Comments Add Comment

कांग्रेसको ज्ञापनपत्र बुझ्दै गृहमन्त्रीले भने- नहुनु पर्ने घटना भयो, दोषीलाई कारबाही हुन्छ

२८ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बाँकेमा कांग्रेस जिल्ला सभापति किरण कोइरालामाथि आक्रमण गर्नेहरुलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका सभापतिले शनिबार बिहान सिंहदरबारमा दिएको ज्ञापनपत्र बुझ्दै मन्त्री थापाले घटनाका दोषीलाई कारबाही प्रक्रिया अगाडि बढाउने बताएका हुन् । ‘नहुनु पर्ने घटना भएको छ, दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ’, गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले घटनामा दोषी देखिएका जो कोहीलाई पनि कानूनी कारबाही हुने बताए । घटनामा दोषी देखिएका केही व्यक्तिलाई नियन्त्रणमा लिइसकेको र बाँकीलाई पनि चाँडो नियन्त्रणमा लिएर कारबाही गर्ने उनको भनाइ थियो ।

नेपाली कांग्रेसले शुरु गरेको दोस्रो चरणको जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरमा भएको आक्रमणमा बाँके जिल्ला सभापति किरण कोइराला, महाधिवेशन प्रतिनिधि विद्याप्रसाद खनाललगायत एक दर्जन नेता तथा कार्यकर्ता घाइते भएका थिए । कोइरालाको हात भाँचिएपछि उनका छोराले बाँकेको खजुरा गाउँपालिका १ का वडाअध्यक्ष सुमन मल्ललगायतविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरुविरुद्ध ज्यान मार्ने उद्योग गरेको परिवारको आरोप छ ।

यो पनि पढ्नुहोस वडाअध्यक्षविरुद्ध ज्यान मार्ने उद्योगमा उजुरी, ३ जना पक्राउ

गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने कार्यक्रममा कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँले कांग्रेसको जागरण अभियान सञ्चालनका क्रममा कार्यक्रम चलिरहेको बेलामा पार्टी जिल्ला सभापतिसहितलाई हातपात गर्नु निन्दनीय कार्य भएको बताए ।

कांग्रेस ललितपुरका सभापति मदन अमात्यले नेपाली कांग्रेसको कार्यक्रम बिथोल्ने मनसायका साथ उक्त घटना घटाइएको भन्दै घटनाको दोषीलाई तत्काल कारवाही गर्नुपर्ने बताए । यति ठूलो घटना हुँदा पनि गृह प्रशासन संवेदनशील नभएको उनको आरोप थियो ।

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले कांग्रेसले सञ्चालन गरेको जागरण अभियानबाट आत्तिएर सत्तापक्षको प्रत्यक्ष निर्देशनमा आक्रमण गरिएको आरोप लगाए ।

यो घटनालाई लिएर कांग्रेसले विरोध प्रदर्शनका कार्यक्रमसमेत घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment