Comments Add Comment

अराजक तत्वहरुको प्रतिवाद गर्ने बेला आयो– प्रचण्ड

‘संविधान जलाएको विषयमा छलफल भइरहेको छ’

५ असोज, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले राज्य व्यवस्थाप्रति खतरा नरहेको बताएका छन् । व्यवस्थाप्रति खतरा नरहे पनि अराजक तत्वहरुको प्रतिवाद गर्नुपर्ने बेला आएको उनले बताए ।

पछिल्लो केही दिनयता उच्छृंखल गतिविधिले व्यवस्थाप्रति नै प्रहार भएको प्रचण्डले बताउँदै आएका छन् । संविधान दिवसको अवसरमा जारी सन्देशमा पनि उनले केही अराजक तत्वले व्यवस्थाप्रति प्रहार गरेको बताएका थिए ।

तर, आइतबार विराटनगर पुगेका प्रचण्डले व्यवस्थाप्रति अहिले नै खतरा नरहेको बताए । यद्यपि, अराजक तथा उच्छृंखल तत्वको गतिविधि बढेकाले त्यसकोको प्रतिवाद गर्नुपर्ने बेला भने आइसकेको उनले बताए ।

‘अहिले नै राज्य व्यवस्थाप्रति कुनै प्रकारको खतरा छैन’, विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले भने, ‘तर जुनखालको गतिविधि देखापर्न थालेको छ, त्यसलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने समय भने आइसकेको छ ।’

उनले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकै ठाँउमा रहेको दाबी समेत गरे । अराजक गतिविधि गर्नेलाई नेपाली कांग्रेसले सघाएको आफूहरुले औपचारिकरुपमा जानकारी नपाएको बताउँदै केही व्यक्तिहरुले गर्ने कुरा बेग्लै भएको बताए ।

अध्यक्ष प्रचण्डले भष्ट्राचारविरुद्ध अहिले पार्टी र सरकार अघि बढिरहेको पनि बताए । उनले सरकारको काम र पार्टीको काम दुबैको समीक्षा भइरहेको भन्दै नयाँ शिराबाट गति दिने कुराकानी भइरहेकाले निकट भविश्यमा काम र परिणाम देखिने दाबी गरे ।

अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल पुनर्गठनबारे प्रश्न नसोधिदिन सञ्चारकर्मीसँग आग्रह गरे । ‘मन्त्रिमण्डल पुर्नगठिन गर्ने नगर्ने भन्ने कुरा प्रधानमन्त्रीज्यूको कुरा हो अध्यक्ष प्रचण्डले भने, ‘मलाई यो कुरा नसोधिदिनुहोस् । मलाई यो कुराले हैरान पारेको छ ।’

सञ्चारकर्मीले प्रधानमन्त्री ओलीको स्वास्थ्यका बारेमा राखेको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रहेको जानकारी दिए । प्रधानमन्त्रीले नर्मल काम गर्न थालेको भन्दै उहाँको स्वास्थ्य ठीक नभएको भन्ने प्रचार सही नभउको प्रचण्डले बताए ।

अध्यक्ष प्रचण्डले संविधान दिवसका दिन सरकारमा रहेका पार्टीका नेता कार्यकर्ताले संविधान जलाएको बिषयमा छलफल भइरहेको बताए । तर, उनले हिजोका दिनमा कालो दिवस भन्नेहरुमा न समर्थन न विरोध भन्ने ठाँउमा भने आएको बताए ।

उनले एसिया प्यासिफिक समिटमा नेपाल जाने भनेर कहिल्यै निर्णय नभएको स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment