकेको सन्दर्भमा जवाफ दिन रुलिङ गरेका छन् । समयमै योजना सम्पन्न गरी कागजात पेश गर्दा समेत निकासा नदिएको सांसदहरुको भनाइ छ ।

‘संसदीय कोषका साथै प्रदेशबाट गएका योजनाहरु समयमै पूरा भए पनि सरकारले निकासा गर्न आलटाल गरिरहेको छ’ सत्तारुढ राजपाका सांसद विदेश्वर यादव ‘विक्की’ ले भने, ‘जसले कमिसन दिए, उसले उहिल्यै निकासा पाइसकेका छन् । कमिसन नदिएकाहरुले हालसम्म पाउन सकेका छैनन् ।’

सांसद यादवले आफूहरुले वैशाखमै काम गरेर बुझाए पनि निकासा पाउन नसकेको बताए । तर, असारको अन्तिम समयमा काम सकेर कागजात पेश गर्नेहरुले साउनको १ गते नै निकासा पाइसकेको सुनाए । ‘यसको प्रमुख कारण नै कमिसन हो’ उनले भने, ‘हामीले कमिसन नदिएकै कारण निकासा गर्न ढिलाइ गराइएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment