Comments Add Comment

सरकारले कानुनी सर्वोच्चता कायम गर्न सकेन : सांसद अधिकारी

१ असोज, काठमाडौं । नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले कानुनको सर्वोच्चता कायम हुन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।

राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसद अधिकारीले बाँके घटनाको जाहेरी दर्ता नगरेर संसद नै अवरुद्ध गर्नुपर्ने अवस्था सिर्जना हुनुले कानुनको सर्वोच्चता स्वीकार नगरेको स्थिति देखिएको भन्दैसरकारको गम्भीर ध्यानाकर्षण गराए ।

संसदीय समितिले सरकारलाई काम गर्न नदिएको भन्ने प्रधानमन्त्रीको भनाई उधृत गर्दै प्रतिनिधिसभाका सभामुखले संसदीय समितिले सरकारलाई नियन्त्रण गर्न पाउदैन भन्ने अभिव्यक्ति दिनु संसदीय सर्वोच्चता विपरीत भएको दाबी सांसद अधिकारीले गरे ।

उनले शक्ति सन्तुलन र शक्ति पृथकीकरणको सिद्धान्त सरकारबाट नै पालना नहुँदा संविधानमाथि प्रश्न उठाउनेहरुले स्थान पाउने भन्दै त्यसतर्फ गम्भीर बन्न आग्रह गरे ।

संविधान दिवस भव्यताका साथ मनाउने तयारी गरिरहँदा सरकारले संघीयताको मर्म अनुसार संविधान कार्यान्वयन गर्न नसकेको टिप्पणी पनि सांसद अधिकारीले गरे । उनले राजनीतिक नेतृत्वले आफ्नो कुशलता प्रदर्शन गर्न नसक्दा नेतृत्वमाथि आक्रमण हुने क्रम बढेको र त्यो सामाजिक सञ्जालमा विस्तार हुदै जाँदा अन्तत संविधानमाथि नै प्रतिकुल असर पर्ने भएकाले त्यस तर्फ गम्भीर बन्न आग्रह गरे ।

नेकपाका सांसद रामनारायण विडारीले संसदमा कानुनी शासन कायम हुन नसकेको भन्दै सभाअध्यक्षको ध्यानाकर्षण गराए । राष्ट्रियसभाको नियमावलीको नियम १५ को उपनियम २ मा सदनको शुन्य समयमा बोलेको र विशेष समयमा बोलेको कुरामा ५ दिन भित्र सदनमा उपस्थित भई मन्त्रीहरुले जवाफ दिनुपर्ने व्यवस्था गरिएको स्मरण गराउदै उनले ती व्यवस्थाको कार्यान्वयन हुन नसकेकोमा अध्यक्षको ध्यानाकर्षण गराए ।

उनले चाडवाड सुरु भएपछि हुने बजार अनुगमन, अनुगमनका नाममा सरोकारित निकायसंग हुने मिलेमतो, बजार मुल्य सडकको दुराअवस्था लगायतमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment