
काठमाण्डौको नयाँ बाँनेश्वरमा ‘वान सिनेमाज्’ संचालनमा आएको छ । आजैबाट संचालनमा आएको ‘आई प्लेक्स मल’को पाँचौ तलामा यो हल संचालनमा आएको हो । यो हलमा २ पर्दा छन् । पहिलो पर्दामा २ सय ८ र दोश्रो पर्दामा २ सय ३ सिट क्षमता छ ।
निर्माता प्रज्ज्वल शमशेर जवरा र उनको टिमले यो हल संचालनमा ल्याएको हो । चलचित्र क्षेत्रका कलाकारहरुको उपस्थितीमा हलको उद्घाटन गरिएको छ । शुक्रबारदेखि यो हलमा नियमित रुपमा चलचित्र रिलिज हुने बताइएको छ ।
हलका संचालक प्रज्ज्वल शमशेरले भने–‘हलको साउन्ड सिस्टम, पर्दा, आरामदायी सिट र यहाँको वातावरणले पनि दर्शकलाई चलचित्र हेर्न आकर्षित गर्छ भन्ने विश्वास लिएका छौ ।’ मल्टिप्लेक्समा विश्वमै आएका पछिल्ला प्रविधिहरुलाई प्रयोग गरिएको उनले बताए । दर्शकले टू डी र थ्री डी प्रविधिमा चलचित्र हेर्न पाउनेछन् ।
अधिकांश हलमा अगाडिको सिटमा बसेर दर्शक चलचित्र हेर्न रुची राख्दैनन् । तर, यो हलमा भने दर्शकले अगाडिको सिटमा सुतेरै चलचित्र हेर्न पाउनेछन् । नेपालमा पहिलो पटक हलमा यस्तो सुविधा राखिएको छ ।
हल उद्घाटन कार्यक्रममा नायिका स्वेता खड्का, रेखा थापा, सुष्मा कार्की, वर्षा राउत, निर्देशक दीपाश्री निरौला, कलाकार संजोग कोइराला लगायत पनि उपस्थित थिए । यस्तै, नायक धिरज मगर र नायिका जसिता गुरुङ पनि हल उद्घाटन गर्न पुगेका थिए ।
यो हल संचालनमा आएको स्थानमा केही बर्ष पहिले शिव दर्शन हल संचालनमा रहेको थियो । नायिका रेखा थापा र निर्देशक दीपाश्री निरौलाले शिवदर्शन हल हुँदाको पल संझिएका थिए ।
तस्वीर तथा भिडियोः शंकर गिरी
प्रतिक्रिया 4