Comments Add Comment

बाँके आक्रमणको विरोधमा कांग्रेस पर्साको विरोध

३० भदौ, वीरगञ्ज । नेपाली कांग्रेस पर्साले बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा भएको आक्रमणको विरोधमा वीरगञ्जमा प्रदर्शन गरेको छ ।

दोषीलाई कारबाहीको माग गर्दै कांग्रेस पर्साले वीरगञ्जको घण्टाघरमा मानव साङ्ग्लो बनाएर सोमबार केहीबेर चक्का जाम गर्दै प्रदर्शन गरेको थियो ।

कांग्रेस पर्साले घटनाको भत्र्सना गर्दै दोषीलाई कारबाही गर्नु पर्ने मागसहित प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएको छ ।

बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुले विरोधका कार्यक्रम गर्न पाउने कानुनी व्यवस्थाको खिल्ली उडाउँदै खजुराको कार्यक्रममा आक्रमण भएको कांग्रेस पर्साको ठहर छ । अराजक प्रवृत्ति नदोहोरियोस र दोषीहरुलाई कारबाही होस भन्ने मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाईएको नेपाली काँग्रेस पर्साका सभापति अजय द्विवेदीले जानकारी दिए । ‘बहुदलीय व्यवस्थामा राजनीतिक दलहरुले कार्यक्रम गर्न पाउने कानुनी व्यवस्था छ । तर त्यसमा आक्रमण भएको छ,’ उनले भने, ‘यस्तो घटना भविष्यमा नदोहोरिन त्यस्ता अराजक व्यक्तिलाई कारबाही गरिनुपर्छ, त्यसैले ज्ञापनपत्र मार्फत कारबाहीका लागि दबाव दिएका हौं ।’

२६ भदौमा बाँकेको खजुरा गाउँपालिका– १ स्थित रेडक्रम सोसाइटीको सभाहलमा कार्यक्रम चलिरहँदा नेकपाका कार्यकर्ताको आक्रमणबाट जिल्ला सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने अन्य केही नेता कार्यकर्ता घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment