Comments Add Comment

कार्यदलले सुझायो नेपाल एयरलाइन्स सुधार्ने सूत्र

निगमको अभिभावकत्व सरकारले लिनुपर्छ : प्रतिवेदन

Photo Credit : रासस

१ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भएलगतै योगेश भट्टराईले घोषणा गरिदिए, ‘नेपाल एयरलाइन्सलाई वाह ! भन्ने बनाउँछु ।’ उनको यो घोषणा जति प्रिय थियो, त्यति नै कठिन पनि । किनकी राष्ट्रिय ध्वजाबाहक विमान कम्पनी अहिले समस्यै समस्याको चाङमा छ ।

पर्यटनमन्त्री भट्टराईले बनाएको कार्यदलले पनि नेपाल वायुसेवा निगममा समस्यै समस्या रहेको औल्याएको छ, र भनेको छ, राज्यले अभिभावकत्व दिनुपर्छ ।’

‘वायुसेवा कम्पनीको नाफा त्यसै पनि प्रतिशत कम हुन्छ, तर विदेशी यात्रु बोकेपछि उनीहरुबाट हुने खर्चले राज्यलाई फाइदा हुने भएकाले राष्ट्रिय ध्वजाबाहकको संरक्षण राज्यबाटै हुनुपर्छ,’ समितिले बुधबार बुझाएको प्रतिवेदनमा भनिएको छ ।

वायुसेवा निगमको अहिलेको व्यवस्थापकमा सन्तोष गर्ने ठाउँ रहेको भन्दै कार्यदलले तत्काल व्यवस्थापकीय सुधार नगरे राज्यले धेरै दायित्व बहन गर्नुपर्ने हुनसक्नेतर्फ सचेत गराएको छ ।

प्रतिवेदनअनुसार वायुसेवा निगमले उडाइरहेका जहाजमध्ये वाइडबडी एयरबस ३३०–२०० जहाजको सही उपयोग गर्न सकेको छैन भने आन्तरिक उडानको अवस्था पनि नाजुक छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि उपलब्ध ४ जहाजहरुको सरदर उडान क्षमता १५/१६ घण्टा हो । तर दैनिक सरदर ८–११ घण्टा मात्र उड्ने गर्दा नेपाल एयरलाइन्सले मुनाफा कमाउन नसकेको अध्ययन समितिको निष्कर्ष छ ।

वायुसेवा निगमसँग प्रयोग नभई थन्किएको जिन्सी सामान मात्र करीव १ अर्ब ८१ करोड ४४ लाख रुपैयाँ बराबरको छ । यसलाई बिक्री गरेर वित्तीय दायित्व घटाउन सकिने सम्भावनामा निगमको नेतृत्वले ध्यान दिइएको छैन ।

मूख्य समस्या र समाधान सूत्र

नेपाल वायुसेवा निगम सुधार सुझाव कार्यदलले निगममा देखिएका समस्या पहिचान गर्नुका साथै समाधानका सुत्रहरु पनि दिएको छ । यद्यपि, कतिपय समस्याहरु उठान गरिए पनि तीनको समाधानको ठोस उपाय भने प्रतिवेदनमा पनि छैन ।

समस्या नम्बर १ : सुझाव कार्यदलले वायुसेवा निगमको ऐन कानुनमाथि नै उठाएको छ । उसका अनुसार वायुसेवा निगमका निर्देशिका र कानून समयसापेक्ष र बढ्दो अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा निगमलाई उत्कृष्ट बनाउन सक्ने खालका देखिएनन् ।

समाधान : देशको राजनीतिक, सामाजिक, आर्थिक अवस्थाका साथै निगमको समेत संस्थागत संरचना, व्यवस्थापन शैली र आवश्यकता, हवाई यातायात क्षेत्रको परिवर्तन आदि कारणले विद्यमान कानूनमा समयानुकूल परिमार्जन गर्नुपर्ने

समस्या नम्बर २ : निगमले गर्ने खरिदहरु आर्थिक विनियमावली बमोजिम भएको छैन र खरीदसम्बन्धी छुट्टै कानूनी व्यवस्था पनि रहेनछ ।

समाधान : स्थापित विधि र मापदण्ड बमोजिम वायुसेवा निगममा पनि आर्थिक व्यवस्थापन र खरीदका लागि आर्थिक प्रशासन विनियामावली र खरीद विनियमावली अलग–अलग तर्जुमा गरी लागू गर्नुपर्ने

समस्या नम्बर ३ : निगम ऐनमा व्यवस्था भएबमोजिम निगमको सम्पूर्ण अधिकारको प्रयोग र कर्तब्यको पालना संचालक समितिले गर्ने देखिन्छ । तर, ऐनको भावना बमोजिम अधिकार र कर्तब्य पालना गर्ने समितिको संरचनामा भने स्थायित्व छैन ।

समाधान : समितिमा पदाधिकारी नियुक्त गर्दा क्षमता, विशेषज्ञता र योग्यतालाई आधार मान्नुपर्ने ।

समस्या नम्बर ४  : महाप्रवन्धक र कार्यकारी अध्यक्ष नियुक्ति सधैं विवादमा हुन्छ । अध्यक्ष र सदस्य मनोनयनको स्पष्ट कार्यविधि छैन ।

समाधान : निगमको व्यवस्थापन सुधार गर्न सञ्चालक समितिको संरचना र कार्यकारी प्रमुख नियुक्तिको सम्बन्धमा स्पष्ट मापदण्ड सहितको कार्यविधि आवश्यक छ ।

समस्या नम्बर ५ : निगममा आवश्यकताभन्दा धेरै विभाग छन् । यसले कतिपय विभागको काम दोहोरिन त कुनैलाई कार्यबोझ नपुग्ने अवस्था छ । कुनै विभागमा कार्य सम्पादनका लागि स्रोत समेत नदिने गरेको पाइएको छ । अस्पष्ट जिम्मेवारी र दायित्वबोध नभएका कारण विभागहरुबीच समन्वयको पनि अभाव छ । एकलाई देखाएर अर्को विभाग जिम्मेवारीबाट पन्छिने प्रवृत्ति छ । कर्मचारीको दरवन्दी र संगठन संरचनामा तादम्यता देखिँदैन । स्थायीका साथै करार, ज्यालादारी र सेवा प्रदायकबाट काममा लगाइएका कर्मचारीको विश्लेषण गर्दा वायुसेवा निगममा आवश्यकताभन्दा धेरै कर्मचारी छन् ।

समाधान : निगमको संगठनात्मक पुनर्संरचना र कर्मचारी दरवन्दी वैज्ञानिक हिसावमा गर्नुपर्छ ।

समस्या नम्बर ६ : निगममा मानव स्रोततर्फ ठूलो पुस्तान्तर देखियो । दुई दशकसम्म कतिपय व्यवस्थापकीय पदमा पदपूर्ति नभएका कारण नेतृत्व विकास प्रक्रिया अवरुद्ध भएको छ ।

समाधान : उच्च व्यवस्थापकीय पदहरु खाली हुँदा नियमित प्रक्रियाबाट पदपूर्ति गर्ने र आफूभन्दा अघिल्लो नेतृत्वबाट नयाँ पुस्तालाई सिक्ने अवसर प्रदान गर्नुपर्छ ।

समस्या नम्बर ७ : अत्याधुनिक जहाज ल्याएपछि त्यसको मर्मत गर्नसक्ने भौतिक पूर्वाधार र जनशक्तिको तयारी हुँदैन ।

समाधानः सरकारले निगमका लागि यथाशीघ्र नयाँ ह्याङ्गर निर्माण गर्न ठोस निर्णय लिनुपर्छ ।

समस्या नम्बर ८ :  ग्राउण्ड ह्याण्डलिङ सेवा निगमको आय आर्जनको मूख्य स्रोत हो । तर निगम व्यवस्थापनले यसलाई जति प्राथमिकता दिनुपर्ने हो, त्यति दिएको देखिएन ।

समाधान : निगमले सेवामा सुधार गर्ने र सरकारले पनि ६१ वर्षको नेपालको हवाई इतिहासमा हवाई यातायातलाई शून्यबाट आजको स्थितिसम्म ल्याउन गरेको नेतृत्वदायी भूमिका र अनुभवलाई कदर गर्दै नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङको अधिकार निगमलाई दिने ।

यसका साथै कार्यदलले वायुसेवा निगमको नेतृत्वलाई लिएर केही समस्या आल्याएको छ । र, वर्तमान व्यवस्थापनबाट सुधार सम्भव नभएको ठहर समेत गरेको छ ।

समस्याहरु

  • निगमको परम्परागत व्यवसाय प्रवर्द्धन र प्रचारले सेवाग्रहीको मन जित्न ससकेको छैन । दशकौंपछि जापान उडान शुरु हुँदा पनि उत्सव मनाउँदै सफल बनाउन लागेको देखिएन ।
  • देशभर २१ स्थानमा रहेको जमिनको व्यवसायीक रुपले उपयोग गरेको छैन । यस्ता जमिनको उपयोग हुन सके निगमले ठूलो आम्दानी गर्न सक्ने सम्भावना छ ।
  • अन्तरविभाग समन्वय नहुँदा वायुसेवा निगमले वित्तीय सहयोग लिइरहेका बैंक तथा वित्तीय संस्था, कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष, पर्यटन, अर्थ मन्त्रालय र अन्य सरकारी निकायसँग सुमधुर सम्बन्ध कायम गर्न नसकेको ।
  • बजार तथा प्रवर्द्धन योजना, जनशक्ति योजना र व्यवस्थापन, उडान तयारी तथा व्यवस्थापन, वित्तीय योजना तथा व्यवस्थापनमा योजनाबद्ध कार्यशैली देखिएन ।

सुधारका उपाय

कार्यदलले वायुसेवा निगम सुधारका लागि तत्कालीन र दीर्घकालिन उपायहरु सरकारलाई सुझाएको छ । तत्कालिन काम तूरुन्त शुरु गरेर एक वर्षभित्र सम्पन्न गर्न सकिने तथा तीन महिनाभित्र शुरु गरेर क्रमशः गर्दै जाने कामहरु भनेर प्रतिवेदनमा सुझाइएको छ । जुन, मुख्यतः यस प्रकार छन् ।

वित्तीय पुनर्संरचना :

  • ऋण दिएका निकायसँग कम्तिमा ६ महिनाका लागि सम्झौता गरी ऋण भुक्तानी प्रक्रियालाई पुनर्संरचना गर्ने र ब्याजलाई पूँजिकरण गरी ऋण दायित्व बढ्ने अवस्थाबाट बच्नुपर्ने
  • वित्तीय संस्थाहरुले निगमलाई चर्को ब्याजमा ऋण दिएको र यसले पनि निगमको वित्तीय अवस्था खस्किदै एका कारण ऋणको ब्याजदर कम गर्न पहल गर्ने
  • नेपाली बैंक तथा वित्तीय संस्थाको ब्याज बढी भएकाले अब विदेशी संस्थाबाट सस्तो ब्याजमा ऋण लिई त्यसलाई जहाज खरीद प्रयोजनमा लगाउने

व्यवस्थापकीय पुनर्संरचना

अहिलेको व्यवस्थापनबाट निगम सञ्चालन हुनसक्ने अवस्था छैन । अब निगमलाई माथि उकास्न मन्त्रालयबाट तत्काल योग्य, अनुभवी र सक्षम व्यवस्थापन बनाउन व्यवस्थापकीय पुनर्संरचना गर्ने आवश्यकता देखियो । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त विमान कम्पनीसँग सहकार्य गरी व्यवस्थापन करार वा साझेदारी गर्नुपर्ने ।

संस्थागत पुनर्संरचना

वायुसेवा निगमलाई प्रचलित कानूनअनुसार पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्नुपर्छ । त्यसका लागि गृहकार्य थालिनुपर्छ ।

गन्तब्य विश्लेषण

नाफामा संचालन हुनसक्ने गन्तव्य छाडेर घाटाको गन्तव्यमा उडान गर्दा दैनिक घाटा भइरहेको छ । अब गन्तब्य छनोट गर्दा लागत आम्दानी अनुपात विश्लेषण गर्नुपर्छ ।

विमान तथा उडान व्यवस्थापन

  • वाई १२ र एमए ६० चिनियाँ जहाजको व्यवस्थापन गरी निगमलाई उपयुक्त नयाँ जहाज थप्ने
  • आन्तरिक उडानका पुराना जहाज बिक्रि गरी नयाँ जहाजबाट प्रतिस्थापन गर्ने

दीर्घकालीन सुधार

  • निगमलाई सार्वजनिक निजी साझेदारी मोडमा कम्पनीका रुपान्तरण गर्ने ।
  • नाम नेपाल वायुसेवा कम्पनी लिमिटेड राख्ने, अधिकृत पूँजी २०० अर्ब रहने गरी संस्थागत पुनसंरचना गर्नुपर्ने ।
  • कम्पनीमा सरकारको ५१ प्रतिशत शेयर रहने, विदेशी साझेदार वा नेपाली लगानीकर्ताको ३५ प्रतिशत, कर्मचारीको १.५ प्रतिशत, पर्यटन व्यवसायीको ६ प्रतिशत र सर्वसाधारण लगानीकर्तालाई ६ प्रतिशत शेयर उपलब्ध गराउने ।
  • कम्पनीको अध्यक्ष नेपाल सरकारले मनोनित गर्ने, सीइओ विदेशी साझेदारबाट राख्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment