Comments Add Comment

दुई महिनामै सरकारले गर्‍याे १ अर्ब ३२ करोड रकमान्तर

३ असोज, काठमाडौं । सरकारले आर्थिक वर्षको पहिलो दुई महिनामै ठूलो परिमाणमा बजेट रकमान्तर गरेको छ । अर्थ मन्त्रालयका अनुसार, साउन र भदौ महिनामा मात्र १ अर्ब ३२ करोड रुपैयाँ रकमान्तर भएको छ ।

भदौमा मात्र १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रकमान्तर भएको मन्त्रालय स्रोतले बतायो । यो रकमान्तर आगामी मंसिरमा हुने उपनिर्वाचनको तयारी र नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि गरिएको छ ।

मन्त्रालयको विवरणअनुसार निर्वाचन आयोगले भैपरी आउने खर्चबाट २५ करोड रुपैयाँ साधारण प्रशासनका लागि रकमान्तर निकासा लिएको छ । यो रकम उपनिर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि निकासा भएको अर्थ मन्त्रालयले उल्लेख गरेको छ ।

आगामी मंसिर १५–२४ सम्म काठमाडौंमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि कूल ९५ करोड रकमान्तर निकासा भएको छ । त्यो रकममध्ये ५५ करोड रुपैयाँ राष्ट्रिय टिमको तयारी, खेल सामग्री खरीद, समारोह व्यवस्थापन, आवास व्यवस्थापनलगायतमा खर्च हुने छ । सागमा पूर्वाधार निर्माणका लागि ४० करोड रकमान्तर निकासा गरिएको छ ।

कालीमाटी–कुलेश्वर–बल्खु सडक विस्तारका क्रममा बिस्थापित भएकालाई क्षतिपूर्ति गराउने प्रयोजनमा काठमाडौं उपत्यका विकास प्राधिकरणलाई ८२ लाख रुपैयाँ रकमान्तर गरिएको छ ।

साउनमा भने प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वितरणका लागि रकमान्तर भएको थियो

व्यक्तिलाई बाँडियो १ करोड १९ लाख

सरकारले भदौ महिनामा विभिन्न व्यक्तिलाई १ करोड १९ लाख रुपैयाँ बाँडेको छ । त्यसमध्ये गुरूमा धम्मावतीको उपचारका लागि भन्दै गृह मन्त्रालयका नाममा ३ लाख ३५ हजार निकासा भएको छ ।

यसबाहेक नुवाकोटको दुप्चेश्वरमा भएको दूर्घटनाको घाइतेका उपचार, निर्मला पन्त काण्डको क्रममा घाइते भएकाको उपचारमा समेत रकम छुट्याइएको छ । झापा, सर्लाहीका करीव दुई दर्जन व्यक्तिका नाममा १ करोड रुपैयाँ हाराहारी निकासा भएको छ ।

राष्ट्रसंघ महासभामा जाँदा २ करोड २९ लाख खर्च

संयुक्त राष्ट्रसंघको ७४ औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको भ्रमण खर्चका लागि सरकारले २ करोड २९ लाख २२ हजार रुपैयाँ निकासा दिएको समेत अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment