Comments Add Comment

पूर्वी चितवनको खैरहनीमा शीत भण्डार निर्माण हुने

३१ भदौ, चितवन । तरकारी तथा कृषि उत्पादनको पकेट क्षेत्र मानिने पूर्वी चितवनको खैरहनीमा शीत भण्डार स्थापना हुने भएको छ ।

खैरहनी नगरपालिका-९ सुर्तनीमा बनाइने शीत भण्डारीको प्रदेश-३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले मंगलबार एक कार्यक्रम गरी शिलान्यास गरे ।

प्रदेश सरकार, खैरहनी नगरपालिका र नगरभित्र रहेका सहकारीको संयुक्त लगानीमा शीत भण्डार निर्माण गर्न लागिएको हो ।

कुल १३ करोड रुपैयाँको लगानीमा निर्माण गरिने शीत भण्डार आगामी असारसम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माणको जिम्मा इजी इन्फा प्रालिले पाएको छ ।

शीत भण्डारका लागि चालू आर्थिक वर्षमा खैरहनी नगरपालिकाले एक करोड ५० लाख रुपैयाँ विनियोजन गरिसकेको छ । प्रदेश सरकारको ७० प्रतिशत र खैरहनी नगरपालिका तथा नगर भित्र रहेका सहकारीको ३० प्रतिशत लगानी यसमा रहने छ । मासुसहित तरकारी तथा फलफूल राख्न मिल्ने बहुउद्धेश्यीय शीत भण्डार बनाइने नगरपालिकाका मेयर लालमणि चौधरीले जानकारी दिए ।

शिलान्यास कार्यक्रममा बोल्दै कृषि मन्त्री लामाले प्रदेशको प्रत्येक जिल्लामा शीत भण्डार निर्माण गर्ने योजना अनुसार चितवनको खैरहनीमा बनाउन लागिएको बताए ।

कृषिलाई व्यवसायीकरण गराउन शीत भण्डार कोसेढुंगा साबित हुने विश्वास मन्त्री लामाले व्यक्त गरे । शीत भण्डारमा कृषि उपज राखे वापत किसानले केही शुल्क तिर्नु पर्ने र त्यहाँबाट भएको आम्दानी किसानले पाउने मन्त्री लामाको दाबी छ । मन्त्री लामाले समयमै गुणस्तरीय काम गर्न गर्न निर्माण कम्पनीलाई निर्देशनसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment