Comments Add Comment

गुल्मीको ट्री–हाउसले पर्यटक तान्दै

३० भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका–७ को उनाएचौर आन्तरिक पर्यटकको गन्तव्य स्थल बन्दै गएको छ । पार्कसहित ट्री–हाउस बनेपछि उनाएचौर घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको स्थानीयले बताएका छन् ।

उनाएचौरमा निर्माण भएको ट्री–हाउस चढेर तम्घास बजारसँगै बिभिन्न स्थानका दृश्यावलोकन गर्न सकिने भएपछि आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको कार्यपालीक सदस्य रघुनाथ पन्थीले बताए ।

सल्लोको रुखमा मचान शैलीमा निर्माण गरिएको ट्री–हाउसले पर्यटकलाई आकर्षित गर्ने गरेको उनको भनाइ छ । ट्री–हाउस सञ्चालनमा आएको एक महिनाभित्रमा अन्य जिल्लाबाट समेत आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको उनले बताए । एक महिनाको अवधिमा १५ हजार पर्यटकले उनयचौर पर्यटकीय स्थलको अवलोकन भ्रमण गरिसकेको उनले बताए ।

जिल्ला सदरमुकाम तम्घासबाट झण्डै ६ किलोमिटर टाढाको दुरीमा रहेको उनयचौर धार्मिक महत्वको ठाउँ समेत भएकाल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पार्क र ट्री–हाउस निर्माण गरिएको उनले बताए ।

सल्लोको रुखमा फलामको भ¥याङ राखेर ४२ फिट अग्लो रुखमा बनाइएको घरबाट तम्घास बजारसँगै छिमेकी जिल्लाका बिभिन्न स्थलहरु हेर्न सकिने भएकाले उनाएचौर अहिले पर्यटकको रोजाइमा पर्न पुगेको छ ।

धेरै वर्ष पहिले उनाएचौरमा विमानस्थल निर्माणको लागि सम्भाव्यता अध्ययन गरिएको थियो । तर, प्राविधिक समस्या देखिएपछि अहिले विमानस्थल सिमीचौरमा निर्माण भइरहेको छ ।
विमानस्थल अन्तै बन्ने भएपछि निराश बनेका स्थानीय ट्री–हाउस, खेल मैदान र पर्यटकीय पार्क बनेपछि उत्साहित भएका छन् ।

हाल दैनिक १ सय जनासम्म ट्रिहाउस अवलोकन गर्नको निम्ति पुग्ने गरेका छन् । ट्री–हाउस अवलोकनको निम्ति प्रतिव्यक्ति २० रुपैयाँ लिने गरिएको छ । त्यस स्थलको संरक्षण गर्नको निम्ति शुल्क लिने गरिएको समितिले जनाएको छ ।

वृद्धहरुको निम्ति निशुल्क र विद्यार्थीहरुलाई १० रुपैयाँ लिएर अवलोकन गर्न पाउने व्यवस्था मिलाइएको छ ।

पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न नयाँ खालका संरचना निर्माण भएकाले आन्तरिक पर्यटकहरु घुम्न आउने गरेको स्थानीय तेजबहादुर पुनले बताए ।

पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि भौतिक पूर्वधार तयार पार्न लागि परेको वडा ७ का अध्यक्ष मोहनप्रसाद पाण्डेले बताए ।

प्रदेश–५ को वन मन्त्रालयको आर्थिक सहयोगमा पार्कसहित ट्री–हाउस निर्माण भएको पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment