Comments Add Comment

कुलेखानीले ‘बोनस’ दिँदा दैनिक ४० मेगावाट विजुली भारत निर्यात

१ असोज, काठमाडौं । नेपाल र भारतबीच इनर्जी बैंकिङको सैद्धान्तिक रुपमा समहत भए पनि कार्यान्वयनमा गइसकेको छैन । तर नेपाल विद्युत प्राधिकरणले केही समयदेखि निरन्तर ४० मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।

असार अन्तिम साता अविरल वर्षाका कारण देशभरको विजुलीको माग आधा कटौती भएपछि प्राधिकरणले एकै दिनमा २ सय मेगावाटसम्म विजुली भारत पठाएको थियो । त्यसयता स्थिति सामान्य रहेको हालको अवस्थामा पनि प्राधिकरणले प्रणालीमा बढी भएको विजुली भारत पठाउने गरेको हो ।

‘देशका कतिपय स्थानमा वितरण प्रणालीमा समस्या आएर लाइन काटिएको हुन सक्छ, तर प्रणालीमा विजुली नपुग्ने अवस्था भने छैन,’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘हामी अहिले यहाँ बढी भएको विजुली भारत पठाउन सक्ने अवस्थामा छौं ।’

हाल कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चलेका छन् । जसका कारण भारतमा विजुली निर्यात गर्न सकिने अवस्था बनेको हो । मकवानपुरको कुलेखानी जलासयले यो वर्ष नेपाल विद्युत प्राधिकरणलाई ‘बोनस’ विजुली दिएको छ । गत असार अन्तिम साता नै कुलेखानी जलासय भरिएपछि हाल कुलेखानीका दुईवटै आयोजनाबाट विजुली उत्पादन भइरहेको छ ।

यसबाट प्राधिकरणले वर्षातका तीन महिनामा ५ करोड ६० लाख युनिट विजुली उत्पादन गर्‍यो । विजुलीको बजार मूल्यअनुसार प्राधिकरणले हाल महिनामा ५० करोड रुपैयाँ आम्दानी कुलेखानीबाटै गरेको छ ।

अझै वर्षातको समय बाँकी नै रहेकाले प्राधिकरणले कुलेखानीको सतह घटाउन आयोजना चलाइरहेको छ । गत वर्षहरुमा जलाशय भर्न वर्षायामभरि कुलेखानी आयोजना बन्द गरेर राखिन्थ्यो । दशैंसम्म जलासय भरिएपछि मागलाई व्यवस्थापन गर्ने गरी मात्रै कुलेखानी केही घण्टाका लागि खोलिन्थ्यो । तर, यससपटक वर्षायाममै प्राधिकरणले कुलेखानीका ६० र ३२ मेगावाटका दुबै पावर प्लान्ट चलाउन पाएको छ । यसले गर्दा मागभन्दा आपूर्ति बढी भएपछि करिब ४० मेगावाट बिजुली रक्सौल–परवानीपुर प्रसारणलाइनबाट भारत निर्यात गरिएको हो ।

प्राधिकरणले हाल नेपाल–भारत विद्युत् अदानप्रदान समितिमार्फत भारतमा बिजुली पठाइरहेको छ । नेपालले दुई तरिकाले भारतबाट बिजुली आयात–निर्यात गर्छ । पहिलो ऊर्जा अदानप्रदान समितिमार्फत र दोस्रो विद्युत् ब्यापारको लागि तय भएको नोडल एजेन्सीमार्फत ।

तर, फाटफुट रुपमा मात्रै नेपालले भारतमा बिजुली पठाउँछ । भारतबाट आउने विद्युतको तुलनामा उता जाने परिमाण नगण्य छ ।

नेपालले भारतसँग सन् १९७१ मा नै पावर एक्सचेन्ज एग्रिमेन्ट अर्थात् विद्युत् आदान–प्रदान सम्झौता गरेको थियो । त्यतिबेला सुरुआतमा नेपालले भारतबाट ५ मेगावाट बिजुली नेपाल भित्र्यायो । त्यसयता विभिन्न अन्तदेशीय प्रसारणलाइनबाट यसैका आधारमा बिजुली आदान प्रदान भइरहेको छ ।

नेपालले हाल भारतसँग विद्युत् ब्यापार सम्झौता (पीटीए) पनि गरेको छ । यसअनुसार हाल ढल्केबर–मुजफ्फरपुर २२० केभीको प्रसारणलाइनबाट भारतको एनबीबीएनमार्फत नेपालले भारतबाट बिजुली किनिरहेको छ । तर, यो प्रसारणलाइनबाट भारतमा बिजुली निर्यात हुन सकेको छैन ।

यसबाहेक झण्डै एक दर्जन साना–ठूला प्रसारणलाइनबाट नेपालले नेपाल–भारत विद्युत् आदान–प्रदान समितिमार्फत बिजुली आयात–निर्यात गर्छ । नेपालले निकै लामो समयदेखि भारतमा थोरै मात्रामा बिजुली पठाउने गरेको छ ।

विशेषगरी वर्षाको समयमा बढी हुने र रातको समयमा खपत नभएर खेर जाने अवस्थाको बिजुली नेपालले भारतमा बेच्ने गरिएको छ । विद्युत् आदान–प्रदान समितिमार्फत बिहार, उत्तर प्रदेश र उत्तराखण्डमा बिजुली आदान–प्रदान गरिन्छ ।

यस्तो बिजुली अदान–प्रदान गर्दा दर भने एउटै हुन्छ । हाल यो समितिमार्फत आदान प्रदान हुने विजुली प्रतियुनिट ६ रुपैयाँ १८ पैसा छ ।

हाल भारतबाट आयात भएको बिजुलीमा नेपालले निर्यात गरेको बिजुलीको युनिट घटाएर बिलिङ गरिन्छ । यसमा ढल्केबरबाट आउने बिजुलीको भने गणना हुँदैन ।

विद्युत अदानप्रदान समितिमार्फत नेपालले २९१ मेगावाटसम्म बिजुली भारतसँग लिने–दिने गरिरहेको छ । यसका लागि भारतसँग जोडिएका १३२, ३३ र ११ केभीका लाइनहरु प्रयोगमा छन् ।

सन् २००९ मा नेपालले ४ करोड ६४ लाख युनिट विद्युत बेचेर २९ करोड ५५ लाख रुपैयाँको विलिङ गरेको थियो । अर्को वर्ष सन् २०१० मा ६० करोड ४८ लाख रुपैयाँको ७ लाख ५१ हजार विद्युत् भारत पठाइयो । यस्तै, सन् २०११ मा २१ करोड ५४ लाख रुपैयाँ बराबरको ३ लाख ११ हजार युनिट बिजुली निर्यात गरिएकोमा सन् २०१२ मा एकैपटक झरेर २ करोड ४० लाख रुपैयाँमा सीमित हुनपुग्यो ।

त्यसपछि सन् २०१३ मा ३ करोड २२ लाख, सन् २०१४ मा ३ करोड ९ लाख, सन् २०१५ मा ३ करोड ९४ लाख, सन् २०१६ मा ३ करोड २१ लाख, सन् २०१७ मा ४ करोड ५८ लाखको बिजुली भारतमा निर्यात भएको थियो ।

सन् १०१८ मा भने ३ करोड २८ लाखको मात्र बिजुली भारत निर्यात भएकोमा यो वर्ष बढेर १२ करोड माथि पुगेको छ । यसरी १० वर्षयता कुल १ अर्ब ४७ करोडभन्दा बढिको बिजुली भारतमा निर्यात भएको छ ।

प्राधिकरणका अधिकारीहरु आगामी वर्षबाट नेपालले ठूलो मात्रामा बिजुली भारत पठाउन सक्ने बताउँछन् । आगामी डिसेम्बरमा माथिल्लो तामाकोसी आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेकाले त्यसो भएमा नेपालले बिजुली उत्पादनमा फड्को मार्ने दाबी प्राधिकरणको छ ।

नेपाल भारतको पावर एक्सचेन्ज बजारमा आवद्ध हुन प्रयासरत रहेको घिसिङ बताउँछन् । उनकाअनुसार यो भारतको बिजुली बेच्ने खुला अनलाइन बजार हो जहाँ, आफूलाई बढी हुने बिजुली बोलकबोलमा मुल्य बढाएर बेच्न सकिन्छ ।

यसैगरी भारतसँग इनर्जी बैंकिङ पनि यसै वर्षबाट सुरु गर्ने योजनामा प्राधिकरण छ । ढल्केबर–मुजफ्फरपुर प्रशारणलाइन अन्तरगतको निर्माणधीन ४०० केभी स्टेसनलाई आगामी डिसेम्बरसम्म सकाएर बढी भएको समयममा तामाकोशीबाट उत्पादित बिजुली भारत निर्यात गर्ने सोच सरकारको छ ।

यो प्रसारणलाइनबाट नेपालले १ हजार मेगावाटसम्म बिजुली आयात निर्यात गर्न सक्छ । हाल २५० मेगावाट मात्रै आयात भइरहेको छ । यो प्रसारणलाइनमा नेपालले भारतलाई वार्षिक १ अर्ब ८ करोड प्रशारण शुल्क तिररहेको छ । अब सोही प्रसारणलाइनबाट भारतमा एकैपटक ठूलो मात्रामा बिजुली भारत पठाउन प्राधिकरण गृहकार्यमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment