१४ मंसिर, नवलपुर । पूर्वी नवलपरासी (नवलपुर)का युवा उद्यमीहरू आफ्ना उत्पादनलाई संसारसामु परिचित गराउने उद्देश्यले डिजिटल पहुँच विस्तारमा लागेका छन् । रैथाने उत्पादनको व्यापार प्रवर्द्धन गर्न उनीहरू डिजिटल पहुँच विस्तारमा लागेका हुन् ।
जिल्लामा रैथाने उत्पादनले भोगिरहेका चुनौती तथा बजार विस्तारमा आफैँले निःशुल्क कसरी काम गर्न सकिन्छ भन्ने विषयमा विजय विकास स्रोत केन्द्रले युवा उद्यमीहरूलाई प्रशिक्षण दिएर बजारसँग जोड्ने काम गरेको छ । आइतबार आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले पछिल्लो समय रैथाने उत्पादनले विस्तारै उपभोक्ताको मन जित्न थालेको बताए । रैथाने उत्पादनले बजारमा विभिन्न चुनौती भोगिरहेको भन्दै त्यस्ता चुनौतीको समाधान गर्न सके बजारको सम्भावना बलियो हुने उनले बताए ।
“स्थानीय रैथाने उत्पादनका वर्तमान समयमा चारवटा चुनौतीहरू रहेका छन्”, अध्यक्ष सापकोटाले भने, “ती चुनौतीहरू सीमित बजार पहुँच, प्याकेजिङ र मूल्य कमी, ब्रान्डिङ र प्रस्तुति अभाव तथा डिजिटल आत्मविश्वास कमी रहेका छन् ।”
रैथाने उत्पादनको औपचारिक तथा डिजिटल बजारसँग सम्बन्ध नभएको, आकर्षक प्याकेजिङ तथा वस्तुको मूल्य उद्यमी आफैँले निर्धारण गर्न नसक्ने अवस्था रहेको उनले बताए । त्यस्तै, रैथाने उत्पादनमा मौलिकता तथा गुणस्तर देखाउने सीप नभएको भन्दै अध्यक्ष सापकोटाले त्यस्ता उत्पादनमा अनलाइन सूचीकरण तथा ग्राहक संवादको अनुभव नभएको बताए ।
जिल्लामा रैथाने उत्पादनका रूपमा कोदो तथा अदुवा, बेसारका शुद्ध स्थानीय उत्पादन, बाँस एवं खरका सामग्री तथा हातेबुना कपडा, स्थानीय परिकार र सांस्कृतिक घरबास सेवा रहेको उनले बताए । नवलपुरका रैथाने खाद्य तथा मसला, परम्परागत हस्तकला तथा मौलिक परिकार र घरबास सेवाको डिजिटल बजार पहुँच विस्तार गर्न सके स्थानीय उत्पादनको प्रवर्द्धनसँगै युवा उद्यमीहरूलाई आर्थिक रूपमा बलियो बनाउन सकिने अध्यक्ष सापकोटाले बताए ।
कार्यक्रममा विजय विकास स्रोत केन्द्रका पूर्वअध्यक्ष नारायण सापकोटाले जिल्लामा रैथाने उत्पादन धेरै भए पनि उत्पादक र ग्राहकको भेट हुन नसक्दा बजारीकरणमा समस्या रहेको बताए । उत्पादक र ग्राहकको भेट गराउने काम डिजिटल माध्यम तथा सामाजिक सञ्जालबाट गर्न सकिने उनको भनाइ छ ।
“अहिले उत्पादक र उपभोक्ताको दूरी कम गराउन डिजिटल्ली अथवा सामाजिक सञ्जालको माध्यमबाट पस्किन सकिन्छ”, उनले भने, “नवलपुर उत्पादनका हिसाबले महत्त्वपूर्ण जिल्लाको रूपमा रहेको छ, यहाँ धेरै प्रकारका रैथाने बाली उत्पादन हुने भएकाले यसलाई बजारसँग जोड्न सामाजिक सञ्जालको भूमिका महत्त्वपूर्ण रहन्छ ।”
स्थानीय उत्पादन अन्य जिल्लामा बिक्रीका लागि पुर्याइने गरेको उल्लेख गर्दै सापकोटाले उत्पादक र उपभोक्ताबीच सम्बन्ध स्थापना गराउन सामाजिक सञ्जालले सघाउने बताए ।
“यहाँको उत्पादन यहाँका ग्राहकलाई थाहा छैन, अन्य माध्यमबाट बाहिर जाने गरेको छ”, उनले भने, “हामीले उत्पादक र ग्राहकलाई चिनाउन पनि सामाजिक सञ्जालको उपयोग गर्नुपर्छ, जसले उत्पादक र उपभोक्ताबीच सम्बन्ध बनेर उत्पादनको ब्रान्डिङ हुन सक्छ ।” रैथाने उत्पादनको गुणस्तर कायम हुन नसकेको भन्दै उनले गुणस्तर घट्न दिन नहुने बताए ।
सामाजिक सञ्जालमा उपलब्ध मार्केट प्लेस तथा हाम्रो बजारजस्ता सञ्जालमा जोडिएर आफ्ना उत्पादनको निःशुल्क प्रचार तथा प्रवर्द्धन गर्न सकिनेतर्फ काठमाडौँ विश्वविद्यालयका सन्तोष भट्टराईले जिल्लाका युवा उद्यमीहरूलाई प्रशिक्षण दिएका थिए । उनले सामानलाई कसरी मार्केट प्लेस, हाम्रो बजारजस्ता सामाजिक सञ्जालमा राख्न सकिन्छ र कसरी उपभोक्ता एवं सेवाग्राहीको जिज्ञासाको उत्तर दिन सकिन्छ भन्ने विषयमा समेत युवा उद्यमीहरूलाई जानकारी गराएका थिए ।
विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक दीपनारायण सापकोटाले रैथाने उत्पादनको व्यापार प्रवर्द्धन तथा डिजिटल बजार पहुँच विस्तार कार्यशालामा विभिन्न पालिका तथा समूहबाट ३० जनाभन्दा बढी युवा उद्यमी सहभागी रहेको बताए । कार्यशालामा घरबास सञ्चालक, हस्तकलाका सामान निर्माता, अचार निर्माता, झोल साबुन तथा सरफ निर्माता, घरेलु ढाका कपडा निर्मातालगायत युवा उद्यमीको सहभागिता थियो ।
प्रतिक्रिया 4